नेपाल सम्वत् ११४५, गुंलाथ्वः १३ तृर्तिया, (२२ श्रावण, २०८२, ७ अगष्ठ, २०२५ बिहीबार, बाँपीझ्याला, द्वाल्खा । प्राचिन शहर दोलखामा घण्टाकर्ण औशी (गाठामा डुई) को दिन देखि नेवारहरुको पर्व गुँल्ना शुरु हुन्छ ।
यसपछी दोलखा शहरमा बिहान बिहान मन्दिर परिक्रमा (देउ उईरी) प्रारम्भ हुन्छ । यसरी मन्दिर परिक्रमा गर्दा दुई समुहमा विभाजन भई परिक्रमा गर्ने प्रचलन रहेको छ । जसमा तत्लो टोल र माथिल्लो टोलका स्थानिय बासिन्दाहरुको सहभागीता रहेको हुन्छ । मन्दिर परिक्रमा घण्टाकर्ण औशीदेखि जनैपूर्णीमाको दिनसम्म निरन्तरता दिने चलन रहेको छ ।
दोलखामा गुँन्ला पर्व घण्टाकर्ण औशीदेखि शुरु भएपनी चाड आजको दिनदेखि मनाउने गर्ने गरिन्छ । जसमा पहिलो दिन फुलपाती, गुँल्ना नखत त्यसपछी क्रमशः दोलखाको ठुलो लाखे–जनैपूर्णीमा, साप्याखन (गाईजात्रा), ट्वाकल प्याखन (कृष्णलिला), र भैरबकुमारी जात्रा रहेको छ ।
फुलपाती :
परापूर्व कालदेखि चलि आएको आफ्नै मौलिकता रहेको प्राचिन शहर दोलखामा लाखे जात्राको विसर्जनको दुईदिन अगाडि अर्थात् आज चर्तुदशीको दिनलाई स्थानीय दोलखाको नेपाल (नेवारी) भाषामा “मेस स्यारी” (राँगो काट्ने) भन्ने गरिन्छ र फूलपातीको रुपमा मनाईन्छ । आजको दिनमा दोलखा शहरको प्रमुख दुईवटा टोल माथिल्लो र तल्लो टोलको स्थान विशेष विभाजनको हिसाबले दुईवटा ठाउँमा लाखे नचाउने विधिवत् चलन रही आएको छ । तर पछिल्लो चरणमा आजको फुलपातीको दिन दोलखामा तिन टोलबाट लाखे निकाल्ने गरिन्छ । पहिले पहिले तल्लोटोल, माथिल्लो टोलबाट लाखे नाच निकाल्ने परम्परा रही आएकोमा अहिले दुङ्गल टोलबाट पनी लाखे निकाल्ने कार्य शुरु भएको छ ।

प्राचिन मल्लकालीन सभ्यतादेखि चल्दै आएको दुईवटा टोलको विशेष रौनकता नै तल्लो टोलको लाखे र माथिल्लो टोलको लाखेको जम्काभेटलाई निकै रोमाञ्चक, कौतुहल र उत्सुकता पूर्वक स्थानिय वासिन्दाहरुले हेर्ने गरिन्छ । तल्लो टोल भन्नाले राइती धारा पश्चिमी भागबाट दुङ्गल टोल सम्म मानिन्छ भने, माथिल्लो टोल भन्नाले डोकलुङा देखि माथिको क्षेत्रलाई मानिन्छ ।
प्रत्येक वर्षको यो गुँन्ला जात्राको आजको दिनलाई फूलपाती भनेर मानिदा आज राँगो काटेर मासुको बेचबिखन गर्ने र हरेकको घरमा मासुका परिकार बनाएर पारिवारीक जमघट गरि आ–आफ्नो टोलमा लाखे निकालेर रमाइलो गर्ने मनोरञ्जन पुर्ण दिनको रुपमा लिने गरेको पाईन्छ । यो दिनमा केही दशक पहिलेसम्म ती दुवैटोलमा आजको दिनको लाखे हुने भन्ने पहिले नै तय गरिन्थ्यो र दिउँसोको भोज खाई सकेपछि लाखे निकाल्ने सुरसारमा टोल नै थर्किने गरि ढोलक र झ्याम्टा बजाएर लाखे निस्कन लागेको पूर्व सूचना दिएर दर्शकलाई तैयारी रहन संकेत दिईन्थ्यो ।
यसबेला दिउँसो निकालिने लाखेको स्वरुप एउटै भएपनि तरिका फरक हुन्छ । दिउँसो निकालिने लाखेलाई स्थानीय दोलखाको नेपाल (नेवारी) भाषामा जो “जोङ” डाकस” भनिन्छ । यसको अर्थ हात समातेर नाचिने लाखे हो । यसबेला उक्त लाखेलाई दुवैतिरको पाखुरामा दुईजना ख्यालीेले समाएर ढोलकको तालमा दुवै गोडा खुट्टालाई दायाँबाट बायाँ र बायाँबाट दायाँ दोबारेर नाचिन्छ, स्थानीय नेवारी भाषामा लाखेलाई “राकस” र ख्यालीलाई “दाउरे” भन्ने गरिन्छ । यसमा बाजाको रुपमा ढोलक र झ्याम्टा मात्रै प्रयोग हुन्छ ।
झ्याम्टालाई बुस्येल भनिन्छ । डुम् पाकुन् डुम को संगीतमय तालमा यो लाखे नचाइदा अझै रौनक थप्नका लागि स्थानीय युवा भद्रहरुले “ओ है लाखे ओ है...” भन्दै पैसाको नोट देखाएर जिस्काइ दिने चलन रहेको छ ।
जब दुई माथिल्लो र तल्लोटोल बिचको लाखेको कुनै ठाउँमा जम्काभेट हुन्छ तब दुवै टोलका मान्छेहरुमा भय र कौतुहलता छाउन थाल्छ कि कतै झगडा पो पर्ने हुन् कि भनेर, यो कृयाकलाप नभएको पनि होइन, केही दशक अगाडि सम्म झगडा परि नै रहन्थ्यो । यसको प्रमुख कारण थियो मादक पदार्थको सेवन गरेर जात्रा मनाउनु। यसरी झगडा भएन भने जात्रा नै होइन जस्तो लाग्ने बानी परेको थियो । विगत दशकहरुमा । तर समयको परिवर्तित शिक्षा र ज्ञानले ओगट्न थालेपछि यो झगडा पर्न छोडेको छ । किनकि मनोरञ्जनमा सहमति र सामुहिक सहभागी नै उत्तम प्रवृत्ति हो भन्ने सबैले बुझ्न थालेको हुनुपर्छ ।

यसरी दुई टोल बिचको दिउँसोको लाखेलाई विश्राम दिईन्छ र सोही दिनको राती दुवै टोलबाट “नेपाल राकस” अर्थात् नेपाली लाखेको रुपमा हात नसमातिकन सुमधुर संगीतमा नचाईन्छ, यो खालको लाखे नचाउदा कुसले जातीले गुजराती (ठुलो शहनाई) ढोलक, झ्याम्टा र सानो च्याम्टा (छुस्येल) मिश्रित गरेर कर्णप्रिय धुनमा नचाईन्छ ।
दिउँसोको लाखेमा दुई खालका बाजा हुन्छ भने राति एकै खालका बाजा बजाईन्छ । यतिबेला पनि ख्याली (दाउरे) हरु हुन्छन् तर यतिबेला दिउँसोको जस्तो उपद्रो तालले होइन कि अति शालीन र सभ्य तरिकाले नाचेर मनोरञ्जन दिने गर्छन् ।
दिउँसोको लाखेमा समाउने दाउरेहरु हेर्ने दर्शकलाई लखे्टने लुट्ने र सानो शहनाई र ढोलकलाई साथमा राखेर नाच्छन् । यसरी दोलखामा आजको दिनलाई गुँन्ला जात्राको विशेष दिन फुलपातीको नामाकरणबाट मान्ने परम्परा रही आएको छ ।
दोलखाको ठुलो लाखे÷ जनैपूर्णीमाः
दोलखामा लाखेनाचको अन्तिम दिनको रुपमा ठुलो लाखे नचाउने परम्परा रही आएको छ । जनैपुर्णिमाको अघिल्लो दिन दोलखा शहरबाट बाजागाजा सहित कालिञ्चोक भगवती मातासँग गुहार माग्न गएका डापाखलकहरु दोलखा फर्केर मठ–मन्दिरहरु परिक्रममा गरिसकेपछी गुर्कोट टोलको ड्वाकु डाकस छेँबाट विधीवत तान्त्रीक पूजाआजा पश्चात ठुलो लाखे (ड्वाकु डाकस) निकालिन्छ । लाखेलाई राक्षसको स्वरुप मानेपनी यस ठुलो लाखेलाई कालिञ्चोक भगवतीको रुप मान्ने परम्परा रही आएको छ ।
यसरी ठुलो लाखे निकालि सकेपछी बिधिपूर्वक तिनधारा स्थित नारायणचा मन्दिरको अगाडी बनाई राखेको यज्ञकुण्डमा पूजाआजा पश्चात जात्रामा सहभागी दाउरे (ख्याली) तल्लो टोलस्थित वडा २ नं को कार्यालय भवन अगाडी रहेको रानीपोखरीमा हाम्फाली पौडी खेल्ने गर्दछन् । यसरी प्राचिनकालमा दोलखामा राक्षसहरुले मानवजातीलाई दुःख दिएको र राक्षसहरुको संहारका लागि कालिञ्चोक भगवतीमा सहायता माग्न गएको र कालिञ्चोक पनी मायारुपी ठुलो लाखेको रुपमा दोलखा आएको र पानी भित्र लुक्न गएको राक्षसलाई समेत संहार गरेको दोलखामा किम्वदन्ती रहेको पाईन्छ । जुन परम्परा अहिलेसम्म कायम नै रहेको छ ।

साप्याखन (गाईजात्रा):
जनैपुर्णीमाको भोली पल्टदेखि भाद्र कृष्णपक्ष प्रतिपदाको दिन दोलखा शहरमा गाईजात्रा (साप्याखन) भव्य रुपमा मनाईन्छ । तल्लोटोल र माथिल्लो टोलबाट साप्याखन गाईको रुपमा छाला ओराई दुईजनालाई गाई बनाएर गोठाला दुईजनाले डोकोमा ठेकी दुध दुहुने भाडो बोकेर नाच्दै अभिनय गरेर हिडेका हुन्छन् । यसको सं–संगै बर्षभरी स्वर्गारोहण भएकोहरुको सस्मरणमा जोगी भएर परिवारका सदस्यहरु दोलखा नगर परिक्रमा गर्दै भिक्षा माग्र्दै हिडेका हुन्छन् । स्थानिय बाजागाजाका साथ बिभिन्न किसिमका प्रहसन, नाटक, हास्यव्यङ्ग समेत देखाईने हुदा गाईजात्राको दिन दोलखा शहरको रनक बढेको हुन्छ ।

ट्वाकल प्याखन (कृष्णलिला):
साप्याखन गाईजात्राकै राती प्रत्येक बर्ष दोलखा शहरमा ट्वाकल प्याखन (कृष्णलिला) निकाल्ने चलन रहेको छ । स्थानिय बाजागाजा बजाउँर्दै शुरु हुने यो जात्रामा एकातिर कृष्ण र अर्कोतिर गोपिनीको भेषमा कलाकारहरु हातमा लठ्ठी लिएर नाचेका हुन्छन् । हातमा रहेको लठ्ठी एकआपसमा जुदाएपछी लठ्ठीबाट ट्वाक्क ट्वाक्क आवाज आउने हुन्छ । यसरी आवाज आएर नै होला यो नाचको नाम स्थानिय नेवारी भाषाबाट “ट्वाकल प्याखन” भनिन्छ । यो जात्रामा पहिलो पल्ट सहभागी हुनेहरुले दुङ्गल टोलमा रहेको नाट्यश्वर मन्दिरमा किसली मिलचामा चामल, दक्षिणा, सुपारी र दुवो चढाउनु पर्दछ । पिङ्गलटोलबाट शुरुभएर रातभरी दोलखा शहरका सम्पुर्ण मठ–मन्दिर परिक्रमा गरी सोही पिङ्गल टोलमा पुगेर समापन गर्ने गरिन्छ । यो संगै यसबर्षको ट्वाकल प्याखन समापन भएको मानिन्छ ।
खरीप्याखन (खटनाच)
प्राचिन शहर दोलखाको महत्वपूर्ण पौराणिक नाच मध्ये यो खरीप्याखन (खटनाच) पनी एक हो । लोप हुने अवस्थामा रहेको यो खरीप्याखनलाई दोलखाका सँस्कृतीप्रेमीहरुले पुनःजिवन दिएकै कारण हालसम्मपनी प्रत्येक हिलेजात्राको समयमा यो नाचको आनन्ददायी अवलोकन गर्न सकिन्छ । धैरै तान्त्रिक विधि विधान पू¥याउनु पर्ने भएकोले पनी यो नाच संचालन गर्न कठिन छ । राजारानी लगायत राक्षसको अभिनय कौन प्याखन जस्तो विविध विधी देखाउनु पर्ने भएकोले तयारीकालागि धेरै समय लाग्ने हुन्छ । त्यसैले यो नाच हेर्दा ज्यार्दै आनन्द आउने गछे ।

भैरबकुमारी जात्राः
गाईजात्राको भोलीपल्ट भाद्रकृष्ण पक्ष द्वितिका दिनदेखि षष्ठीसम्म लगातार पाँचदिन दोलखामा रातभर भैरवकुमारी जात्रा निकालिन्छ । यो जात्रा गुँन्ला पर्वभित्रकै जात्रामा निकालिने भएपनी यसको आफ्नै महत्व र गरिमालाई छुट्टै रुपमा विश्लेषण गर्न सकिन्छ । दोलखाशहरमा देखाईने जात्राहरुमध्ये यसको महिमा विशेष रहेको पाईन्छ । तिन दिदीबहीनी त्रिपुरासुन्दरी, कालिञ्चोक भगवती र बालकुमारीसंगै जोडिएको किम्वदन्ती मिथक साच्चिकै ताज्जुव लाग्दो छ । “तामाकोशीको ढुङ्गा आँप नबनेसम्म, भगेराले एक एकपाईला नचालेसम्म र भुटेको भटमास नउम्रेसम्म जमिनमुनीनै बस्ने तथा बर्षमा एकचोटी पाँचरात जमिनमाथी आउन पाउँने तान्त्रिकको शर्त अनुसार कुमारी जात्रा शुरुवात भएको अद्भुत कहानी यो जात्रासँग जोडिएको छ ।
रातभरी बाजागाजाका साथ मैनबाट निर्मित भैरब र कुमारीको गहुँगो मुकुण्डो शिरमाथी राखेर निरन्तर नाच्नु पर्ने र यसरी भैरबकुमारी हुने व्यक्तिलाई कुनैपनी गाहे आवास नहुनुलाई दैविक शक्ति मान्ने गर्दछ । दोलखा शहरका शिवभक्ती परिवारहरुमा यो जात्रामा सहभागी भएतापनी एकजना भने तान्त्रिक बज्राचार्य गुभाजुपनी सहभागी हुनै पर्छ भन्ने मान्यता रही आएको छ । त्यसैले यस जात्रामा १२ जना देवगण र गुभाजु गरी १३ जनाको सहभागीता रहेको हुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij