Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चितवनमा क्षयरोगका ६२३ नयाँ बिरामी भेटिए, जनस्वास्थ्यमा चिन्ता बढ्यो

चितवनमा क्षयरोगका ६२३ नयाँ बिरामी भेटिए, जनस्वास्थ्यमा चिन्ता बढ्यो

नेपाल सम्वत् ११४६, चौलाथ्वः ७ सप्तमी ९११ चैत्र, २०८२, २५ मार्च, २०२६० बुधबार, बाँपिझ्याला । चितवन जिल्ला मा चालु आर्थिक वर्षको साउनयता क्षयरोग (टीबी) का ६२३ जना नयाँ बिरामी पहिचान भएका छन्। जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ५ हजार ३८२ जनाको परीक्षण गर्दा यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।

पहिचान भएका संक्रमितमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका रहेका छन्, जसमा ४ वर्षमुनिका ४ जना पनि समावेश छन्। यसले बालबालिकामा समेत रोग फैलिरहेको संकेत दिएको छ, जुन स्वास्थ्यकर्मीका लागि चिन्ताको विषय बनेको छ।

कुल संक्रमितमध्ये ३३६ जनामा सर्ने खालको टीबी देखिएको छ भने २८७ जनामा नसर्ने प्रकारको टीबी भेटिएको छ। अझ गम्भीर पक्ष भनेको ७ जना बिरामीमा सामान्य औषधिले काम नगर्ने कडा खालको (ड्रग-रेजिस्टेन्ट) टीबी पुष्टि हुनु हो।

लैंगिक आधारमा हेर्दा पुरुषमा संक्रमण बढी देखिएको छ। संक्रमितमध्ये ३८८ पुरुष र २३५ महिला रहेका छन्। हाल जिल्लाका १०७ स्वास्थ्य संस्थाबाट बिरामीहरूले नियमित रूपमा निःशुल्क औषधि सेवन गरिरहेको जनाइएको छ।

रोग पहिचानका लागि जिल्लामा २८ वटा माइक्रोस्कोपिक केन्द्र र ४ वटा ‘जिन एक्स्पर्ट’ मेसिन सञ्चालनमा छन्। माइक्रोस्कोप विधिबाट परीक्षण गरिएका ३ हजार ८१ जनामध्ये १४३ जनामा संक्रमण पुष्टि भएको छ भने आधुनिक जिन एक्स्पर्ट प्रविधिबाट २ हजार ३०१ जनाको परीक्षण गर्दा ३०७ जनामा टीबी देखिएको छ।

गत आर्थिक वर्षमा जिल्लामा १ हजार ८९ जना क्षयरोगी भेटिएका थिए भने २२ जनाको मृत्यु भएको तथ्यांक छ। यस वर्षको बढ्दो संक्रमणदरले जनस्वास्थ्य क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

Mycobacterium tuberculosis नामक जीवाणुबाट लाग्ने यो रोगमा सुरुमा थकान, कमजोरी, ज्वरो र लामो समयसम्म खोकी लाग्ने जस्ता लक्षण देखिन्छन्। विशेषगरी दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहेमा तुरुन्त स्वास्थ्य जाँच गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।

स्वास्थ्यकर्मीका अनुसार क्षयरोग पूर्ण रूपमा निको पार्न ६ देखि ८ महिनासम्म नियमित औषधि सेवन अनिवार्य हुन्छ। साथै, उपचारको क्रममा सुर्तीजन्य पदार्थ, मदिरा तथा लागुपदार्थबाट टाढा रहनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार