नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ८, अष्टमी, (१९ अषाढ, २०८२, ३ जुलाई, २०२५) बिहीबार, बाँपीझ्याला । काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्ष परीक्षा (एसईई) मा गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू ननग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग छलफल गरेको छ ।
यो नतिजाका बाबजुद उत्तीर्ण विद्यार्थीमध्ये ७ सय ८९ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५ सय ४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए ।
छलफलमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको बताइन् । ‘चुनौती छन्, यसकारण नेतृत्वको खोजी भएको हो,’ उनले भनिन्, ‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना ननग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’
छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसईईको नतिजा राम्रो नभएको उल्लेख गरे ।
छलफलमा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिना अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक् प्रयास गर्ने प्रतिबद्धता जनाए । केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उनले उल्लेख गरे ।
प्रधानाध्यापकहरूले थप कारण देखाउँदै भने, ‘केही मेहिनेत गर्ने विद्यार्थीको पनि ननग्रेडेड नतिजा आयो । कति विद्यार्थीले जाँच दिए तर गयल देखायो । घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन् । अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन् । कतिपय बालबालिकाले श्रममा आबद्ध भएर अभिभावकको भूमिका वहन गर्नुपर्ने ठाउँमा छन् । उनीहरू चाहेर पनि पढाइमा ध्यान दिन सक्दैनन् । कतिपय विद्यार्थीहरू अभिभावकलाई टेर्दै टेर्दैनन्, अभिभावकलाई साथी जत्तिको पनि मान्दैनन् ।’
अभिभावकलाई विद्यार्थीको शैक्षिक सुधारका लागि बोलाउँदा विद्यालयमा नआउने कारण पनि प्रमुख रहेको उनीहरूको भनाइ थियो । ‘बिहान पढायो, त्यसपछि खाना खान घर पठाउँदा विद्यार्थी फर्केर विद्यालय नै आउँदैनन्, गयल हुन्छन् । विषयगत शिक्षकको अभाव भयो । दरबन्दी छ, शिक्षक छैनन् । विद्यालय वरिपरिको वातावरण राम्रो भएन, यसकारण उनीहरूमा खराब बानीको लत छ,’ प्रअहरूले समस्या देखाए ।
उनीहरूले थपे, ‘महानगरपालिकाले नियमित अनुगमन गरिदिनुपर्छ । प्रधानाध्यापक र शिक्षकको नेतृत्व विकास र क्षमता विकास गरिदिनुपर्छ ।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij