
नेपाल सम्वत् ११४४ कछलागाः १२.८ (१३ मंसिर , २०८१) नोभेम्बर २८, २०२४ , बिहिबार, बाँपीझ्याला ।चलचित्र ‘बुलाकी’ यस वर्षको उत्कृष्ट चलचित्र बनेको छ । चलचित्र विकास बोर्डको आयोजनामा बुधबार भएको ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा चलचित्रकर्मीलाई पुरस्कृत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कलाकारको उत्कृष्ट कलाकारिता, सिर्जनशीलता र अन्तरनिहित प्रतिभाले आगामी दिनमा यो क्षेत्रलाई अझ उपयोगी र समृृद्ध बनाउन योगदान दिने बताउनुभयो । उहाँले संस्कृति कलाका लागि प्रेरणादायी हुने बताउँदै भन्नुभयो, “चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर समाज, जीवन जगत्लाई जीवन्त अभिव्यक्त गर्ने एउटा स्वतन्त्र माध्यम पनि हो ।”
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंग जोड्न आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले ठुला ठुला विषयवस्तुभन्दा गाउँ समाजमा देखिएका ससाना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा, संस्कृति तथा परम्पराको जर्गेना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताउनुभयो ।
उहाँले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखा पर्ने विकृति र विसङ्गतिलाई नियमन गर्न नियामक निकायका रूपमा रहेको विकास बोर्डलगायतका निकायले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताउँदै भन्नुभयो, “यस क्षेत्रमा प्रतिभाशाली जागरुक युवालाई अवसर दिन, राम्रा चललचित्र बनाउने र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनु पर्छ ।” राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको कार्यक्रममा अभिनेता विपिन कार्की र अभिनेतृ स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता–अभिनेतृ घोषित हुनुभएको छ । कार्कीले ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गर्नुभएको हो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नीतिगत र कानुनी हिसाबले चलचित्रलगायत सबै क्षेत्रलाई राम्रो बनाउने बारे सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सरकारको सकारात्मक काममा सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो । समारोहमा राष्ट्रपति पौडेलले नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’ की अभिनेतृ चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गर्नुभयो । उहाँलाई तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।
‘दिमाग खराब’ का लागि निश्चल बस्नेत उत्कृष्ट निर्देशक बन्नुभयो । चलचित्र ‘बुलाकी’ तीन विधामा उत्कृष्ट बन्यो । उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले अर्वाड पाउन सफल हुनुभयो । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्ने सबै चलचित्र र कलाकारले जनही २५ हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
राष्ट्रिय चलचित्रको जुरीमा यस पटक बद्री अधिकारी संयोजक र सदस्यमा रविचन्द्र अधिकारी, सुशील पोखरेल, सोमप्रसाद खतिवडा, गौरीशङ्कर धुजू, सबनम मुखिया र दीपा पाण्डे बस्नेत रहनुभएको थियो । यसै अवसरमा नेपाली चलचित्रमा योगदान दिने ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गरियो ।

सर्वोत्कृष्ट चलचित्र : बुलाकी
सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
सर्वोत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
सर्वोत्कृष्ट अभिनेतृ : स्वस्तिमा खड्का (दिमाग खराब)
सर्वोत्कृष्ट पटकथा तथा संवाद : राजबहादुर साने (बुलाकी)
सर्वोत्कृष्ट छायाङ्कन : शिव ढकाल (बुलाकी)
सर्वोत्कृष्ट सम्पादन : मित्र डी गुरुङ (महाजात्रा)
सर्वोत्कृष्ट आदिवासी जनजाति चलचित्र : लोजिमा (लिम्बू भाषा)
प्रोत्साहन पुरस्कार : स्वस्तिमा कार्की (टुल्की)
सर्वोत्कृष्ट व्यावसायिक चलचित्र : जारी

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij