त्यतिबेलाको त्यो प्राचिन दोलखा अभयपुर शहरको रामनवमी जात्राको माहौल । त्यो गुञ्जायमान वातावरण । टोल टोल घरघरमा जिल्लावासी र गैर जिल्लावासीका भीमसेन भक्तजनहरू खचिखचाउ र भरिभराउ भएको अवस्थामा दोलखामा एउटा बेग्लै खालको उत्साह र उमंग थियो । दोलखा शहरको तल्लो टोलको राइती नारायण टोल, लिखन्छेँ, श्यामसुन्दर टोल, नक्छेँ, चाम्सली, हापिचा, कोर्छेँ, गुर्कोट टोलका दलान्, छिँडी, बुइँगल लगायत ससाना टहराहरू सबैमा दोलाखा जिल्लाका मेलुङ, भेडपु, सुन्खानी, बाबरे, फस्कु, झुलेआदि ठाउँबाट विभिन्न जातिका दाजुभाइ तथा दिदीबहिनीहरू वृद्धवृद्धाहरू ठमठम हिँडेर आ–आफ्नो भाकलसिद्ध पूजाआजा गर्न आउने गर्थे । त्यसैगरि माथिल्लो टोलका डोकलुङा, पलाचुटी, ड्वाक्छेँ, बिहार्छेँ, डाँडाथोक र पुरान्छेँ पनि भक्तजनहरूले भरिएको हुन्थ्यो ।
रामनवमी पर्व दोलखाको लागि एक विशेष महत्वको चाड पनि हो, त्यतिबेला यो चाडमा दोलखाको गुठियारहरूका लागि प्रतिस्पर्धाको चाड जस्तो पनि लाग्थ्यो ।
किनकि यो रमनवमीमा भीमेश्वर मन्दिरमा दोलखा भन्दा बाहिरबाट जतिपनि भक्तजनहरू आउथे ती सबैजना भाकलसिद्धका लागि आउने गर्थे, जस अनुसार पञ्चबली एकल बलीका लागि पशुपंक्षी (राँगो, थुमा, बोका, हाँस र भाले) लिएरै आउने गर्थे र आ–आफ्नो परिचित मान्छेहरूको घरमा सिधै गएर बस्थे ।
यसो गर्दा पनि स्थानीय गुठीयारहरू भने कोही उनीहरू आउने बाटो दोलखा बजारभन्दा बाहिर पूर्वमा दुङ्गल टोलबाट बाहिर गौंडामा कुरेर फकाएर आआफ्नो घरमा लानका लागि तँछाड्मछाड गर्ने गर्थे भने कोही पश्चिम दिशाको देगलटाडा सम्म पुगेर फकाएर लाने गर्थे ।
यो एउटा स्वागत सत्कार पनि मान्नुपर्छ र अर्को दृष्टिकोणले हेर्नुपर्दा बलीपूजाबाट आएका पशुपंक्षीको मासुप्रतिको लालची स्वभाव पनि थियो भन्दा फरक नपर्ला ।
भक्तजनहरू अत्याधिक भिडका कारण दोलखा त्यतिबेला पुरै जात्रामय हुन्थ्यो, अष्टमीको रातभरि जाग्राम बसेर दीप बत्ती बालेर, भजन गाएर बस्दाको त्यो माहैल हेर्न चरिकोट, जिलु, मकैबारी, सुस्पा, क्षेमावतीदेखिका मान्छेहरू आउने गर्थे । दोलखा शहरको मुख्य शहरको माथिल्लो सिम्भूथानको प्राङ्गणमा दोहोरी र जुहारी खेल्नेहरूको भडि हुन्थ्यो । बजारका गल्लीभित्र बाहिर राँगा, बोका र थुमाको आवाजले रामनवमीको पर्याय जताइरहेको हुन्थ्यो ।
अष्टमीको दिनदेखि नै दोलखा शहरमा बडा दशैंको झल्को दिएर स्थानीय बाजागाजा सहित राजकुलेश्वर तलेजु भवानीमा पूmलपाती भि¥याउने परम्पराले अत्यन्तै रमझमको आभास मिल्थ्यो । कालान्तरमा देशभित्र सडक बिस्तार हुँदै गयो, मानवीय चेतनामा आधुनिकीकरण पनि हुनथाल्यो, यस अर्थमा कि देव देवीमा बलीपूजा गर्नु अपराध हो भन्ने जागरुक मानसिकता आउन थालेपछि यो परम्पराको क्रम क्रमशः हट्दै गएको हो कि जस्तो लाग्न थाल्यो ।
अर्कोतर्फ स्थानीयहरूबाट भएको लालची प्रभावले र सत्कारको अभावले पाहुनाहरू प्रति वितृष्णा जागेर आएकोले पनि हुनसक्छ पहिलेको तुलनामा भक्तजनहरूको आवागमनमा निम्न हुँदै गएको छ । दोलखामा त्यतिबेला भोजपुर, ओखलढुंगा, सिन्धुलीदेखिका मान्छेहरू दोलखा भीमसेनमा पूजा गर्न आउनेहरूको घुइँचो लाग्थ्यो । तर अहिले सामान्य रुपमा मात्रै भैरहेको छ ।
ती अतीतलाई सम्झनु सिवाय अरू केही रहेन हिजोआज । जे होस् अझै पनि भीमेश्वरको महिमालाई परम्परागत शैलीमा यथावत राख्नकालागि हामी सबैले सकारात्मक भूमिका निभाउन जरुरी छ । आज रामनवमी एक आदर्शरुपी रामलाई मनमा राखेर सबैको कल्याण हुने कार्यमा अग्रसर बनौं, रामनवमी पर्व र अब आउने नयाँ साल २०७९ साललाई हद्यदेखि स्वागत गर्दै सबैमा शुभकामना व्यक्त गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij