नेपाल सम्वत् ११४६, चिल्लागाः १५ चतुर्दशी (५ चैत्र, २०८२, १९ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला, दोलखा। दोलखा जिल्लामा क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखा र गौरीशङ्कर बहुमुखी क्याम्पस, चरिकोटको संयुक्त आयोजना तथा जनस्वास्थ्य कार्यालय दोलखाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
मिति २०८२ चैत्र ५ गते भीमेश्वर नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले सहजीकरण गरेका थिए।
कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार दोलखा जिल्लामा हाल फोक्सोसम्बन्धी क्षयरोगका ४५ जना र फोक्सो बाहिरका ३६ जना गरी कुल ८२ जना बिरामी रहेका छन्। तीमध्ये भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा सबैभन्दा बढी बिरामी देखिएका छन्। लिङ्गअनुसार हेर्दा फोक्सोमा देखिने क्षयरोग महिला १३ र पुरुष ३२ जना रहेका छन् भने फोक्सो बाहिरको क्षयरोग महिला १५ र पुरुष २१ जना रहेका छन्।
नेपाल क्षयरोग निवारण संस्था दोलखा जिल्ला शाखाका निवर्तमान अध्यक्ष हर्कबहादुर श्रेष्ठका अनुसार क्षयरोग निवारणका लागि शिक्षकमार्फत विद्यार्थी र समुदायमा सन्देश प्रवाह गर्दा प्रभावकारी हुने भएकाले पहिलो चरणमा शिक्षक लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमका क्रममा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले राष्ट्रिय क्षयरोग कार्यक्रमको परिचय, उद्देश्य, विश्वव्यापी रणनीति, चुनौती तथा नियन्त्रणका उपायबारे जानकारी गराएका थिए। सहभागी शिक्षकहरूले विद्यालयमा क्षयरोगसम्बन्धी सही जानकारी दिने, दुई हप्ताभन्दा बढी खोकी लागेका विद्यार्थीलाई स्वास्थ्य संस्थामा जाँच गराउन प्रेरित गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन सिकाउने तथा समुदायमा जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा भीमेश्वर नगरपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष मुना श्रेष्ठले यस्ता कार्यक्रमले क्षयरोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिएका छन्।
गौरीशङ्कर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयालले शिक्षणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। त्यस्तै, सहभागी शिक्षक कृष्णकुमार श्रेष्ठले यस्तो महत्वपूर्ण जिम्मेवारी पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमका सभापति तथा नेपाल क्षयरोग निवारण संस्था दोलखा जिल्ला शाखाका अध्यक्ष तीर्थबहादुर जोशीले सीमित बजेटका बाबजुद विभिन्न निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता जनसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij