नेपाल सम्वत् ११४६, कछलाथ्वः ७, सप्तमी, (११ कार्तिक, २०८२, २८ अक्टोबर, २०२५) मंगलबार, बाँपिझ्याला, दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा हिमपात सुरु भएपछि च्छो– रोल्पा यात्रामा निस्किएका तीन सय बढी पर्यटक बेदीङ र ना गाँउमै रोकिएको स्थानीयले बताएका छन् ।
सोमवार बेलुकाबाट हिमपात भएपछि च्छो– रोल्पा यात्रामा रहेका तीन सय बढी पर्यटक बेदीङ र ना गाउँमा रोकिएको पत्रकार अर्जुन पाख्रिनले बताए । बेदीङको माथिल्लो भागमै पनि हिमपात भएकोले ना गाउँबाट अघि बढ्न सक्ने अवस्था नरहेको बेदीङमा रहेका पत्रकार पाख्रिनले बताए । बेदीङबाट ना गाउँसम्म जान सकिने अवस्था भएपनि ना गाउँबाट च्छो– रोल्पा जानसक्ने अवस्था नरहेको पत्रकार अर्जुन पाख्रिनको भनाई छ ।
बेदीङको स्थानीय होटल व्यवसायी छिरीङ शेर्पा आफ्नो होटलमा २५(३० जना पर्यटक रहेको र ना गाउँमा सोमबार बेलुकाबाट फोन सम्पर्क हुन नसक्दा च्छो– रोल्पा जान सकिने नसकिने बारे अन्यौल देखिएको बताउँछिन् । आफ्नो होटलमा रहेका पर्यटक मध्य केही भने च्छो– रोल्पा पुगेर फर्किएको छिरीङले बताइन ।
चार हजार पाँच सय ८० मीटरको उँचाईमा रहेको च्छो– रोल्पा हिमताल पुग्न लामाबगरको छ्योत– छ्योतबाट पैदल हिड्नुपर्ने हुन्छ । छ्योत– छ्योतसम्म भने बस वा साना सवारी साधनमा जान सकिन्छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने च्छो– रोल्पा यात्राको लागि छ्योत– छ्योतबाट सिमिगाउँ करिब दुई घण्टा, सिमिगाउँबाट सुरमुचे तीन घण्टा, सुरमुचेबाट क्याल्चे दुई घण्टा, क्याल्चेबाट डोङनाङ एक घण्टा, डोङनाङबाट थाङदिङ करिब तीन घण्टा, थाङदिङबाट बेदीङ दुई घण्टा, बेदीङबाट ना तीन घण्टा र नाबाट च्छो– रोल्पा तीन घण्टाको पैदल यात्रामा पुग्न सकिने स्थानीयको भनाई छ ।
अहिले सिमिगाउँबाट नासम्मै खाने र बस्ने सुविधा रहेकोले पर्यटकलाई समस्या नहुने सुरमुचेका होटल व्यवसायी बोलेन्द्र आचार्य बताउँछन् । गत बर्षको बाढीले रोल्वालिङ पदमार्गमा पर्ने ठिङलुङ खोलाको पुल बगाएपछि अस्थाई रुपमा तीन ठाँउमा काठको पुल राखिएकोमा त्यो पनि बाढीले बगाएपछि यात्रामा जोखिम बढेको स्थानीयको भनाई छ । अहिले विजुलीको पोलबाट डोरी समाएर खोला वारपार गर्नुपर्ने स्थानीय बताउँछन् ।
सोमबार रातिबाट अत्यधिक पानी र हिमपात भएको कारण अहिले आवत– जावतमा झन समस्या देखिएको सुरमुचेका व्यवसायी बोलेन्द्र आचार्य बताउँछन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दहाल च्छो– रोल्पा यात्रामा रहेका दुईसय बढी पर्यटक हिमपात पछि बेदीङ र ना गाउँमा बसेको र उनीहरुलाई मौसममा सुधार नभएसम्म सुरक्षित रहन अनुरोध गरिएको बताउँछन् । मंगलवार च्छो– रोल्पा जान चाहेका पर्यटकलाई भने गौरीशङ्कर संरक्षण क्षेत्रको सिंगटी कार्यालयको समन्वयमा मौसममा सुधार नभएसम्म नजान अनुरोध गर्दै रोकिएको प्रमुख जिल्ला अधिकारी दहालले बताए ।
लप्चीमा पनि हिमपात:
दोलखाकै विगु गाँउपालिका वडा नम्बर– १ को लप्चीमा पनि सोमवार रातिबाट हिमपात सुरु भएको स्थानीय कर्म शेर्पाले बताए । लप्चीका चौरी व्यवसायीहरु लुमनाङ झरिसेकेकोले हिमपातले धेरै प्रभावित भने नभएको कर्मा शेर्पाले बताए ।
लप्चीका चौरी व्यवसायीहरुले केही दिन अघिमात्र झण्डै दुईसय चौरी चीनको तिब्बत तर्फ लगेर बिक्री गरेको शेर्पाले बताए ।
चिरञ्जीवी मास्के
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij