Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कुटीडाँडा मावि दोलखामा १० लाखको “शिवलिला आशिर्वाद अक्षयकोष” स्थापना

कुटीडाँडा मावि दोलखामा १० लाखको “शिवलिला आशिर्वाद अक्षयकोष” स्थापना

नेपाल सम्वत् ११४६, प्वहेलागाः २ द्वितिया (२१ पौष, २०८२, ५ जनवरी, २०२६) सोमबार, बाँपिझ्याला । दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ७, कुटीडाँडा माविमा १० लाख बराबरको “शिवलिला आशिर्वाद अक्षयकोष” स्थापना गरिएको छ । नेपाली सेनाका पूर्व सैनिक अधिकृत कर्णेल निरन्जन बस्नेतले आफ्ना बुबाआमाको नामबाट पूर्व सन्ततिको सस्मरण तथा आफ्नो पुर्ख्यौली जन्मथलोप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरणमा खर्च गरिनेछ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्त तथा वयोवृद्ध अवस्थाका नागरिकलाई समेत मध्यनजर गर्दै आवश्यक सेवा तथा सुविधा उपलब्ध गराइने संस्थापक पूर्व कर्णेल बस्नेतले बताउनुभयो ।

शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो पहल गरिएको उहाँको भनाइ छ । यस्ता सामाजिक तथा शैक्षिक योगदानले वडाको शिक्षा क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने भीमेश्वर नगरपालिका–७ का वडाध्यक्ष विनोद तामाङले बताउनुभयो ।

पूर्व कर्णेल बस्नेतका बुबा प्रधान पञ्चका रूपमा समाजसेवामा सक्रिय रही राम्रो छवि निर्माण गर्न सफल व्यक्तिका रूपमा चिनिनुहुन्थ्यो । उहाँ स्थानीयस्तरमा ‘धन काजी नामले परिचित रहनुभएको थियो । विद्यालय प्रशासनले अक्षयकोष स्थापनाले जेहेन्दार विद्यार्थीको अध्ययन निरन्तरतामा थप भरोसा र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार