Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

पोर्चुगल सरकारले २३ अक्टोबर २०२५ देखि लागू हुने गरी कामदार भिसा बन्द

पोर्चुगल सरकारले २३ अक्टोबर २०२५ देखि लागू हुने गरी कामदार भिसा बन्द

नेपाल सम्वत् ११४६, कछलागाः ९, नवमी (२७ कार्तिक, २०८२, १३ नोभेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । पोर्चुगल सरकारले २३ अक्टोबर २०२५ देखि लागू हुने गरी कामदार भिसा बन्द गरेको छ। यहाँको सरकारले यसबारे औपचारिक जानकारी गराइसकेकोले भिसा लगाइदिने भन्दै ठगी गर्नेसँग सचेत हुन पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले सचेत गराएको छ।

दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै उच्च दक्ष बाहेक पोर्चुगलमा सबै प्रकारका कामदार भिसा बन्द भएको जनाएको छ। पोर्चुगलमा काम लगाइदिने भन्दै ठगी गर्ने प्रयास भइरहेको भन्ने बुझिएकोले कसैको बहकाउमा नपर्न पनि दूतावासले आग्रह गरेको छ।

‘पोर्चुगल सरकारले औपचारिक रूपमै आफ्ना सरकारी वेबसाइटमा यसबारे सूचना प्रकाशन गरिसकेको छ’, लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपालले नेपालखबरसँग भने, ‘प्रलोभन दिने गिरोहसँग होसियार रहन र ठगिनबाट बच्नका लागि दूतावासको तर्फबाट सार्वजनिक रूपमा सूचित गरिएको छ।’

सामाजिक सञ्जालमार्फत पोर्चुगल लगिदिने भन्ने भ्रामक विज्ञापनको पछि नपर्न प्रथम सचिव नेपालले आग्रह गरे।

पछिल्लो समय टिकटकरफेसबुक लगायत सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गरेर कामदार भिसामा पोर्चुगल लग्ने भन्दै खुलेआम ठगी गर्ने गिरोह सक्रिय देखिन्छ। यस गिरोहको सञ्जाल नेपालदेखि मध्यपूर्वको युएईसम्म व्यक्तिगत तथा विभिन्न कन्सल्टेन्सीको नाममा फैलिएका छन्। जसलाई नाङ्गो आँखाले नै देख्न सकिन्छ। 

पोर्चुगललगायतका मुलुकको ‘भिसा ग्यारेन्टी’ भन्दै सामाजिक सञ्जालमा आकर्षक रोजगारीको प्रलोभन र झुटा विवरणको खुलेआम प्रचार भइरहेको छ। तर, यसबारे सरोकार राख्ने सरकारी निकायले गरेको कारबाहीको सूची लामो छैन।

३ जुन २०२४ देखि पोर्चुगल सरकारले भिजिट भिसामार्फत सेन्जेन मुलुकमा आई पोर्चुगल आउनेलाई त्यहाँको रेसिडेन्सी कार्ड नदिने भएपछि कामदार भिसाको प्रलोभनमा पारेर ठगी गर्ने गिरोह सामाजिक सञ्जालमार्फत खुलेआम ठगी धन्दा चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार