Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा बीगु गाउँपालीकामा १५५ विद्यार्थीको स्वास्थ्य परीक्षण, ५ जना रिफर

दोलखा बीगु गाउँपालीकामा १५५ विद्यार्थीको स्वास्थ्य परीक्षण, ५ जना रिफर

बिगु गाउँपालिका–६ आलम्पुस्थित थम्पु माध्यमिक विद्यालयमा अध्ययनरत १५५ जना विद्यार्थीको एकीकृत स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा, बिगु गाउँपालिका र विद्यालयको समन्वयमा सोमबार उक्त शिविर सञ्चालन गरिएको हो।

स्वास्थ्य परीक्षणका क्रममा ५ जना विद्यार्थीमा बाथ तथा मुटु रोगको आशंका देखिएको छ। ती विद्यार्थीलाई थप उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल मा रेफर गरिएको छ। अस्पतालले उनीहरूको निःशुल्क उपचार गर्ने जनाएको छ।

शिविरमा सहभागी सबै विद्यार्थीको कान, आँखा र दाँत परीक्षण गरिएको थियो भने १४७ जनाको रक्त समूह पहिचान गरिएको छ। परीक्षणका क्रममा ११ जना विद्यार्थीमा दाँतसम्बन्धी समस्या र ११ जनामा आँखासम्बन्धी समस्या भेटिएको छ। आँखामा समस्या भएका विद्यार्थीलाई निःशुल्क चस्मा उपलब्ध गराइने जानकारी दिइएको छ।

स्वास्थ्य शिविरमा पशुपति चौलागाईं स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. अच्युत पौडेल, धुलिखेल अस्पताल / दोलखा अस्पतालका मेडिकल डाइरेक्टर डा. बिराट आचार्य तथा डा. दिवाशा अधिकारीसहितको विशेषज्ञ टोलीले परीक्षण गरेका थिए। साथै, प्राविधिक सहयोगमा नेत्र सहायक, ल्याब प्राविधिक र डेन्टल हाइजिनिस्टहरूको पनि सहभागिता रहेको थियो।

जनस्वास्थ्य कार्यालय दोलखा का प्रमुख डिलेन्द्र बुढा मगरले दुर्गम भेगका बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। विद्यालयस्तरमै गरिएको स्क्रिनिङले बालबालिकामा लुकेका जटिल रोग समयमै पहिचान गर्न र भविष्यका जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

विद्यालयका प्रधानाध्यापक तुलसी थामीको उपस्थितिमा सम्पन्न कार्यक्रम व्यवस्थापन जनस्वास्थ्य टोलीले समन्वय गरेको थियो। यस किसिमका स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई समयमै उपचार र सचेतना दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार