नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः (नवमी ९१४ पौष, २०८२, २९ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । जन द्वाल्खा जिन दकेई (मेरो दोलखा म बनाउँछु) अभियानको पहलमा भीमेश्वर नगरपालिका वडा नं २ अन्तर्गत ड्वाकुपटिमा रहेको बाझो जमिनमा सामूहिक आलु खेतीको औपचारिक शुभारम्भ गरिएको छ।
कार्यक्रम भीमेश्वर नगरपालिकाकी उप-मेयर कमला बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। बाझो जमिनलाई उत्पादनशील बनाउँदै स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानलाई स्थानीयस्तरमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
कार्यक्रमको अध्यक्षता अभियानका संयोजक नरेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन अभियानका सचिव शिवजी प्रधानले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, जग्गाधनी, कृषि प्राविधिक, राजनीतिक दलका प्रतिनिधि, अभियानका सदस्य तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी सबैले सामूहिक रूपमा आलु रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै जग्गाधनी महेन्द्र प्रधान र बबिता श्रेष्ठले आफ्नो बाझो जमिन सामूहिक खेतीका लागि उपलब्ध गराउन पाउँदा खुसी व्यक्त गर्दै यसले स्थानीय उत्पादन र सहकार्यको संस्कार विकास गर्ने विश्वास व्यक्त गरे।
नेकपा एमाले दोलखा जिल्ला सचिवालय सदस्य ज्ञानेन्द्र प्रधानले सामूहिक कृषि उत्पादनलाई स्थानीय सरकारले नीतिगत र प्राविधिक सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपाली कम्युनिष्ट पार्टी भीमेश्वर नगर सचिव अजय प्रधानले बाझो जमिन प्रयोगमा ल्याउनु आजको आवश्यकता भएको उल्लेख गर्दै जनस्तरबाट सुरु भएका यस्ता अभियानहरू राज्यका लागि पनि उदाहरणीय हुने बताए।
रास्वपा भीमेश्वर–२ का पूर्व सभापति चरित्रकृष्ण जोशीले राजनीतिक मतभेदभन्दा माथि उठेर उत्पादनमुखी कार्यमा सबै एकजुट हुनुपर्ने धारणा राखे।
कार्यक्रममा उपस्थित आलु विज्ञ जगत श्रेष्ठ, कृषि प्राविधिक विष्णु चौलागाईंले आलु खेतीका प्राविधिक पक्ष, बीउ छनोट, मल व्यवस्थापन र रोग नियन्त्रणबारे जानकारी गराउँदै सफल उत्पादनका लागि सामूहिक मेहनत र निरन्तरता आवश्यक रहेको बताए।
वडा अध्यक्ष स्टालिन श्रेष्ठले वडा कार्यालयको तर्फबाट आवश्यक समन्वय, प्राविधिक सहयोग र सम्भव सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
प्रमुख अतिथि उप–मेयर कमला बस्नेतले जनस्तरबाट सुरु भएको सामूहिक खेतीले रोजगारी, उत्पादन र स्थानीय अर्थतन्त्र मजबुत बनाउने बताउँदै नगरपालिकाले यस्ता पहललाई प्राथमिकतामा राख्ने बताइन्।
अभियानको उद्देश्य र समापन
कार्यक्रमको समापन गर्दै संयोजक नरेन्द्र श्रेष्ठले अभियानको उद्देश्य, लक्ष्य र राज्यको दायित्वबारे प्रष्ट पार्दै भने “हाम्रो अभियानको मूल लक्ष्य बाझो जमिनलाई हराभरा बनाउँदै किसानलाई सम्मानित बनाउनु हो। राज्यले गर्नुपर्ने काम जनस्तरबाट सुरु भएको छ, अब यसलाई दीगो बनाउने दायित्व सबैको हो।”
उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै अतिथि, वक्ता, जग्गाधनी, श्रमदाताहरू तथा स्थानीयवासीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij