Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

थारु महिलाले आजदेखि महान पर्व अष्टिम्की धुमधाम मनाउँर्दै

थारु महिलाले आजदेखि महान पर्व अष्टिम्की धुमधाम मनाउँर्दै

नेपाल सम्वत् ११४५, गुलागा ८ अष्टमी (३१ श्रावण, २०८२, १६ अगष्ठ, २०२५) शनिवार, बाँपीझ्याला ।  थारु समुदायका महिलाहरुले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारु महिलाहरुका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। अहिले थारु गाउँहरूमा अष्टिम्कीको रौनक छ।

श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको उत्पत्ति ‘अष्टमीं टीका’ बाट भएको  थारु सस्कृतविद अशोक थारुको भनाइ छ । उहाँको अनुसार श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ को अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण  ‘कान्हा’ जन्मेकाले उहाँलाई टिका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले विशेषरुपमा मनाउने गरेको हुनाले यस दिनलाई थारु समुदाले अष्टिम्की भन्ने गरेको सस्कृतविद थारुको भनाइ छ।

दुर्इ दिनसम्म उल्लासमय बातावरणमा मनाउने अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभरी केही नखाई व्रत बस्ने गर्दछन् । अष्टिम्कीमा  ‘कान्हा’ को जीवनी चित्रणमा भित्तेचित्र कोरेर धुमधामसँग टीका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दै आएको घोराही उपमहानगरपालिका १० जलौराकी इन्दिरा चौधरीले बताउनुभयो । उहाँको अनुसार अष्टिम्कीको पहिलो दिन अर्थात व्रत बसेको दिन विहानै महटावाको घरको बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्र विशेष रुपमा बनाइन्छ ।

त्यसैगरी श्री कृष्णको दाँया सूर्य र बाँया भागमा चन्द्रमाको चित्र कोरिन्छ । यसैगरी दोस्रो लाईनमा सात भाइ कौरबको चित्र कोरिन्छ । त्यस्तै तलको भागमा दुलहा दुलही, दुलहीलाई पठाउन जान लागेको  ‘डोली’, दुलहालाई पठाउन जान लागेको ‘डोला’ माछा, गंगता, बाघ, हात्ति, मयुर, सर्प, गाई,  लगायत विभिन्न चरा र जनावरको चित्र बनाइन्छ ।

यसरी सवै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्दछन् । त्यसपछि विभिन्न किसिमको रंङ्गीचङ्गी रातो, कालोचोली, सेतो गुन्यु, लेहगाँ र घाँटीभरी थरिथरिको गरगहनाले सजिएर एकै समयमा गाउँभरिका महिलाहरु लामबद्ध भई बलिरहेको दियो, त्यसैमा रंङ्गीचङ्गी फूल लिएर  महटावाको घरमा गई पूजा गर्ने गरेको चौधरीले बताउनुभयो । 

यसरी गाँउभरिका महिलाहरु महटावा (बरघर) को घरमा जम्मा भइसकेपछि महटावाँकी श्रीमतीबाट अष्टिम्कीको पूजाको सुरुवाट हुनेगरेको चौधरीले जानकारी दिुनभयो । ‘यसरी भित्तामा कोरिएको चित्रको सवैभन्दा माथिको लाइनमा रहेको पाँच चित्रमध्ये विचमा रहेका श्री कृष्ण (कान्हा) लाई टीका लगाएर अन्य चित्रमा क्रमशः सिन्दुरको टीका, कलशको जलद्वारा पूजा गर्ने गरिन्छ, उहाँले भन्नुभयो । 

पूजा गर्दा निकै रमाइलो हुने गर्छ । ठूलाबाट सानो क्रमशः पूजा गर्ने चलन हुन्छ । पूजासँगै सामूहिकमा अष्टिम्कीको गीत गाउने गरिन्छ’ उहाँको अनुसार पूजापाठ गरिसकेपछि घरमा गई फलफुल र दही खाई पुनः महटावाको घरमा गई रातभरी गीत गाएर जग्राम बस्ने गरिन्छ ।

यसरी विहान भइसकेपछि थारु महिलाहरुले बलिरहेको दियो  ‘दीप पज्वलन’, खोलामा गई बगाउने गर्दछन् । जुन दिनलाई थारु भाषामा फह्रार भन्नेगरेको चौधरीले बताउनुभयो । फह्रारको नुहाईधुवाइ गरी आ–आफ्नो घरमा जान्छन । घरमा आइसकेपछि ५ देखि ७ थरिको तरकारी, अन्य मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकाल्ने गर्छन्, जसलाई थारु भाषामा अग्रासन भन्ने गरिन्छ । 

त्यही अग्रासन विवाहित महिलाहरुले आफ्नो दाजुभाइहरुलाई अग्रासन दिन जाने चलन रहेको चौधरीले बताउनुभयो । अष्टिम्की पर्व दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउँछन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार