नेपाल सम्वत् ११४६, कछलागाः १२, एकादशी (३० कार्तिक, २०८२, १६ नोभेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । दसैँका बेला र तिहारपछिको पनि अविरल वर्षाका कारण महँगिएको हरियो तरकारीको भाउ अझै घटेको छैन । माग अनुसार ताजा तरकारीको आपूर्ति नहुँदा तरकारीको भाउ बढेको छ, जसको मारमा सर्वसाधारण उपभोक्ता परेका छन् ।
स्थानीय काउली थोकमै प्रतिकेजी १२० देखि १३० रुपियाँसम्म पुगेको छ भने बन्दा ७० रुपियाँ छ । काउली र बन्दा मात्रै होइन अधिकांश ताजा तरकारीको भाउ सय रुपियाँभन्दा माथि छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार गोलभेँडा थोकमै प्रतिकेजी ९० देखि एक सय रुपियाँ, गाजर १३० देखि १५० रुपियाँसम्म, सेतो मुला ५० रुपियाँ, बोडीतने १२० रुपियाँ, घिउसिमी १२० रुपियाँ, मटरकोसा १८० रुपियाँ कारोबार भएको छ ।
त्यस्तै हरियो मोटरकोसा प्रतिकेजी १५० रुपियाँ, मकै बोडी एक सय रुपियाँ, घिउ सिमी १४० रुपियाँ, रातो ९नेपाली० आलु ७० रुपियाँ, फर्सी हरियो प्रतिकेजी ८० रुपियाँ थोकमा कारोबार भइरहेको छ । यो अवस्थामा रहेको तरकारीको भाउ खुद्रामा झनै छोइ साध्यै छैन । साग पनि महँगो छ । चम्सुरको साग प्रतिकेजी १८० रुपियाँ, तोरीको साग प्रतिकेजी एक सय रुपियाँ र मेथी प्रतिकेजी २२० रुपियाँ थोकमा किनबेच भएको छ ।
उपभोक्ता र व्यापारी हैरान
कलङ्की चोकमा तरकारी भाउ बुझिरहनुभएका ट्याक्सी ड्राइभर विनोद थापाले अब रोजेको तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले हाल तरकारीमा रायो साग, पाकेको फर्सी, मुला, इस्कुस खाने गरेको बताउनुभयो । तिहारपछि गोलभेँडा, काउली, आलु, बोडी र सिमीलगायतको भाउ घट्ने आशा भए पनि झन् महँगिएको उहाँको गुनासो छ ।
तरकारी महँगो हुँदा उपभोक्ता त मारमा परेका छन् नै व्यापारी पनि हैरान छन् । सस्तो हुँदा त बिक्री नहुने अवस्थामा र महँगो हुँदा बिक्री गर्न सारै गारो हुने व्यापारी बताउँछन् ।
कालीमाटीको थोक बजारका व्यापारी गीताप्रसाद आचार्यले थोरै आएको तरकारी पनि महँगो भएर बेच्न गारो भएको गुनासो गर्नुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्षसमेत रहनुभएका आचार्यले दसैँदेखि नै तरकारीको कारोबार घटेको सुनाउनुभयो ।
उत्पादन र आयात दुवै कमी
समितिका अनुसार तरकारीको माग अनुरूप आपूर्ति नभएकाले पनि भाउ महँगो भएको छ । कालीमाटीमा सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार एक सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले पाँच सयदेखि छ सय मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको छ ।
कालीमाटी समितिका प्रवक्ता विनय श्रेष्ठले बर्खे तरकारी सकिएको र हिउँदे तरकारी बजारमा पर्याप्त नआइसकेकाले बजारमा तरकारी महँगो भएको बताउनुभयो । खुला बजार नीतिमा माग अनुसार आपूर्ति नहुनेबित्तिकै भाउ बढ्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।
समितिका अनुसार हाल कालीमाटी बजारमा तरकारी आउने स्रोत जिल्ला उपत्यकाका तीन ९काठमाडौँ, ललितपुर र भक्तपुर०, धादिङ, चितवन, नवलपरासी, मकवानपुर, काभ्रे नुवाकोट, दोलखा, तराईका बारा, पर्सा, सल्र्लाही, सप्तरी छन् । प्याज, आलु, कागती, तरुल, तनेबोडी, परबर, करेला, पाकेको फर्सी भारतबाट र लसुन चीनबाट ल्याउने गरिएको समितिले जनाएको छ ।
समितिका अनुसार उपत्यकावासीको मागमध्ये लगभग ७५ प्रतिशत कालीमाटी बजारले धान्ने गरेको छ र बाँकी साना बजार बल्खु, बालाजु, बानेश्वर, जडीबुटीलगायतका तरकारी बजारबाट आपूर्ति हुने गरेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij