नेपाल सम्वत् ११४६, सिल्लागाः १४, पूर्णिमा (५ फागुण, २०८२, १७ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला, दोलखा । श्री त्रिपुरा सुन्दरी आधारभूत विद्यालय ले न्यून स्रोत–साधनका बीच उदाहरणीय शैक्षिक गतिविधि सञ्चालन गर्दै नगर क्षेत्रका ठूला विद्यालयलाई समेत चुनौती दिएको छ।
भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने राम्पा डोकथलीको थामी बस्ती भौगोलिक रूपमा सदरमुकामबाट निकै टाढा छ। आधारभूत सेवा–सुविधाको पहुँच कमजोर र अतिसिमान्तकृत थामी समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा रहेको विद्यालयले शैक्षिक सत्र २०८२ मा विविध तथा सिर्जनात्मक कार्यक्रमसहित भव्य शैक्षिक मेला आयोजना गरी नयाँ सन्देश दिएको हो।
विद्यालय परिसरमा सम्पन्न मेलामा उचाइ तथा तौल मापन, उमेर पहिचान खेल, गणितीय सूत्र, शब्द पहिचान, संवाद (Conversation), “Choose the Past Tense”, Water Dispenser जस्ता अंग्रेजी तथा विज्ञानसम्बन्धी प्रयोगात्मक सामग्री, स्थानीय तह तथा वडा पहिचान, नेपालको स्थान पहिचान, पर्यटकीय स्थल चिनारी, बौद्धिक खेल, टेङ्ग्राम, सामग्री मिलाउने खेल, रङ्ग पहिचानलगायत ३० भन्दा बढी शैक्षिक स्टल राखिएका थिए।
मेलालाई थप ऊर्जा दिन चेतनामूलक नाटक, नृत्य प्रदर्शन तथा अभिभावक र शिक्षकहरूको सहभागितामा खेलहरू समेत सञ्चालन गरिएको थियो। मेला सफल बनाउन निमन्त्रणा स्वीकार गरी उपस्थित भएका अभिभावक, सरोकारवाला, समुदाय, छिमेकी विद्यालयका शिक्षक तथा विद्यार्थीप्रति विद्यालयकी प्रधानाध्यापक प्रमिला थामीले कृतज्ञता व्यक्त गर्नुभयो।
‘भिरमुनि’ भनेर चिनिने यस क्षेत्रका विद्यालयमा स्रोत–साधनको अभाव, सडक, खानेपानी, स्वास्थ्य तथा यातायातको सहज पहुँच नहुँदा पनि गरिएको सक्रिय पहललाई सहभागीहरूले प्रशंसनीय मानेका छन्। नगरभित्र बजार आसपास तथा सदरमुकाम क्षेत्रमा आधुनिक भवन र पर्याप्त स्रोत–सुविधाले सम्पन्न विद्यालयहरूका लागि समेत यो कार्यक्रम चुनौतीका रूपमा देखिएको सहभागीहरूको भनाइ छ।
मेलामा छिमेकी ९ वटा विद्यालय, स्थानीय समुदाय तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थी–केन्द्रित, अनुशासित र व्यवहारिक सिकाइमा आधारित मेला समुदायको सक्रियता र निगरानीमा सफलतापूर्वक सम्पन्न भएको शिक्षक तथा मेला संयोजक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो।
उल्लेखनीय कुरा के छ भने, राज्यको लगानी र संयोजनमा हुनुपर्ने यस्ता कार्यक्रममा सम्बन्धित निकायको उपस्थिति देखिएन। न त जनप्रतिनिधिहरूको सहभागिता रह्यो, न त शिक्षा शाखाका जिम्मेवार प्रतिनिधिहरूको उपस्थिति नै। राज्यको उपस्थितिविहीन अवस्थामा पनि समुदायको सहयोग, अभिभावकको हौसला र विद्यालय परिवारको प्रतिबद्धताले कार्यक्रम सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थामीले बताउनुभयो।
यस विद्यालयले नगर क्षेत्रका अन्य विद्यालयहरूले नगरे पनि हरेक वर्ष नियमित रूपमा शैक्षिक मेला आयोजना गर्दै आएको छ। समुदाय, अभिभावक र विद्यार्थीहरूको इच्छाशक्ति र एकताको बलमा न्यून स्रोत–साधनबीच पनि मेला सफलतापूर्वक सम्पन्न हुनु आफैंमा उल्लेखनीय उपलब्धि भएको विश्लेषण गरिएको छ। समुदायको सहकार्य, सक्रियता र शैक्षिक चेतनाले राज्य संयन्त्रलाई समेत घच्घच्याउने सन्देश दिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij