Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा आक्रामक कमाइ

फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा आक्रामक कमाइ

नेपाल सम्वत् ११४६, कछलाथ्वः ७, सप्तमी, (११ कार्तिक, २०८२, २८ अक्टोबर, २०२५) मंगलबार, बाँपिझ्याला । अभिनेता अनमोल केसी अभिनीत फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। चलचित्र विकास बोर्डले दिएको जानकारीअनुसार फिल्मले प्रदर्शनको नवौं दिनसम्म घरेलु बक्स अफिसमा ६ करोड ५१ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको थियो।

यो कमाइ गत शनिबारसम्मको तथ्यांक हो। आइतबार र सोमबार पनि फिल्मले देशभरका सिनेमा हलमा राम्रो व्यापार गरेको थियो। मंगलबार पनि फिल्मको व्यापार सुखद् रहेको निर्माणपक्षले जनाएको छ। निर्माण पक्षको प्रारम्भिक अनुमानअनुसार फिल्मको मंगलबारसम्मको कमाइ ९ करोड रूपैयाँ हाराहारी पुग्नेछ। 

'होस्टेल' बाट अभिनेताका रूपमा डेब्यु गरेका अनमोलले पहिलो फिल्मबाटै चर्चा कमाएका थिए। त्यसपछि उनका 'जेरी', 'ड्रिम्स', 'गाजलु' लगायतका फिल्महरू लगातार चर्चित र सफल भए। यसपछि पनि अधिकांश फिल्म चर्चामा आए। यद्यपि, यसअघिका फिल्मभन्दा व्यापारमा 'जेरी अन टप' अगाडि आएको छ। 

चलचित्र विकास बोर्डले गत असारमा २५ वर्षमा धेरै कमाउने २५ फिल्मलाई सम्मान गरेको थियो। जसमा अन्तिम नम्बरमा परेको फिल्मको कमाइ पनि ७ करोड ३२ लाख रूपैयाँ उल्लेख थियो। अर्थात, सूचीमा रहेका सबै फिल्म यो कमाइभन्दा माथिका थिए। यो सूचीमा अनमोलको फिल्म भने एउटा पनि परेको थिएन। यसअनुसार पनि 'जेरी अन टप' अनमोलको एक दशक लामो करिअरकै सबभन्दा धेरै कमाउने फिल्म बनेको छ।

यसअघि अनमोलको सर्वाधिक कमाउने फिल्म 'ए मेरो हजुर ३' थियो, जसले ७ करोड रूपैयाँ हाराहारी कमाएको थियो। यद्यपि, विकिपिडियामा भने 'ए मेरो हजुर ३' को ग्रस कमाइ ८ करोड ८० लाख उल्लेख छ।

यसअघि फिल्मले राम्रो व्यापार गरे पनि र चर्चा पाए पनि अनमोलको अभिनयलाई लिएर भने केही आलोचना समेत हुने गर्दथ्यो। 'जेरी अन टप' को सन्दर्भमा भने विगतमा भन्दा अनमोलको अभिनय सुधारिएको धेरैले बताएका छन्।

सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको 'जेरी अन टप' मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङ मुख्य अभिनयमा छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ। सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथा फिल्मले प्रस्तुत गर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार