नेपाल सम्वत् ११४५, दिल्लागाः १२ द्वादसी, (६ श्रावण, २०८२, २२ जुलाई, २०२५ मंगलबार, बाँपीझ्याला । प्राचिन शहर दोलखा स्थित विश्व प्रख्यात भीमेश्वर (भीमसेन) भगवान विराजमान हुनु हुन्छ ।
एक शिला तिन अवतारको नामले प्रख्यात दोलखा भीमेश्वर (भीमसेन) को दर्शन गर्नका लागि देश विदेशबाट हजारौंको संख्यामा भक्तजनहरु दोलखा आई साक्षात भगवान भीमेश्वर (भीमसेन) को दर्शन गरी फर्कने गर्दछन् ।
यही सन्दर्भमा आजभन्दा करिव ८–९ अगाडीदेखि दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीको एकल निर्णयबाट दोलखा भीमेश्वर (भीमसेन) को उत्तर र दक्षिणबाट प्रवेश गर्ने मुल सहायकद्वारहरुको ढोका बन्द गरी पश्चिमद्वारबाट मात्र प्रवेश गराउँर्दै आएको थियो ।
यसै गरी यस निर्णयको विरोधमा स्थानिय दोलखावासीहरुले शुरुदेखि अहिलेसम्म लागि परि आएको थियो । तर यसको सुनुवाई कहि कतैबाट नभएको अवस्थामा आज अषाढ ६ गते मंगलबारका दिन भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले स्थानियवासीन्दाहरुको सर्वत्र विरोधको व्यहोरा जनाई उक्त बन्द गरीएको उत्तर र दक्षिण ढोकाहरु मंगलबार र शनिवार बन्द गरी अन्यदिन यथासिघ्र खोल्न आदेश दिएलगतै आजदेखि दोलखा भीमेश्वर (भीमसेन)को बन्द रहेको उत्तर र दक्षिणको प्रवेशद्वार खुल्ला गरिएको छ ।
यस कार्यको स्वागत गर्दै वडाध्यक्ष स्टालिन श्रेष्ठले आजभने दोलखाको पहिचान जोगाउने मुल्य र मान्यताको जनताको ईच्छाअनुसारको कार्य गर्न सफल भएकोका खुसी व्यक्त गर्दै उहाँप्रती हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिई आ–आफ्नो सामाजिक संञ्जालबाट खुसी व्यक्त गरेका छन् ।
कसरी खुल्यो उत्तर दक्षिण ढोका ?
प्राचिनकालदेखि नै हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको दोलखा भीमेश्वर (भीमसेन) मन्दिर आज पनि विश्वप्रसिद्ध धार्मिक तीर्थस्थलको रूपमा प्रख्यात रहेको छ । आफ्नो विशेष महिमा र चमत्कारी शक्तिका कारण यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गदर्छन् ।
यस्ता प्रशिद्व मन्दिर परिसरको स्वरूप फराकिलो, हरियालीले सजिएको, बालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र समग्रमा सबैका लागि सहज र सम्मानजनक वातावरणयुक्त हुनु पथ्र्यो तर आज सम्म त्यता कसैको चासो छैन ।
तर यो मन्दिरको उत्तरतर्फको फलामको गेट बन्द रहँदा, दर्शनार्थी, स्थानिय बासिन्दा र विभिन्न जात्रामा संलग्न सांस्कृतिक समूहहरूमा गहिरो असन्तुष्टि देखिंदै आएको थियो । भीडभाडमा सहज आवागमन नहुनु, धार्मिक गतिविधिमा बाधा पुग्नु, र सबैको लागि खुला हुनुपर्ने धर्मस्थलमा साङ्लो लगाइनुले गणतन्त्र नेपालमा पनि कुनै हैकमवादी प्रवृत्ति हाबी भएको संकेत दिन थालेको थियो।
दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले जनचाहनाको विपरित निर्णय गर्दै आएको भन्दै विभिन्न स्थानिय बुद्धिजीवी, सामाजिक अगुवा र युवा समूहहरूले ध्यानाकर्षण पत्र, हस्ताक्षर अभियान र प्रत्यक्ष संवादका माध्यमबाट निरन्तर आवाज उठाउँदै आएका थिए। तर, जब सत्ताको मनोविज्ञान ‘हामी जे गर्छौं त्यही सही’ मा बदलिन्छ, तब जनताले शान्त आवाज होइन, सशक्त अडान लिने अवस्था आउँछ।
यस्तै अडान आज देखिएको हो – यसपालि गठेमंगल गुठि पालो परेको कोर्छेमी परिवारका सदस्य स्थानिय युवा समाजसेवी नरेन्द्र श्रेष्ठको नेतृत्वमा गठेमंगलमा माहानेको जिम्मा पाएका शिवभक्ति परिवारलाई निमन्त्रणा गर्न जादा जब सम्म भीमेश्वर मन्दिरको उत्तरपट्टि राखिएको अनावश्यक फलामको गेट हटाउदैन तब सम्म दोलखाको प्रमुख जात्राहरूमा सहभागी नहुने घोषणा गरे। गेट नखुल्दासम्म भैरव–कुमारी जात्रा समेत अवरोध हुने अवस्था आएपछि यो विषयले गम्भीर मोड लियो। त्यसपछि सो जानकारी वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई गराइएपछि, वडा कार्यालयले तत्कालनै हस्तक्षेप गर्दै आज २०८२ अषाढ ६ गते ढोका खोल्ने आदेशको पत्र दिईयो ।
त्यो निर्णयको केही समयभित्रै बन्द गरिएको गेट खुल्यो। अनि खुल्यो – जनताको जित, साहसी नेतृत्वको निर्णय र ’गणतन्त्रमा जनताको सर्वोच्चता’ भन्ने मूल सन्देश।
जब मैले यो विषयमा जानकारीसहित फेसबुक पोस्ट गरेँ, धेरै जनाको प्रतिक्रिया एउटै थियो – “गेट किन बन्द गरिएको थियो? हामीलाई किन रोकिएको थियो?“ ती सबैले एक स्वरमा भने – अब फेरि पनि हामी बोल्न सक्छौं, जब नेतृत्व निष्पक्ष र जनपक्षीय हुन्छ।
आज वडा नं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले लिएको यो निर्भीक निर्णय जात, धर्म, लिङ्ग, पेशा, राजनितिक पार्टी भन्दा माथि उठेर लिएको नेतृत्वको उदाहरण बनेको छ। जब नेतृत्व जनचाहनाको पक्षमा उभिन्छ, तब आम नागरिकले अन्याय सहेर बस्नुपर्दैन।
सार्वजनिक चासोको बिषयलाई निर्णय गर्दा स्थानिय वासिन्दाहरुको राय सल्लाह बेगर कुनै पनी काम गर्न नहुने रहेछ भन्ने शिक्षा लिन दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीलाई हाम्रो तर्फबाट आग्रह अनी सादर अनुरोध छ । होईन भने यस्ता व्यवस्थापन समितीका तर्फबाट स्थानिय वासिन्दाहरुको सहमती वेगर गरेका धेरै निर्णय प्रति आउने दिनहरुमा झुकी आफ्नो निर्णय फिर्ता लिनु पर्ने हुन सक्छ । जय दोलखा भीमेश्वर (भीमसेन) ।
अजय प्रधान, दोलखा ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij