Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

लालबहादुरले अक्बरे खुर्सानीबाट बार्षिक १० लाख आम्दानी गर्न सफल

लालबहादुरले अक्बरे खुर्सानीबाट बार्षिक १० लाख आम्दानी गर्न सफल

नेपाल सम्वत् ११४६, कछलागाः ६, पञ्चमी, (२४ कार्तिक, २०८२, १० नोभेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । बेनी नगरपालिका–३, भकिम्लीका लालबहादुर पुनले वैदेशिक रोजगारी त्यागेर स्वदेशमै कृषि कर्मलाई रोज्नु भएको छ । तीन वर्ष वैदेशिक रोजगारीमा रहेर फर्किनुभएका पुनलाई पछिल्लो पटक बेलायत (युके) जाने भिसा लागेको भए पनि उहाँले विदेश जानुको सट्टा गाउँमै बसेर कृषि व्यवसाय सुरु गर्नुभएको हो । 

युकेको भिसा लाग्दा पनि नजाने भनेर गाउँघरमा धेरैले कुरा काटेको भए पनि अहिलेको कृषि कर्म देखेर आफैलाई खुसी लाग्ने गरेको उहाँले सुनाउनुहुन्छ । तीन वर्ष विदेश बसेँ त्यसपछि का १६ वर्ष यही मिहिनेत गरेर बसेको छु उहाँले भन्नुभयो । लालबहादुरले यस वर्ष उहाँले उत्पादन गरेको अकबरे खुर्सानी १० क्विन्टल बिक्री गर्नुभएको छ । 

प्रतिकेजी दुई सय रुपियाँका दरले बिक्री गरेको र अझै पनि करिब तीन क्विन्टल हाराहारी खुर्सानी टिप्नै बाँकी रहेको अनुमान उहाँको छ । बेनी नगरपालिका–३ भकिम्लि सिममा उत्पादन भएको अकबरे खुर्सानी म्याग्दी जिल्लाको सदरमुकाम बेनी, बागलुङ, पोखरा र पर्वतको कुश्मा तथा बाच्छा लगायतका बजारमा पठाइएको लालबहादुरकी श्रीमती चन्द्रकली छन्त्यालले बताउनुभयो । 

हाम्रो वडामा कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्ने लालबहादुर एक मिहिनेती व्यक्ति हुन् बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “लालबहादुरले आफ्नै घरमा बसेरै परिवार पाल्ने मात्र नभएर शिक्षा दिक्षाका लागि पनि महत्वपूर्ण काम गर्दै आफ्नै ठाउँलाई खनीखोस्री गरेर राम्रा आम्दानी गर्नुभएको छ ।”

वडाध्यक्ष पुनका अनुसार लालबहादुरले घरमै बसेर परिवारसहित कृषिमा गरेको मेहनतका कारण वार्षिक १० लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “लालबहादुरले देखाएको उदाहरणले स्वदेशमै पनि राम्रो आम्दानी र सम्मान प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिब बाँस्तोलाले लालबहादुरको खुर्सानीका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको बताउनुभयो । उच्च पहाडी क्षेत्रमा हुने अकबरे खुर्सानी उत्पादनका हिसाबले निकै राम्रो तबरले भकिम्लिमा भएको उहाँको भनाइ छ । 

कृषिका लागि मिहिनेत गर्नुपर्छ र लालबहादुरले उत्कृष्ट तबरले मेहनत गरेको कारणले नै सफलता हात लागेको बाँस्तोलाको भनाइ छ । उहाँले भन्नुभयो, “खुर्सानी उत्पादन यस वर्ष निकै राम्रो गर्नुभएका लालबहादुरले किवीको उत्पादन पनि राम्रो गर्नुभएको बताउनुभयो ।

कृषिसँगै पुनले फलफूल तथा व्यावसायिक खेतीमा पनि रुचि देखाउनुभएको छ । उहाँको बगानमा हाल २५० वटा किवीका बोट रहेका छन् । साथै गाउँमै सञ्चालन गरिएको फर्निचर व्यवसायबाट पनि उहाँले उल्लेख्य आम्दानी गर्न सफल भएको वडा अध्यक्ष पुनको भनाइ छ ।

पुनकी श्रीमती ४२ वर्षीया चन्द्रकली छन्त्याल कृषि तथा घरेलु काममा सक्रिय रहँदै श्रीमानलाई साथ दिँदै आउनुभएको छ । उहाँहरूको १३ वर्षका छोरा र १७ वर्षीया छोरी छन् । कृषि कर्मबाट आत्मनिर्भर बन्न सफल पुनले आगामी वर्ष उत्पादन विस्तार गरी २० क्विन्टलसम्म अकबरे खुर्सानी उत्पादन गर्ने लक्ष्य राखिने बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार