नेपाल सम्वत् ११४६, थिंलागाः ११ एकादशी (२९ मंसिर, २०८२, १५ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका दोलखा भित्र अझै पनि यस्ता उदाहरणीय समुदायहरू छन् ।
जहाँ विद्यालयको शैक्षिक तथा भौतिक सहयोगका लागि सम्पूर्ण समुदाय एकजुट भएर एउटै उद्देश्यका साथ उभिन्छन्। यस्तै सकारात्मक र प्रेरणादायी अभ्यास भीमेश्वर नगरपालिका वडा नं. २ ,राम्पामा रहेको त्रिपुरा सुन्दरी आधारभूत विद्यालय उदाहरणीय रहेको छ ।
अतिसिमान्तकृत जाति थामि समुदायका विद्यार्थीहरूको बाहुल्यता रहेको उक्त विद्यालयमा अध्ययनरत बालबालिकाको हितका लागि समुदायले देखाएको सक्रियता प्रशंसनीय छ। इमानदार, सहयोगी र मिलनसार स्वभावका अभिभावक तथा समुदायका सदस्यहरूले विद्यालयप्रतिको जिम्मेवारीलाई व्यवहारमै उतारेका छन्।
विद्यालयले आज मिति २०८२ साल मंसिर २९ गते सोमबार, उधौली पर्वको अवसर पारेर देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ। दिवा खाजा व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक स्टाफ तथा अभिभावक भेलाको संयुक्त निर्णयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
बिहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरू तथा प्रत्येक टोल समितिका अभिभावकहरूको समूह बनाएर सहभागिता जनाइएको थियो। समुदायको सक्रिय सहयोगबाट देउसी–भैलोमार्फत
३२४ पाथी धान,
९ पाथी कोदो,
रु. १५,५६० नगद संकलन हुन सफल भएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानध्यापक प्रमिला थामिज्यु र शिक्षक अभिभावक संघका अध्यक्ष विस्मत थामिले सहयोगी मनका धनी सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूमा हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ। साथै कार्यक्रममा सक्रिय रूपमा खटिनुहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यज्यूहरू, शिक्षक–अभिभावक संघका सदस्यतथा सदस्यज्यूहरू, टोल समितिका सदस्यज्यूहरू, सम्पूर्ण शिक्षकहरू तथा अभिभावकज्यूहरूप्रति विद्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ।
यस प्रकारको सामूहिक प्रयासले विद्यालयको शैक्षिक वातावरण सुधार मात्र होइन, समुदाय र विद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
त्रिपुरा सुन्दरी आधारभूत विद्यालयमा देखिएको यो अभ्यास अन्य समुदायका लागि पनि अनुकरणीय उदाहरण बनेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij