सिन्धुलीमाडी स्थित रातमाटाबाट सुरु गरिएको उक्त शान्ति कलश यात्रा पञ्चेबाजा, पण्डित, पुरोहित तथा सन्त–महन्थहरूको अगुवाइमा सम्पन्न भएको थियो। यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कलश यात्राले सिन्धुलीमाडी बजार क्षेत्रका साथै कालीमाई लगायत विभिन्न मठ–मन्दिर, चोक–चौताराहरूको परिक्रमा गर्दै मण्डपमा पुगेर १०८ भन्दा बढी कलश स्थापना गरिएको आयोजकले जानकारी दिएका छन्।
फाल्गुण ३ गतेदेखि पूर्वाङ्ग आरम्भ भई फाल्गुण १० गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत महायज्ञमा पण्डित कमल नयन काफ्लेको मुखारविन्दबाट श्रीमद्भागवत कथा प्रवचन हुने जानकारी रामेश्वरधाम मन्दिर व्यवस्थापन समिति का अध्यक्ष चन्द्र प्रसाद कोईरालाले दिनुभयो।
ज्ञानमहायज्ञको अवसरमा दैनिक कथा प्रवचन, पाठ, पारायण, भजन–कीर्तन तथा आरती कार्यक्रम सञ्चालन हुनेछन्। समापन समारोहमा सामूहिक व्रतबन्ध, लाखवत्ती प्रज्वलनलगायत विविध धार्मिक गतिविधिहरू आयोजना गरिने अध्यक्ष कोईरालाले बताउनुभयो।
रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिले विगत लामो समयदेखि हरेक वर्ष महाशिवरात्रिको शुभदिनदेखि धाम परिसरमा विभिन्न पुराण तथा धार्मिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। पछिल्लो समय रामेश्वरधाम धार्मिक तीर्थस्थलका रूपमा क्रमशः विकास हुँदै गएको स्थानीयले बताएका छन्।