Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्राचिन शहर दोलखामा फुलपाती (मेस स्यारी) आजको दिनलाई सम्झेर ल्याउँदा …

प्राचिन शहर दोलखामा फुलपाती (मेस स्यारी) आजको दिनलाई सम्झेर ल्याउँदा …

फुलपाती भन्नासाथ सबैको मनमा वडादशैंको याद आउला तर आज हाम्रो प्राचीन शहर दोलखामा आजको दिनलाई विशेष पूmलपातीको रुपमा मनाइँदैछ तर दशैंमा झैं डोलीमा फूलमाला सजाएर धुमधामले बढाइँ गरिंदैन, न त कुनै शक्तिपिठहरूमा गएर भगवतीको पूजाअर्चना नै गरिन्छ ।

केही दशक अगाडिसम्म दोलखामा चाडपर्वमा बाहेक अघिपछि राँगो काट्ने चलन एकदमै न्यून हुन्थ्यो । अझ भन्नुपर्दा दशैं, चैते दशैं र यही गुन्ला पर्वमामात्र यो चलन थियो । त्यतिबेला कसाइ वर्गले मात्रै राँगो काटेर मासु बेच्ने प्रचलन भएकोले अन्य वर्गका नेवारहरूले किनेर खाने मात्र गर्दथे । यसको लागि पनि त्यतिबेला हारालुछ नै हुन्थ्यौ, अघिपछि मज्जाले मिलेर कुरा गर्ने ती मासु व्यापारी र खरिद गर्ने स्थानीय व्यक्तिहरू त्यो दिनको लागि झण्डै दुश्मन जत्तिकै व्यवहार गर्थे ।

जे होस् घरमा मासु भित्रिएपछि मासुको परिकार ‘कलेमले’ (आन्द्रा भूँडीको भुटन), ‘हीकले’ (रक्ति भुटेको), ‘छुय् थोँसी वाले’ (मासु पोलेर मोलेको), ‘थोँसी केँ’ (झोल बनाएर पकाएको), ‘तीखउ’ (थलथले– अघिल्लो दिन पकाएर जमाएको) आदि परिकार संगै आलु तारेको, साँधेको, लसुन भटमास साँधेको, बर्खे साग पकाएको अनि चिउरा राखेर घरैमा पारेको तीनपानी, चारपानीको रक्सी राखेर भगवान सम्झिंदै प्रसाद लिने हो त्यो दिनको मूल प्रसाद ।

आज विशेष दिन भन्नु नै बिहान मन्दिर जाने आउने त नियमित कुरा भैहाल्यो, त्यो भन्दा अलि फरक खालको चलन भनेको आजको दिनमा राँगो काटेर प्रसाद भोज खाने र दिउँसो पुरुष जातिले लाखे नाच्ने र नचाउने रमाउने र महिलावर्गले हेरेर आनन्द लिने हो । त्यो दिनलाई स्थानिय भाषामा ‘मेस स्यारिउरि’ अर्थात् ‘राँगा काट्ने दिन’को रुपमा पहिचान दिलाएको छ ।

आज दोलखा शहर भित्र जे गरिन्छ त्यो वडादशैंको पूmलपातीमा भन्दा अलि बेग्लै मज्जाको बढाइँ हुन्छ, त्यो हो दोलखा शहर भित्रको मुख्य तीन टोलबाट छुट्टाछुट्टै हिसाबले दिउँसो लाखे निकालिन्छ सो लाखेलाई स्थानीय दोलखाली नेवार भाषाबाट सो लाखृलाई ‘ज्वङ राकस’ (डाकस) भनिन्छ, अर्थात नेपाली राष्ट्रिय भाषामा भन्नुपर्दा ‘पक्रिएको लाखे’ हो । यसको खास अर्थमा दिउँसो नचाइने लाखेको दुवै तर्फको पाखुरा हातमा अन्य दुईजना ख्यालीले समाएर भाग्न नमिल्ने गरि लाखेकै साथसाथमा नाच्ने गर्दछन् । यसरी समाउने दुई ख्यालीलाई दोलखाको नेवारी भाषामा‘दाउरे’ भन्ने चलन छ ।

करीब चार पाँच दशक पहिले माथल्लो टोल र तल्लो टोलमा अनि दुंगल टोलमा आजको दिन त्यही ज्वङ डाकस लाखे नचाउँदा धेरै उत्साहित भएको याद आउँँछ । यस्तै लेखको प्रसंगमा हाम्रो प्राध्यापक डाक्टर आदरणीय श्याम जोशीज्यूले तीन टोलको लाखे नचाएर माथिल्लो टोलको मुख्य बजारमा पुगेपछिको रौनकता बारेमा बताउनु भए जस्तै हामीले पनि देखि जानी आएका कुरा भन्नुपर्दा तीन टोलका लाखे बीचको नाच प्रदर्शनमा प्रतिस्पर्धा गर्नुभन्दा पनि बलको प्रदर्शनमा तीव्र तर झगडालु प्रदर्शन बढी नै हुने गर्दथ्यो ।

फेरि त्यत्ति झगडा भैदिएन भने जात्रा जात्रा जस्तै नहुने महशुस हुन्थ्यो, त्यतिबेलाको माहोल सम्झिंदा परम्पराको द्योतक संस्कृति र संस्कार नभैकन होडबाजीको चलखेल भन्दा फरक नपर्ला । त्यो प्रक्रिया हिजो आजका युवाहरूमा छैन, किनकि रमाइलो झगडा गरेर होइन कि मिलनसार समन्वयले हुनुपर्छ ।

ती कुरालाई हृदयङ्गम गरेर आज दोलखामा लाखे नचाइरहेको रहेको छ । प्राचिन शहर दोलखमा हुने गरेका हरे जात्रामात्रा, चाडपर्व र सम्पदा अनी बस्तीका बारे भए गरेका नयाँ नौलो र ऐतिहासिक तथ्यहरु यहाँहरुबाट सही सत्य कुराको सुझाव पाउने अपेक्षा राख्दै यो पंक्तिलाई बाँपीझ्याला मिडियाको तर्फबाट म सह–सम्पादक बालकृष्ण श्रेष्ठले यहीँ बिट मार्ने अनुमति मागें । जय द्वाल्खा ! जय परम्परा !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार