नेपाल सम्वत् ११४६, चिल्लागाः १५ चतुर्दशी (५ चैत्र, २०८२, १९ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज मा स्नातक तहका विद्यार्थीहरूको सक्रियतामा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ विषयक एकदिने सेमिनार सम्पन्न भएको छ। आर्किटेक्चर विभागका सन् २०२१ ब्याचका विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रममा समसामयिक सामाजिक, सांस्कृतिक, वातावरणीय तथा मनोवैज्ञानिक विषयहरूमा आधारित नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी डाक्टर झरना जोशी ले विद्यार्थीहरूको अनुसन्धानमूलक पहलको प्रशंसा गर्दै सामाजिक उत्तरदायी डिजाइन र अन्तरविषयगत सोचको आवश्यकता औंल्याउनुभयो। उहाँले भविष्यका डिजाइनरहरूले केवल संरचना मात्र नभई समाजका विविध पक्षहरूलाई समेटेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
सेमिनारमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक–प्राचार्य मोहन ध्वज के.सी. तथा विभागीय प्रमुख राम प्रसाद सुवाल लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुसन्धान क्षमता विकास गर्नुका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो।
एकदिने सेमिनार तीन सत्रमा विभाजन गरिएको थियो, जसमा कुल नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए। प्रस्तुत विषयहरूमा महिलाको अदृश्य श्रम, युवामा डिजिटल लत, परम्परागत ‘नानी’ खुला स्थानमा शहरीकरणको प्रभाव, इँटा उद्योगमा बालश्रम, वैदेशिक पलायन, बनेपाको टुन प्रणाली, देउडा संस्कृति, मानसिक स्वास्थ्य समस्या तथा हनुमन्ते नदीको प्रदूषण जस्ता महत्वपूर्ण मुद्दाहरू समेटिएका थिए।
अनुसन्धानहरूले सामाजिक तथा शहरी समस्याहरूको गहिरो विश्लेषण गर्दै व्यावहारिक समाधानहरू समेत प्रस्ताव गरेका थिए। कार्यक्रममा प्यानल छलफल, विद्यार्थी प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रहरूले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाएका थिए।
आयोजकका अनुसार सेमिनारले अनुसन्धानमा आधारित सिकाइ, सामाजिक उत्तरदायित्व तथा विद्यार्थी नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउनुका साथै समाजप्रति जिम्मेवार नागरिकका रूपमा तयार पार्ने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij