Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कक्षा १२ को परीक्षामा ३.६८ जिपिए ल्याई दोलखा जिल्ला प्रथम हुने मनिषालाई नगद सहीत सम्मान पत्र प्रदान

कक्षा १२ को परीक्षामा ३.६८ जिपिए ल्याई दोलखा जिल्ला प्रथम हुने मनिषालाई नगद सहीत सम्मान पत्र प्रदान

नेपाल सम्वत् ११४५, यंलाथ्वः २ दुतिया ९ भाद्र, २०८२, २५ अगष्ठ, २०२५) सोमबार, बाँपीझ्याला ।  सहिद स्मृति आवसीय माध्यमिक विद्यालय, जिरी, दोलखाले शैक्षिक सत्र २०८१ को कक्षा १२ उतिर्ण परीक्षा (एस.एल.सि.ई) मा विद्यालयबाट जिल्ला प्रथम विद्यार्थी तथा अन्य ग्रेडेड विद्यार्थीहरु सहित विषयगत रुपमा सतप्रतिशत नतिजा दिलाउन सफल शिक्षकहरुलाई नगद सहित सम्मान गरेको छ ।

कक्षा १२ को परीक्षामा ३.६८ जिपिए सहित जिल्ला प्रथम हुन सफल मनिषा मगरलाई कार्यक्रमका प्रमुख अतिथि तथा जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेलले नगद रु ३० हजारसहित प्रशंसापत्र प्रदान गर्नुभयो । त्यस्तै अन्य १६ जना ग्रेडेड विद्यार्थीहरुलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो । साथै सतप्रतिशत उतिर्ण गराउन सफल नेपाली, अंग्रेजी, सामाजिक, रसायनशास्त्र तथा कम्प्युटर विज्ञान विषय अध्यापन गर्ने ५ जना शिक्षकलाई पनि जनही रु ५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख जिरेलले सहिद स्मृति विद्यालयका विद्यार्थीले कक्षा १० को एस.ई.ई. र कक्षा १२ को एस.एल.सि.ई. दुबै बोर्ड परीक्षामा जिल्ला प्रथम स्थान हासिल गरेर विद्यालयको मात्र नभई समग्र जिरी नगरपालिकाकै गौरवलाई जिल्लामा उच्च बनाएकोमा हार्दिक बधाई दिनुभयो । साथै आगामी दिनमा पनि यस प्रकारको सफलतालाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी, विशेष अतिथि जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकीले सिमित भौतिक पूर्वाधार र आर्थिक स्रोतका बाबजुत विद्यालयले प्राप्त गरेको उपलब्धीले आफु गौरवान्वित भएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरुको कडा मेहनत, शिक्षकहरुको अथक प्रयास र विद्यालय प्रशासनको कुशल व्यवस्थापनबाट यस्तो नतिजा सम्भव भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

जिरी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा प्रेम पूर्ण प्रताप फाउण्डेसनका प्रतिनिधि शान्त नेपालीले फाउण्डेसनले विद्यालयलाई निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यस विद्यालयका उत्कृष्ट अंकसहित कक्षा १२ उतिर्ण गर्ने ३ जना विद्यार्थीलाई, यदि उनीहरुले चाहेर अभिभावकको सहमति पाएमा, फाउण्डेसनको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि अमेरिका अध्ययन गर्ने अवसर प्रदान गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष खेटराज घिमिरेले उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई सम्मान गर्ने कार्यलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने घोषणा गर्दै सबै विद्यार्थी तथा शिक्षकलाई इमान्दार, लगनशील र मेहनती भएर अध्ययन–अध्यापनमा लाग्न सुझाव दिनुभयो ।

संगीतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक केन्द्रज्योती खड्काले गर्नुभएको थियो । कार्यक्रममा जिरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति सदस्य मरीज बहादुर खड्का, सम्मानित विद्यार्थी सपना दनुवार लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार