Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

वीर अस्पतालमा कडाइ: कार्यालय समयमा बाहिर काम गर्न रोक, अनुशासन उल्लंघनमा कारबाही चेतावनी

वीर अस्पतालमा कडाइ: कार्यालय समयमा बाहिर काम गर्न रोक, अनुशासन उल्लंघनमा कारबाही चेतावनी

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सञ्चालित वीर अस्पतालले चिकित्सक तथा कर्मचारीहरूको कार्यशैली सुधार गर्न कडा निर्देशन जारी गरेको छ। अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी बनाउन १४ बुँदे निर्देशिका लागू गर्दै कार्यालय समयमा अन्यत्र काम नगर्न स्पष्ट निर्देशन दिएको हो।

अस्पतालका अनुसार अब बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सबै चिकित्सक तथा कर्मचारी अनिवार्य रूपमा कार्यस्थलमै उपस्थित हुनुपर्नेछ। तोकिएको समयमा ढिलो आउने वा विना जानकारी अनुपस्थित हुनेलाई सम्बन्धित मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

निर्देशनमा बिहान ९:३० बजेपछि आउने र बेलुका ४:३० अगाडि नै निस्कने कर्मचारीलाई ‘गयल’ मानिने उल्लेख छ। यस्तो अवस्थामा आधा दिनको बिदा कटौती गरिनेछ। साथै, कर्मचारीहरूलाई कार्यालय समयमा बाहिर ननिस्कन र आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरिएको छ।

अस्पतालले सेवाग्राहीसँगको व्यवहार सुधार गर्न ‘मुस्कानसहितको सेवा’ अनिवार्य गरेको छ। बिरामीसँग रुखो व्यवहार गर्ने वा कार्यशैली नसुधार्ने कर्मचारीमाथि कारबाही गरिने पनि स्पष्ट पारिएको छ।

यसका अतिरिक्त, चिकित्सकहरूले बिरामीका पुर्जा, डिस्चार्ज समरी तथा रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। अस्पतालभित्र एप्रोन र परिचयपत्र लगाउनु पनि अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार