दोलखा जिल्ला भरिमा पहिलो पटक आधार पाठशालाको रुपमा विक्रम सम्वत् २००८ सालमा स्थापना भएको भीम पब्लिक हाईस्कूल दोलखा जिल्लाको सबैभन्दा पुरानो मध्येको दोश्रो माध्यमिक तहको विद्यालय हो । त्यसबेला सो पाठशालामा कक्षा एकदेखि नै पठनपाठन हुने गरेको थियो ।
केही समयपछि विक्रम सम्वत् २०१९ सालमा दोलखा शहरको तल्लो टोल स्थित राजकुलेश्वर प्राथमिक विद्यालयमा प्रारम्भिक शिक्षा पढाउने स्थानीय पञ्च भद्र भलाद्मीहरूको सहमति अनुसार कार्यसमिति गठन भएपछि सो आधार पाठशालामा कक्षा ६ देखि कक्षा १० सम्म पढाइने भयो ।

त्यतिबेला सरकारी तवरबाट कुनै अनुदान केही व्यवस्था नभएकोले स्थानीय बासिन्दा र केही दाताहरूको सहयोगमा पठनपाठन हुने भएकोले नै यो पाठशालाको नाम भीम पब्लिक हाइस्कूल राखिएको हो ।
त्यही भीम पब्लिक हाईस्कूल पछि विक्रम सम्वत् २०३४ सालमा देशैभरि नयाँ शिक्षा प्रणाली लागू गरिए पश्चात् भीम माध्यमिक विद्यालय भएको हो ।
सोही विद्यालयमा विक्रम सम्वत् २०२६ सालदेखि २०३८ सालसम्म लगातार १२ वर्षसम्म पहिले शिक्षक भएर पछि बि.एड.उतिर्ण भैसकेपछि सोही विद्यालयमा प्रधानाध्यापक हुनु भएर शिक्षक पेशामा लागिरहनु हुने अति मिलनसार, अनुशासनका विद्वता, सहनशीलका प्रतिमूर्ति आदरणीय गुरु बद्रीमान सिं श्रेष्ठसंग बाँपीझ्याला डटकमका सह–सम्पादक बालकृष्ण श्रेष्ठ “पासा” सँगको कुराकानीमा आधारीत साराश प्रस्तुत गर्न खोजिएको छौं ।
निकै दिनदेखि मनमा उत्सुकता जागीएको थियो, आदरणीय गुरुज्यू बद्रीमान सिंह श्रेष्ठसंग बसेर दुइचार वाक्य बोलेर भलाकुसारी गर्ने, उहाँ हाम्रो लागि अति आदरणीय र सम्माननीय गुरु हुनुहुन्छ । जुन गुरुज्यूको कृपाले मैले चार कक्षादेखि दश कक्षासम्म सहजै अध्ययन गर्ने मौका पाएको थिएँ र आज उहाँकै बारेमा केही वाक्यहरू आम पाठक र शुभचिन्तकहरूको माझमा राख्न सक्षम भएको छु ।
मेरो मात्रै होइन हामी सबैको आदरणीय अभिभावक गुरुज्यूसंग एउटै परिवेश राजधानी काठमाडौंमा रहेर पनि कहिलेकाहिँ आक्कलझुक्कल मात्र भेट हुन्थ्यो, जहाँ भेटिए पनि उहाँको आदेश, उपदेश र अर्ती दिने चलन कहिल्यै पनि हराएको हुदैन । म र मेरो साथीहरु ल्गायत सवैलाई भेट्दा आदर सत्कार र व्यवहारको कुरा त सामान्यतया चलेकै हुन्छ नै, तर पनि उहाँ मलाई बारम्बार भन्ने गर्नुहुन्छ कि “यसो घरमा आएर कहिलेकाहीँ भेटघाट गर न, आउने मन नै गर्दैनौ,”
म आफ्नो सरल बाध्यतालाई पोख्दै चोखिन्थेँ यसरीे,
“अलिकति समय नभएर हो दाई आउन नपाएको..” मेरो वाक्यले पूर्णता नपाउँदै उहाँ भन्नुहुन्थ्यो,..
“मन हुनुपर्छ बाबु मन, मन भए समयले रोक्दैन, हामी कुन महान् व्यक्ति हौँ र, आफ्ना नाताबन्धुलाई भेट्न समय निकाल्न नसकिने..” उहाँको यस्तै भावनात्मक वाक्यले म जवाफहीन् हुनप्ग्थेँ ।
हाल म आफ्नै मातृभूमि दोलखाको मातृभाषा दोलखा नेपाल (नेवार) भाषाको बाँपीझ्याला मिडियामा दोलखा नेपाल (नेवार) भाषाबाटै केही समाचार र लेखहरू अनि अलि देखेर, बुझेर पनि प्रचारमा नआएका सम्मानित व्यक्तित्वहरूसंग अतीत र वर्तमानका बारेमा केही कुरा सोधखोज र सोधपुछ गरेर लुकेका प्रतिबिम्बित अमूल्य वचनवाणीलाई ल्याएर यही बाँपीझ्यालाको आँगनमा बिस्कुन सुकाएर रापिलो घामरुपी दर्शक र श्रोतामाझ पुर्याउने अभिभारा लिएकोले त्यही आँगनमा आउन नचाहनु व्यक्तित्वहरुलाई खोज्दै घरदैलोमा पुग्न थालेका छौं ।
यसै सिलसिलामा यो पटक मेरै पाठ्य सहमित्र अधिवक्ता श्यामकृष्ण मास्केज्यूसंग उहाँकै वाहनमा आपूm भारी बनेर आदरणीय दाई हाम्रा गुरुज्यू बद्रीमान सिं श्रेष्ठको निवासस्थान बबरमहल थापाथलीमा पुगेरै उहाँसंग भलाकुसारी गर्ने अवसर पाएँ । पूर्व सूचना गरेरै गएकोले उहाँसंग भेट् हुने त पक्का नै थियो, तर भलाकुसारीको विषय चाहिँ मैले खुलाएको थिइन ।
२०७९ साल असार १९ गते दिनको त्यस्तै १ः४५ बजे हामी उहाँको घरको मूल ढोका ढक्ढक्याउन पुग्यौँ, हामी सवार भएको भटभटे त्यो मूल ढोकामा बिसाएको आवाज सुन्ने बित्तिकै उहाँकै परिवारकै सदस्यको रुपमा रहेको सानो फुच्चे (अमुक प्राणी) जस्लाई शहरी भाषामा पप्पी भन्छन् क्यारे..। जसले हाम्रो आतिथ्य स्वीकार्दै आफ्ना मालिकलाई आवाज दिइहाल्यो । लगत्तै पूर्वतर्फको झ्यालबाट मथुरा दिदी (गुरुआमा)ले बाहिर हेर्नुभयो र तल ओल्र्हनुभयो ।
मथुरा दिदी संगसंगै हामी पछि लाग्यौँ । हामी कोठामा पुग्दा एउटा रहस्यपूर्ण अवस्था देख्यौँ, कोठामा सामान असरल्ल अवस्थामा थियो, कतै डेरा सर्नकोलागि सामान चाङ पारेको जस्तै देखिन्थ्यो । हाम्रा गुरुबालाई आदर पूर्वक दर्शन सत्कार चढाएपछि मैले मुख फोरिहालेँ,
“दाइ दिदीहरू कतै सर्न लाग्नु भएको जस्तो छ नि,” मैले यसोभन्दा मित्र श्यामजीले पनि आशंकारुपी नजर तेस्र्यायो र उनले बोल्न नपाउँदै दिदीले जवाफ दिइहाल्नु भयो,
“ हो त, हामी यहाँबाट सर्न लागेका छौँ, अब बुढेसकालमा छोराहरूले जता जाउँ भन्छन् त्यतै लाग्नुपर्यो नि,” दिदीले यत्ति भन्नुहुँदा पनि मैले पत्याउन सकिरहेको थिइन, दाइ बद्रीमान केही सुस्त थकित देखिनु भको थियो, उमेरले ७७औँ बसन्त पार गरेको शरीरमा वृद्धपन देखिनु त स्वभाविकै हो, तथापि यताको सामान उता उताको यता पन्छाउने क्रममा शायद थकाइ लागेको नै स्थिति थियो ।
मैले आपूm आउनुको प्रमुख उद्देश्य र रहस्य बताएपछि । दाइ एकछिन् त भाव ह्विल नै बन्न थाल्नु भएको थियो । उहाँको ह््रृदय यत्ति कोमल छ कि योभन्दा करीब साँढे चार दशक पहिलेदेखि मैले महशुस गरेको थिएँ, त्यो आकस्मिक र अकल्पनीय घटनाले सबैको मन विथोलिएको थियो, त्यो के भने हामीलाई सामाजिक शिक्षा विषय पढाउनु हुने गुरु देवराज शर्माको भाइ दामोदर शर्मा पनि आठ कक्षामा सोही भीम माध्यमिक विद्यालयमा पढ्ने गर्दथ्यो, एकपल्ट विदा मनाउने क्रममा उ आफ्नो घर बाबरे गाउँ गएको तर दैवसंयोग उ नफर्किकन नै सदाको लागि विदा लिएर अनन्त यात्रामा गएको दुखद खबर आयो, जुन कुरालाई जोकोहीले पत्याउनै नसके पनि सत्य यथार्थ त्यही थियो कि दामोदर शर्मा हामीबाट टाढा भएकै थियो ।
हो त्यही खबरले हाम्रा गुरु बद्रीमानज्यू यति विक्षिप्त हुनुभएको थियो कि श्रद्धाञ्जलि दिनलाई जम्मा भएको प्रार्थना चउरमै उहाँ डाँको छोडेर रुनुभएको थियो । यस्तै दृश्यहरू धेरै देखेका छौँ हामीले । उहाँमा क्रोधको छनक पनि देखिइन्न, हरेक क्रोधका परिधिलाई उपदेशबाटै व्यक्त गर्नुहुन्छ ।
केहीबेरको व्यावहारिक कुराकानी गरिसकेपछि मैले बद्री दाइसंग उहाँको जीवनका सत्य यथार्थ कुरालाई खोतल्न भिडियोबाटै भलाकुसारी थाल्ने सोचले तैयारी गर्न खोज्दैथिएँ, मेरो मित्र श्यामले दाइसंग भिडियो टेपवार्ता गर्न आएको जानकारी पाउने बित्तिकै उहाँले उल्टै हामीलाई अनुरोध गर्नुहुँदै–..
“ओहो पर्दैन बाबु पर्दैन, म सार्वजनिक हुन चाहन्न, मैले सामाजिक दायित्व केही पुरा गरेको छुइन, म त मात्रै एक शिक्षक मात्र हुँ, मलाई मेरो अनुहार खुलाएर आफ्नो कुरा राख्नका लागि यो समाजमा त्यस्तो केही काम गरेको छैन…” भन्नु भएपछि म त अवाक् भएँ । अब के कुन प्रसङ्गमा कुरा गरौँ भनेर । तैपनि उहाँकै आदेशलाई शिरोपर गर्दै अतीतलाई कोट्याउन थालेँ । उहाँले भन्नु भएको अतीतलाई यसरी प्रस्ट्याउने अनुमति चाहेँ,
विक्रम सम्वत् २००१ सालमा स्वर्गीय मानकृष्ण श्रेष्ठ खरदार तथा टीका लक्ष्मी श्रेष्ठ (सानु बजै)को कोखबाट जन्मनु भएका ६ सन्तान मध्येका साइँलो छोरा हुनुहुन्छ बद्रमान सिं श्रेष्ठ । जेठा दाजु विष्णुमान सिं श्रेष्ठ, माइला दाजु केदारमान सिं श्रेष्ठ, बहिनीद्वय ठूल्दिदी र बहिनी कमल अनि कान्छो भाइ द्वारिकामान सिं प्रधान उहाँको अघिल्ला पैतृक परिवारजन हुन् । बद्रीमान दाई मात्र ५ वर्षको उमेर हुँदा उहाँहरूको परमपूज्य पिताज्यूको अकल्पनीय दुखद देहावसान भएपछि उहाँहरूमा ठूलै वज्रपात परेको थियो । जतिबेला सबैभन्दा कान्छो भाइ द्वारिकामान सिं भर्खरै मात्र यस धर्तीमा पदार्पण गर्नुभएको थियो ।
उहाँको बुबा मानकृष्ण श्रेष्ठज्यू सरकारी जागीरे खरदार हुनुभएकोले सरकारी आदेशानुसार जता खटायो उतै जानुपर्ने कारणले कहिले पूर्व कहिले पश्चिम अनि कहिले मधेसतिर गैराख्नु परेकोले जन्मभूमि दोलखामा बसेर आफ्नो मातृभूमिको सेवा गर्न नपाउँदा अलिक बढी नै उदासीन जस्तै देखिनु भएको कारणले उहाँलाई पछि दोलखामै सरुवा मिलाइ दिनुभएको रहेछ । दोलखामा रहन पाएपछि उहाँले जागीरलाई भन्दा नि बढी सेवा दोलखाका संस्कृति र परम्परालाई धेरै नै समय दिनुभएको रहेछ । धार्मिक नाटक रामलीला, कृष्ण लीला, शिशिरबसन्त, सत्यवादी राजा हरिश्चन्द्रको नाटक बनाएर डबलीहरूमा देखाउने काममा सकृय रुपमा लाग्नुहुन्थ्यो रे ।
त्यति धेरै धर्मप्रति आस्थावान् व्यक्तिको जीवनमा अल्पकालीन आयुको कारणले स्वर्गीय हुनु भएपछि आमा सानु बजै (प्रचलित स्थानीय नाम)लाई ती ६ सन्तानलाई हुर्काउन, बढाउन र पढाउन कति कष्ट झेल्न पर्यो होला त्यस्को लेखाजोखा के गर्नु र ! यसरी बद्री दाइले आफ्नो अतीत सुनाउदै जानुभयो । तैपनि पुख्र्यौली सम्पत्ति र बुबाको आय आर्जनको कामले गर्दा असामान्य दुःख झेल्न नपरेपनि सानातिना बालबच्चालाई सही मार्गमा ल्याउनको लागि त संघर्ष त गर्नै पर्नेभो ।
ठुल्दाइ र माइला दाइले जागीर खाने उमेर हुँदा बद्री दाई पाठशालामा पढ्ने बालक नै हुनुहुन्थ्यो त्यतिबेला दोलखाको माथिल्लो स्कूलमा आधार स्कूलको नामले एक कक्षादेखि पढाउन शुरु गरिए पनि शिक्षकको अभावले जजसले जेजति जानेको छ, त्यही आधारमा पढाइ हुने गर्दा सन्तोष जनक विद्या हासिल गर्न कठिनाइ भएको कुरा उहाँ बताउनु हुन्छ ।
त्यसपछि ठूल्दाइ विष्णुमान सिं जागीरको सिलसिलामा सिन्धुपाल्चोकको चौतारा जानुहुँदा चौतारामा गएर पढ्नु परेको तिक्तता पनि उहाँले सुनाउनुभयो, जहाँ पढ्न भनेर स्कूल त जाने तर रित्तै फर्केर आउनुपर्ने, कारण के हो त भन्दाखेरि पढाउने गुरु (शिक्षक) नै नहुने, त्यसैगरि ठूल्दाइ सर्लाहीको मलंगवामा सरुवा भएर जानुपर्ने भएपछि उहाँ पनि उतै जानुपर्ने भएकोले पढाइलाई निश्चित दिगो राख्न नसकेकोले अंग्रेजीमा जहिल्यै पनि कम अंक आउने गरेको थियो, झन् मलंगवामा त विष्णुदाईले एकैपटक आठौँ कक्षामा पढ्ने सल्लाह दिनुहुँदा त बद्री दाइलाई पसिना नै छुटेको कुरा स्मरण गर्नुहुन्छ ।
आठ कक्षा पढ्नको लागि अप्ठ्यारो मान्दा मान्दै पनि अंग्रेजी विषयको लागि एकजना तराई बासि शिक्षकलाई गृहगुरु राखेर पढाएरै छाड्नु भएको घटना व्यक्त गर्नुहुन्छ । त्यसरी नै जनकपुर स्कूलमा पनि उहाँले पढ्न पुग्नुभएको रहेछ । जसोतसो धेरै ठाउँमा घुमेर पढेपनि एसएलसीमा त्यसबेला दोश्रो श्रेणीमा उत्तिर्ण हुन पाएको त्यो पनि जिल्ला भरिमा २५ जना उत्तिर्ण हुँदा आपूmहरू परेकोमा कम्ति खुशी लागेको थिएन उहाँ बताउनुहुन्छ । त्यतिबेला उहाँसंगै अध्ययन गर्नु हुनेमा बालकृष्ण दोल्खे काका, हंस नारायण मामा र लक्ष्मण श्रेष्ठ ( सूर्य कार्पेट)लगायत अन्यलाई स्मरण गर्नुहुन्छ ।
एसएलसी परीक्षामा द्वितिय श्रेणीमा उतिर्ण हुनु भनेको त्यतिबेलाको लागि सगरमाथाको शिखरमा पुगर सफलता हासिल गर्नु सरहको सम्मान मिल्नु जस्तै थियो । यस नतिजाले परिवारजन सबैमा खुशी छाएर बधाइ दिनेहरूको ताँती लागेको थियो, आपूmलाई भने निकै ठूलो पहाड नै फोडेर भञ्ज्याङ पार गरेको जस्तै महशुस भएको थियो, किनकि आपूm स्वयंलाई थाहा थियो कि अंग्रेजी जान्नलाई कति गाह्रो थियो भनेर, त्यो कठिनाइमा बद्री दाइको कमजोरी थिएन, अंग्रेजी विषयमा दख्खल हुने गुरुहरूको अभावको कारणले धेरै विद्यार्थीहरू अनुत्तिर्ण हुनुपरेको थियो, त्यतिबेला शिक्षकहरू बाहिरबाटै खोजेर ल्याउनुपर्ने, आइहाले पनि त्यस्तो दक्ष शिक्षक पाइ नहाल्ने, तलब पाइन्जेल बस्ने अनि तलब पाउन अलिक ढिलाइ हुन थालेपछि छोडेर गैहाल्ने प्रवृत्तिले पनि निकै समस्या भोग्न परेको यथार्थ बताउनु हुन्छ बद्री दाइ ।
अब अलिकति पछाडि फर्केर हेर्दा एसएलसी परीक्षामा उतिर्ण भै सकेपछि विष्णमान दाइले आपूmलाई इन्जिनियर पढाउनलाई धेरै नै जोड गर्नुभएको तर आपूmलाई पढ्न आँट नै नआएको कुरा बताउनुहुन्छ, कारण थियो त्यही अंग्रेजी विषय नै । त्यतिबेला पहिले विज्ञान विषयमा प्रमाणपत्र तह पार नगरीकन इन्जिनियर पढ्न नमिल्ने नियम भएको कारणले जसरी पनि अंग्रेजी विषयमा दख्खल हुनैपर्ने बाध्यताका कारण अमृत साइन्स् कलेजमा भनौ भैसकेर पनि नपढेको तिक्तता सुनाउनु हुन्छ हाम्रा बद्री दाइ ।
जीवनमा सँधैभरि अर्थात् कहिल्यै पनि आपूmभन्दा ठूला मान्यजनलाई जवाफ नफर्काउने आज्ञाकारी अनुशासित बद्रीदाइले यो इन्जिनियर पढ्ने विषयमा भने ठूल्दाइलाई–
“मैले सक्दै नसकेको विषय पढ्दिन भन्दा नि जोड् जबर्जस्ति गर्न मिल्छ र” भनेर आफ्नो अभिभावक जस्तो व्यक्तिलाई यसो भन्नुहुँदा उहाँलाई आत्मग्लानी भएको महशुस् गर्नुहुन्छ । हुन त कडा परिश्रम गरेको भए सकिन्थ्यो होला भनेर अतीतलाई स्मरण गर्नुहुन्छ ।
बद्री दाइको अतीत सम्झिनुपर्दा उहाँ आफ्नो बुबा स्वर्गीय मानकृष्ण श्रेष्ठ जस्तै दोलखाको साँस्कृतिक तथा धार्मिक परम्परालाई अति नै आत्मसात् गर्नुहुन्थ्यो, दोलखाको हरेक गाईजात्रा पर्व, पूmललपाती बढाइँ, हिपाथामी जात्रा, बुग्द्यउ रथ तान्नेबेला के कस्तो अवस्था छ भनेर जानकारी लिइरहनु हुन्थ्यो र स्वयं उपस्थिति भएर सहभागिता जनाउनुहुन्थ्यो त्यतिबेला । दोलखाको हरेक भजन र नृत्य–नाटक कार्यक्रममा सहभागी हुनुभएको प्रत्यक्ष रुपमा मैले पनि देखेको छु ।
भीम माध्यमिक विद्यालयको प्रसङ्गमा उहाँको लागि अविस्मरणीय कुरा चाहिँ तत्कालीन शिक्षा विभागबाट पाइने राष्ट्रिय शैक्षिक पुरस्कारमा प्रधानाध्यापकले पाउनुपर्ने कुरामा अनियमित भएको बताउनु हुन्छ । कुरा के हो भने जिल्लाभरिका विद्यालयमा अनुशासनमा उच्च मूल्यांकनमा आउने विद्यालयका प्रधानाध्यापकलाई राष्ट्रिय पुरस्कार दिइने नियमानुसार भीम माध्यमिक विद्यालयका बद्री दाइले पाउनुपर्ने तर निरीक्षणमा आउने टोली प्रमुखले भीम माध्यमिक विद्यालयमा अनियमित तरिकाले एसएलसी परीक्षा सञ्चालन गरेको चीट चोराएर बहुसंख्यक विद्यार्थी उतिर्ण गराएको भन्ने आरोप लगाएर सो पुरस्कार जिरीको ईन्द्र बहादुर खड्कालाइ दिलाएको कुरालाई कहिल्यै बिर्सन नसकेको बताउनु हुन्छ । जब कि त्यतिबेला जिरी व्यावसायिक माध्यमिक विद्यालयमा एसएलसी परीक्षा सञ्चालन गर्ने अनुमति नै दिइएको थिएन । जिरी स्क«लले हाम्रो पालोभन्दा नि निकै पछिमात्र अनुमति पाएको थियो ।
अब अन्तमा जीवनका उत्तरार्धमा बद्री दाइ दोलखामा विकासमा भैरहेको अनियमित अन्योल र लुछाचूँडी प्रवृत्तिको अन्त्य कहिले होला भनेर चिन्तित हुनुहुन्छ, दोलखालाई बनाऔँ भन्ने भन्दा पनि आपूm कसरी बन्ने होडबाजी चलिरहेको भन्ने होहल्लाले साह्रै नै मन दुखेको बताउनु हुन्छ । उहाँको कथनलाई यहाँ सधिै राख्नुपर्दा–
“दोलखा हाम्रो पैतृक थलो हो, साँस्कृतिक परम्पराको धरातल हो, यहाँको माटो, पाटो र बाटो कुनै राजनीतिक पार्टीको बिर्ता होइन, होला देशमा नयाँ आयाम र उद्यमको लागि आ–आफ्ना सैद्धान्तिक मार्गहरू, तर सिमित नेता र व्यक्तिहरूको निजी स्वार्थका लागि दोलखालाई मागि खाने भाँडोको रुपमा चलखेल गर्न दिनु भएन, अबका युवाहरू यसका लागि सचेतपूर्वक जागरुक भएर अगाडि बढ्नुपर्छ, यसकालागि यो बाँपीझ्याला मिडियाले दह्रो कदम उठाउन सकोस्” भन्नुहुँदै आजको भलाकुसारीलाई बिट मार्ने आदेश दिनुभयो ।
बालकृष्ण श्रेष्ठ “पासा”
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij