नेपाल सम्वत् ११४६, कछलाथ्वः ४, चुतुर्थि, (८ कार्तिक, २०८२, २५ अक्टोबर, २०२५) शनिवार, बाँपिझ्याला । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ। सामूहिक रूपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन्।
फूल बिक्रीका लागि बजारको समस्या नभएको बताउँदै गुरुङले यहाँ उत्पादित फूल आँबुखैरेनी, दमौली, डुम्रे, पोखरा, मुग्लिन, नारायणगढसम्म पुगेको उल्लेख गरिन्। उनले भनिन्, 'पहिलो र दोस्रो चरणको टिपाइबाट दुई हप्ताको अवधिमा रु सात लाख बराबरको फूल बिक्री गर्न सफल भयौँ। फूलले बजार पाउँदा झनै उत्साहित छौँ।'
बारीमा अझै पनि सयपत्री फूल बाँकी रहेको र उक्त फूलहरू आँबुखैरेनीमा शनिबारदेखि एक सातासम्म हुने महायज्ञमा प्रयोग गरिने उनको भनाइ छ। उनले भनिन्, 'तेस्रो र चौथो चरणको टिपाइ छिम्केश्वरी बूढीदेवी महायज्ञ र एकादशी पर्वका लागि बिक्री गरिनेछ।'
पहिलो चरणको टिपाइबाट एक हजार फूलको माला बनाएर दश दिनसम्म चिस्यान केन्द्रमा राखी माग उच्च भएका बेला बिक्री गरिएको थियो। उनले भनिन्, 'यस वर्ष चाँडै फूल फलेकाले चिस्यान केन्द्रमा राखेर जुनबेला माग उच्च हुन्छ त्यही बेला बिक्री गर्ने व्यवस्था मिलाएका थियौँ।'
यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन्। पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए। यो वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्याएको अध्यक्ष गुरुङले बताइन्। समूहमा ४५ जना महिला आबद्ध छन्।
बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रूपमा फूलखेती लागिरहेको उनको भनाइ छ। गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले उल्लेख गरिन्।
गत वर्ष कतारसमेत फूल निर्यात भए पनि यस वर्ष स्थानीयस्तरमै माग बढी भएकाले विदेश पठाउन नसकिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। गाउँपालिकाले समूहमा आबद्ध महिलालाई फूलखेतीका लागि आवश्यक सीपसमेत सिकाएको उनको भनाइ छ। उनले भने, 'फूलखेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलालाई प्रदान गरिएको छ।'
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij