Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

सुस्मिता स्याङ्तानको ‘खरानीबाट उठेर’ सार्वजनिक

सुस्मिता स्याङ्तानको ‘खरानीबाट उठेर’ सार्वजनिक

नेपाल सम्वत् ११४६, कछलागाः १५, पञ्चमी (४ मंसिर, २०८२, २० नोभेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा आफ्नो बुलन्द र ओजिलो स्वरका कारण चर्चामा रहेकी गायिका सुस्मिता स्याङ्तानले देशभक्तिले ओतप्रोत नयाँ गीत ‘खरानीबाट उठेर’ सार्वजनिक गरेकी छन्। निराशा चिर्दै नयाँ नेपाल निर्माणको संकल्प बोकेको यो गीतले सार्वजनिक हुनासाथ स्रोता तथा दर्शकको मन जित्न थालेको छ।

यस गीतमा गायिका सुस्मिताले आफ्नो गायकीको उच्चतम नमुना पेस गरेकी छन्। उनको स्वरमा एकैसाथ आक्रोश, ऊर्जा र भविष्यप्रतिको अठोट सुन्न सकिन्छ। शब्दले मागेको भावलाई उनले आफ्नो आवाजमार्फत जीवन्त बनाएकी छन्।

‘खरानीबाट उठेर’ भन्ने वाक्यांशमा उनले भरेको भावनात्मक गहिराइले साँच्चै नै सुतेको समाजलाई ब्युँझाउने सामर्थ्य राख्छ। सुस्मिताको यो प्रस्तुतिले उनलाई केवल एक गायिका मात्र नभएर परिवर्तनको संवाहकका रूपमा उभ्याएको छ। उनको स्वरको यही बुलन्दताले गीतलाई एक सामान्य रचनाबाट माथि उठाएर जनताको आवाज  बनाएको छ।

विवेक लोप्चनको सशक्त शब्द तथा संगीत सिर्जना रहेको यस गीतमा सुस्मिता स्याङ्तानको ओजिलो स्वर गुञ्जिएको छ। ‘निरंकुश सत्ता फाल्यौं दलालीलाई भगायौ, जनताको शक्तिले नै इतिहास लेखायौ’ जस्ता हरफहरूलाई न्याय गर्न कुन्साङ दोर्जे लोप्चनले उत्कृष्ट संगीत संयोजन ९एरेन्ज० गरेका छन्।

अडिओको प्राविधिक पक्षतर्फ कुपण्डोलस्थित हुरी रेकर्डिङ स्टुडियोमा ठाकुर सुवेदीले रेकर्ड गरेको यस गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका हुन्। त्यसैगरी भिडिओतर्फको जिम्मेवारी सम्हाल्दै यमन माझीले निर्देशन गरेको म्युजिक भिडियोलाई रोनिश तामाङले छायांकन गरेका हुन् भने सम्पादन र कलर ग्रेडिङको काम नरेन राज भट्टराईले सम्पन्न गरेका छन्।

सुस्मिता स्याङ्तान केवल एक गायिका मात्र होइनन्, उनी पछिल्लो समय सामाजिक विकृति र राजनीतिक बेथितिविरुद्ध गीत संगीतका माध्यमबाट खबरदारी गर्ने एक सशक्त अभियानकर्मीका रूपमा समेत चिनिन्छिन् । 

खरानीबाट उठेर अहिलेको राजनीतिक र सामाजिक परिवेश सुहाउँदो सिर्जना हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार