नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ६, षष्ठी, (१७ अषाढ, २०८२, २६ जुन, २०२५) मंगलबार, बाँपीझ्याला । भीमेश्वर नगरपालिका, दोलखाका सामुदायिक विद्यालयहरूमा वर्षे विदाका कारण हिजोदेखि १५ दिनको लागि पठनपाठन बन्द भएको छ। तर, वडा नं २ दोलखा तल्लोटोलमा अवस्थित राजकुलेश्वर आधारभूत विद्यालय भने वर्षे विदाको समयमा पनि निरन्तर रुपमा कक्षा सञ्चालन गर्दै आइरहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानका अनुसार, शिशु कक्षा देखि कक्षा १ सम्मका बालबालिकालाई ध्यानमा राखी विशेष व्यवस्था स्वरूप विद्यालय खोल्ने निर्णय विगत ३ वर्षदेखि गरिएको हो। अध्यक्ष प्रधान भन्छन्, “बच्चा घरमा बस्दा अभिभावकहरूलाई खेतबारी जान समस्या हुन्छ। छिमेकका निजी विद्यालयका बालबालिका नियमित विद्यालय जाँदा सामुदायिक विद्यालयका बच्चा घरमै बस्नुपर्दा समुदायमा असमानता र वितृष्णा बढ्ने जोखिम छ।”
उनका अनुसार, सामुदायिक विद्यालयलाई निजी विद्यालय सरह नियमित, भरपर्दो र बालमैत्री बनाउने अभियान अन्तर्गत वर्षे विदामा पनि पठनपाठन निरन्तरता दिइएको हो। निजी बोर्डिङ स्कुलहरू खुलेको अवस्थामा सरकारी स्कुलहरू बन्द गर्दा सामुदायिक शिक्षा प्रणालीप्रतिको विश्वास घट्न सक्ने भएकाले यस्तो निर्णय गरिएको हो।
“हामी वर्षे विदामा पनि विद्यालय खुला गरेर समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छौं। यसले हाम्रो विद्यालयप्रति आकर्षण र विश्वास बढाउनेछ,” अध्यक्ष प्रधानले बताए।
स्थानीय अभिभावकहरूले समेत यो कदमलाई स्वागत गरेका छन्। धेरैले यस्तो निर्णयले विद्यालयमा बालबालिकाको उपस्थिति र अभिभावकको भरोसा बढाउने बताएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij