Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै, सन् २०५० सम्म क्यान्सरका केस तीन करोड पुग्ने

देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै, सन् २०५० सम्म क्यान्सरका केस तीन करोड पुग्ने

नेपाल सम्वत् ११४५, कौलागा ६, षष्ठी, (२६ असोज, २०८२, १२ अक्टोबर, २०२५) आईतबार, बाँपिझ्याला । स्वास्थ्य सेवा प्रणाली पहिले नै कमजोर र मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै गएको छ । विशेषज्ञहरूले यदि रोकथामका ठोस कदम आजै नचालिए स्थिति अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय पत्रिका द ल्यान्सेटमा प्रकाशित एक नयाँ रिपोर्टअनुसार सन् २०५० सम्म क्यान्सरका केसहरू तीन करोड पुग्ने र १ करोड ८६ लाख मानिसको मृत्यु हुने सम्भावना छ । रिपोर्टअनुसार हृदय रोगपछि क्यान्सर अहिले संसारमा मृत्युको दोस्रो ठूलो कारण बनेको छ ।

क्यान्सर एउटा यस्तो घातक रोग हो, जसले विश्वभर करोडौं मानिसको जीवन प्रभावित गरिरहेको छ । नयाँ रिपोर्टले देखाएको छ कि सन् १९९० देखि २०२३ सम्म क्यान्सरका केस र मृत्यु दर दुवै तीव्र रूपमा बढेका छन् । उपचार र रोकथामका प्रयासमा प्रगति भएको छ तर रोगको फैलावट भने रोकिन सकेको छैन ।

अध्ययनका तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर १ करोड ८५ लाख मानिसमा क्यान्सर पत्ता लागेको थियो भने १ करोड ४ लाख मानिसको मृत्यु भएको थियो । यी तथ्यांकमा सामान्य छालाको क्यान्सर भने समावेश छैन ।

चिन्ताजनक कुरा यो हो कि नयाँ केसहरू मध्ये करिब ५८ प्रतिशत र मृत्युहरू मध्ये करिब ६६ प्रतिशत घटना कमजोर र मध्यम आय भएका देशहरूमा भएका थिए । यी देशहरू पहिले नै स्वास्थ्य सेवा पूर्ति गर्न संघर्षरत छन्, त्यसैले बढ्दो क्यान्सर भारले थप दबाब सिर्जना गर्न सक्छ ।

यस नयाँ विश्लेषणमा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री, मृत्यु दर्ता प्रणाली र क्यान्सरका बिरामीका परिवार वा हेरचाहकर्तासँगका अन्तर्वार्ताबाट संकलित तथ्यांक प्रयोग गरिएको थियो । अध्ययनले सन् १९९० देखि २०२३ सम्म २०४ देश र क्षेत्रका ४७ प्रकारका क्यान्सर र ४४ जोखिम कारकको विश्लेषण गरेको छ ।

अध्ययनले सन् २०५० सम्म क्यान्सरको सम्भावित प्रभावको पनि अनुमान गरेको छ । साथै, सन् २०१५ देखि २०३० सम्म गैरसंक्रामक रोगहरूबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने संयुक्त राष्ट्रसंघको लक्ष्यमा विश्वले कति प्रगति गरेको छ भन्ने कुरा पनि मूल्यांकन गरिएको छ ।

यदि छिट्टै ठोस कदम नचालिए सन् २०५० सम्म क्यान्सरका बिरामीको संख्या ३ करोड ५ लाख पुग्नेछ र १ करोड ८६ लाख मानिसले ज्यान गुमाउने सम्भावना रहेको विज्ञहरुले चेतावनी दिएका छन् । यीमध्ये आधाभन्दा बढी केस र दुई तिहाइ मृत्यु कमजोर तथा मध्यम आय भएका देशहरूमा हुने अनुमान गरिएको छ ।

यसको अर्थ सन् २०५० सम्म नयाँ क्यान्सर केसमा ६०.७ प्रतिशत र मृत्युमा ७४.५ प्रतिशत वृद्धि हुनसक्छ । अध्ययनअनुसार सबैभन्दा तीव्र वृद्धि कमजोर र मध्यम आय भएका देशहरूमा हुनेछ, जहाँ मृत्यु दरमा करिब ९१ प्रतिशतसम्म वृद्धि हुनसक्छ, जबकि धनी देशहरूमा यो वृद्धि करिब ४३ प्रतिशतसम्म सीमित रहने अनुमान छ ।

बढ्दो जनसंख्या र वृद्ध जनसंख्याको प्रभाव

रिपोर्टअनुसार उमेरअनुसार क्यान्सरको दरमा खासै वृद्धि नहुने भए पनि जनसंख्या र वृद्धहरूको बढ्दो संख्या क्यान्सरका केसहरूमा ठूलो वृद्धि ल्याउने सम्भावना छ । सन् २०२४ देखि २०५० बीच उमेर अनुसारको क्यान्सर मृत्यु दरमा विश्वव्यापी रूपमा करिब ५.६ प्रतिशत कमी आउन सक्ने अनुमान छ । तर विशेषज्ञहरू भन्छन्– जनसंख्या वृद्धि र मानिसहरूको आयु बढ्दै जाँदा क्यान्सरका कुल केसहरूमा ठूलो वृद्धि हुनेछ ।

रिपोर्टले यस सुधारलाई संयुक्त राष्ट्रसंघको लक्ष्यभन्दा निकै पछाडि रहेको बताएको छ, जसले सन् २०३० सम्म गैरसंक्रामक रोग (जस्तै क्यान्सर) बाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने लक्ष्य राखेको थियो ।

सन् १९९० देखि २०२३ सम्म क्यान्सरबाट हुने मृत्युमा ७४ प्रतिशत र नयाँ केसमा १०५ प्रतिशत वृद्धि भएको छ । धनी देशहरूमा उमेर अनुसार मृत्यु दर २४ प्रतिशतले घटेको भए पनि गरीब र मध्यम आय भएका देशहरूमा नयाँ केस दर क्रमश: २४ र २९ प्रतिशतले बढेको छ ।

सन् २०२३ मा स्तन क्यान्सर सबैभन्दा सामान्य थियो, जबकि फोक्सोको क्यान्सर सबैभन्दा बढी मृत्युको कारण बन्यो ।

चारमध्ये एक मृत्युको कारण तम्बाकू

अध्ययनले के पनि देखाएको छ भने सन् २०२३ मा क्यान्सरका करिब ४२ प्रतिशत (४३ लाख) मृत्युहरू रोक्न सकिने कारणहरूमार्फत भएका थिए । यसमा तम्बाकू सेवन, असुरक्षित यौन सम्बन्ध, मोटोपन, अस्वस्थ खानपान र खराब जीवनशैली प्रमुख थिए । सबैभन्दा ठूलो कारण तम्बाकू थियो, जसले विश्वभर क्यान्सर मृत्युका २१ प्रतिशत घटनामा योगदान दिएको थियो ।

तम्बाकू लगभग सबै देशमा मुख्य जोखिम कारक थियो, तर कमजोर अर्थतन्त्र भएका देशहरूमा असुरक्षित यौन सम्बन्ध प्रमुख कारण बनेको थियो, जसले त्यहाँका क्यान्सर मृत्युका १२.५ प्रतिशत घटनामा भूमिका खेलेको थियो ।

रिपोर्टअनुसार सन् २०२३ मा पुरुषका ४६ प्रतिशत र महिलाका ३६ प्रतिशत क्यान्सर मृत्युहरू रोक्न सकिने कारणहरूसँग सम्बन्धित थिए । पुरुषहरूका लागि तम्बाकू, मदिरा, अस्वस्थ खानपान, कार्यस्थल जोखिम र वायु प्रदूषण प्रमुख कारण थिए । महिलाहरूमा तम्बाकू, असुरक्षित यौन सम्बन्ध, मोटोपन र उच्च रक्तचाप प्रमुख कारक थिए ।

अमेरिकी विशेषज्ञ डा. लिसा फोर्सले चिन्ता व्यक्त गर्दै भनेकी छन्, ‘आगामी दशकहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्नेछ, विशेषगरी ती देशहरूमा जहाँ स्रोत सीमित छन् । तर दुर्भाग्यवश, क्यान्सर नियन्त्रण नीति अझै पनि विश्व स्वास्थ्य प्राथमिकता बनेको छैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विज्ञ डा. मेघनाथ धिमालका अनुसार, ‘कमजोर देशहरूमा बढ्दो क्यान्सर संकट बन्दैछ । अहिले नै कदम नचालिए अवस्था नियन्त्रणबाहिर जान सक्छ ।’

विशेषज्ञहरूले हरेक देशले आफ्ना क्यान्सर नीतिमा रोकथाम, प्रारम्भिक जाँच र उपचारको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै, विश्वसनीय तथ्यांक संकलनका लागि बलियो निगरानी प्रणाली (रजिस्ट्री सिस्टम) आवश्यक छ, जसको आधारमा प्रभावकारी नीति निर्माण गर्न सकियोस् ।

यदि सरकारहरूले निर्णायक कदम चालेनन् भने सन् २०५० सम्म क्यान्सर यस्तो विश्वव्यापी महामारी बन्न सक्छ- जसबाट बच्न गाह्रो हुनेछ ।

– एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार