नेपाल सम्वत् ११४६, सिल्लागाः ५, पञ्चमी (२३ माघ, २०८२, ६ फ्रेवअरी, २०२६) शुक्रबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका वडा नं. २ भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका शिक्षकहरूको संयुक्त पहलमा स्थापना भएको बाल सारथि क्लबको आयोजनामा अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आज सम्पन्न भएको छ।
तीन वर्षअघि एक माध्यमिक, दुई आधारभूत र तीन प्राथमिक विद्यालयका शिक्षकहरूको समूहले स्थापना गरेको बाल सारथि क्लबको मुख्य उद्देश्य वडा भित्रका विद्यालयका विद्यार्थीहरूबीच सिर्जनशीलता, आत्मविश्वास र प्रतिभा विकास गर्ने गरी अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनु रहेको छ। क्लबले प्रत्येक प्रतियोगिता पालैपालो विद्यालयहरूमा सञ्चालन गर्ने ‘घुम्ती प्रतियोगिता’ प्रणाली अपनाउँदै आएको छ।
आजको प्रतियोगिता अतिसीमान्तकृत थामी समुदायका विद्यार्थीहरूको बाहुल्यता रहेको त्रिपुरा सुन्दरी आधारभूत विद्यालय, राम्पामा आयोजना गरिएको थियो। प्रतियोगितामा नृत्य, कथा लेखन, वाचन कला तथा चित्रकला विधाका कार्यक्रमहरू समावेश गरिएका थिए।
कार्यक्रमका सभापति त्रिपुरा सुन्दरी आधारभूत विद्यालय, राम्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थामी रहनु भएको थियो भने प्रमुख अतिथि सामाजिक अभियन्ता तथा बापिझ्याला डट कमका सम्पादक अजय प्रधान रहनु भएको थियो। प्रमुख अतिथि प्रधानले कार्यक्रमको ब्यानर वाचन गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थी तथा अतिथिहरूलाई स्वागत मन्तव्य दिँदै त्रिपुरा सुन्दरी आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रमिला थामीले यस्ता कार्यक्रमले विद्यार्थीको लुकेको प्रतिभा उजागर हुने बताउनु भयो।
प्रतियोगितामा विद्यार्थीहरूले आ–आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रस्तुति दिएका थिए।
चित्रकला विधातर्फ त्रिपुरा सुन्दरी आधारभूत विद्यालयका अभिषेक थामी प्रथम, तिखातल प्राथमिक विद्यालयका लालवीर थामी द्वितीय तथा राजकुलेश्वर आधारभूत विद्यालयका कोपित श्रेष्ठ तृतीय भए।
कथा लेखन तथा वाचनकला विधातर्फ त्रिपुरा सुन्दरी आधारभूत विद्यालयकी रिजा थामी प्रथम, राजकुलेश्वर आधारभूत विद्यालयकी मंगली कसुले द्वितीय तथा त्रिपुरा सुन्दरी आधारभूत विद्यालयकी उषा थामी तृतीय स्थान हासिल गर्न सफल भए। नृत्य प्रतियोगितामा भीम माध्यमिक विद्यालय प्रथम, त्रिपुरा सुन्दरी आधारभूत विद्यालय द्वितीय र राजकुलेश्वर आधारभूत विद्यालय तृतीय भए।
विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि अजय प्रधानबाट प्रदान गरिएको थियो भने सभापति रामबहादुर थामीले टिका लगाई बधाई ज्ञापन गर्नु भएको थियो। कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाउन त्रिपुरा सुन्दरी आधारभूत विद्यालयका विद्यार्थीहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि अजय प्रधानले मन्तव्यका क्रममा बाल सारथि क्लबको अवधारणा शैक्षिक क्षेत्रमा उदाहरणीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई जोगाउन र विस्तार गर्न सबैको सामूहिक साथ आवश्यक रहेको बताउनु भयो। साथै समुदायको विशेष हेरचाहमा सञ्चालन भइरहेको त्रिपुरा सुन्दरी आधारभूत विद्यालय सही दिशामा अघि बढिरहेको भन्दै आफूले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रमका सभापति रामबहादुर थामीले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो।
उल्लेखनीय कुरा के छ भने त्रिपुरा सुन्दरि आधारभुत विद्यालय राम्पा भौगोलिक हिसाबले केही ओझेलमा रहे पनि यस विद्यालयका प्रधानध्यापक प्रमिला थामिज्युको नेतृत्वमा शिक्षकहरू अनुशासित, इमानदार, एकजुट र लगनशील रहेका छन्। विद्यार्थीका अभिभावक किसान तथा मजदुर भए पनि शिक्षाप्रति सचेत, चनाखो र विद्यालय व्यवस्थापनमा सक्रिय रहेको स्थानीयहरू बताउँछन्। यही कारण ग्रामीण विद्यालय भए पनि व्यवस्थापन, सरसफाइ र शैक्षिक वातावरण शहरका विद्यालयभन्दा कम नरहेको देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij