Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ललितपुर महानगरले एक विद्यालय–एक सम्पदा कार्यक्रम सुरु

ललितपुर महानगरले एक विद्यालय–एक सम्पदा कार्यक्रम सुरु

नेपाल सम्वत् ११४५, यंलाथ्वः १२ तृदशी, १९ भाद्र, २०८२, ४ सेप्टेम्बर, २०२५) बिहीबार, बाँपीझ्याला ।  ललितपुर महानगरपालिकाले एक विद्यालय, एक सम्पदा कार्यक्रम सुरु गरेको छ।

महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाबारे जानकारी दिन यो कार्यक्रम ल्याइएको महानगरपालिकाले जनाएको छ।  ललितपुर महानगरले बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी यो कार्यक्रम सुरुवात गरेको हो।

कार्यक्रमअन्तर्गत विद्यार्थीले विद्यालयनजिक वा पायक पर्ने स्थानमा रहेका सम्पदा सरसफाइ र संरक्षण गर्ने काम गर्छन्। महानगरभित्रका ढुंगेधारा, पाटी (फल्चा), बौद्ध बिहार, मठमन्दिर, बौद्धस्तुपा, प्रमुख पोखरीको संरक्षण र सरसफाइमा विद्यार्थी जुट्ने छन्।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यो ‘ड्रिम प्रोजेक्ट’ भएको बताए।

विद्यार्थीका लागि यो प्रयोगात्मक कक्षा भएको सुनाउँदै उनले थपे, ‘यो कार्यक्रम विद्यार्थीलाई जानकारी र संरक्षण दुवैको ज्ञान दिन ल्याएका हौँ, आफूले संरक्षण गरेको कुराको माया लाग्छ, यसले जीवनपर्यन्त संरक्षणमा चासो र चिन्तन गर्न सहयोग गर्छ। अर्को कुरा विद्यार्थीले छोएर, देखेर सम्पदाबारे बुझ्न पाउने भए।’

मेयर महर्जनले विद्यार्थीलाई यो कार्यक्रममा सक्रिय भएर सहभागी हुन अनुरोध पनि गरे। सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनले यो कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक शिक्षासँग जोड्ने बताए।

उनले भने, ‘ सम्पदाको महत्त्व बुझाउन मद्दत गर्छ, सम्पदाको प्रचारप्रसारका लागि पनि यो कार्यक्रमले सहयोग पुर्‍याउँछ।’

यो कार्यक्रम महानगका २९ वटै वडामा सञ्चालन गरिएको शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार यो कार्यक्रम अनुगमनका लागि पाँच सदस्यीय तीनवटा अनुगमन समितिसमेत गठन गरिएको छ।

समितिले दिएको मूल्यांकन प्रतिवेदनका आधार संरक्षणमा उत्कृष्ट काम गर्ने विद्यालयलाई पुस २ गते महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा पुरस्कार दिइनेछ। 

नगर प्रमुख महर्जनले भने, ‘पुरस्कार प्रोत्साहन हो, यसले संरक्षणको काममा सक्रिय हुन प्रेरित गर्छ।’ सरसफाइ क्रममा संकलन भएका फोहोर वातावरण शाखाले तत्काल व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार