नेपालमा हुने हुन्डी कारोबारमा खुद्रा व्यापारी र रेमिट्यान्स सबएजेन्टको हिस्सा ठूलो देखिएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको हुन्डी विषयक रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ ले यस्तो देखाएको हो।
२ जनवरी २०२५ देखि जुलाई २०२६ सम्म प्राप्त शंकास्पद कारोबार तथा गतिविधिका आधारमा तयार गरिएको प्रतिवेदनमा १५ हजार ८१५ शंकास्पद कारोबार समावेश गरिएको छ। तीमध्ये १ हजार ६७२ वटा कारोबार हुन्डीसँग सम्बन्धित हुन सक्ने भन्दै बैंक तथा वित्तीय संस्थालगायतका निकायले वित्तीय जानकारी इकाइमा उजुरी दिएका थिए। कुल शंकास्पद कारोबारमध्ये हुन्डीसम्बन्धी कारोबारको हिस्सा १०.५७ प्रतिशत रहेको छ।
उक्त १ हजार ६७२ उजुरीमध्ये नमुना छनोट गरी २०० कारोबारको विश्लेषण गर्दा खुद्रा व्यापार फर्मको हिस्सा ४३ प्रतिशत र रेमिट्यान्स सबएजेन्टको हिस्सा ४१.५० प्रतिशत देखिएको छ। यी दुई क्षेत्रको हिस्सा मात्रै ८४.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, कृषि फर्मको ७.५० प्रतिशत, निर्माण कम्पनी र होलसेल व्यवसायको २.५०–२.५० प्रतिशत हिस्सा देखिएको छ। स्टेशनरी, उत्पादन तथा मेडिकल कम्पनीको हिस्सा एक–एक प्रतिशत रहेको छ।
वित्तीय जानकारी इकाइका प्रमुख वासुदेव भट्टराईले प्रतिवेदनले नेपालमा हुन्डी कारोबारका प्रवृत्ति र तौरतरिकाको विश्लेषण गरेको बताए। उनका अनुसार यी कारोबार शंकास्पद मात्र हुन् र अनुसन्धानबाट हुन्डी कारोबार भएको पुष्टि हुन बाँकी छ। रेमिट्यान्स बढी आउने क्षेत्रमा यस्तो कारोबारको शंका बढी देखिएको तथा कारोबारका लागि बैंक खाता भाडामा प्रयोग भएको आशंका पनि गरिएको उनले बताए।
व्यक्तिगत विवरणका आधारमा विश्लेषण गर्दा हुन्डी कारोबारको शंकामा परेका व्यक्तिमध्ये व्यवसायी तथा व्यापारीको हिस्सा ५१.५ प्रतिशत रहेको छ। त्यस्तै, कर्मचारीको १३ प्रतिशत, किसानको ११ प्रतिशत, विद्यार्थीको नौ प्रतिशत, वैदेशिक कामदारको सात प्रतिशत र गृहिणीको ५.५ प्रतिशत हिस्सा देखिएको छ।
अवकाश प्राप्त व्यक्ति, लगानीकर्ता र बेरोजगारको हिस्सा एक–एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। विद्यार्थी तथा गृहिणीका खाताहरू म्युल (अन्य व्यक्तिको अवैध कारोबारका लागि प्रयोग हुने खाता) हुन सक्ने अनुमान गरिएको छ। २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिको हिस्सा भने ६६.५ प्रतिशत देखिएको छ।
हुन्डीसम्बन्धी शंकास्पद कारोबारमा संलग्न व्यक्ति तथा संस्थाको प्रदेशगत विवरणमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी ५३ प्रतिशत देखिएको छ। नमुना छनोटमा परेका खातामा उपलब्ध व्यक्तिगत विवरणका आधारमा यस्तो विश्लेषण गरिएको हो।
प्रदेशगत रूपमा कोशीको १६ प्रतिशत, लुम्बिनीको १२.५ प्रतिशत, बागमतीको ८.५ प्रतिशत, गण्डकीको सात प्रतिशत तथा कर्णाली र सुदूरपश्चिमको १.५–१.५ प्रतिशत हिस्सा रहेको छ।
बढी विनिमय दरको प्रलोभन : हुन्डी एजेन्टहरूले बैंक तथा औपचारिक रेमिट्यान्स प्रणालीभन्दा बढी विनिमय दर दिने प्रलोभन देखाएर विदेशमा रहेका नेपालीलाई आकर्षित गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। यसले औपचारिक र अनौपचारिक विनिमय दरबीच अन्तर सिर्जना गर्ने गरेको छ।
विदेशी अध्ययन तथा उपचारमा प्रयोग : विदेशी मुद्रा सटहीसम्बन्धी औपचारिक प्रक्रिया झन्झटिलो हुँदा विदेशमा अध्ययन गर्ने विद्यार्थीको विश्वविद्यालय शुल्क तथा उपचार खर्च भुक्तानीका लागि पनि हुन्डीको प्रयोग हुने गरेको प्रतिवेदनले औंल्याएको छ।
भन्सार छल्न प्रयोग : आयातकर्ताले भन्सारमा वस्तुको मूल्य कम देखाउने र बिलमा उल्लेख नभएको अतिरिक्त रकम हुन्डीमार्फत भुक्तानी गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
अनौपचारिक अर्थतन्त्रको प्रभाव : देशमा नगदमा आधारित अनौपचारिक अर्थतन्त्र ठूलो हुँदा हुन्डी कारोबार सहज भएको प्रतिवेदनले उल्लेख गरेको छ। एसिया–प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) को प्रतिवेदनअनुसार नेपालमा अनौपचारिक नगद अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५० प्रतिशत रहेको अनुमान छ।
नेपाल–भारत खुला सीमा : नेपाल–भारतबीचको खुला सीमाका कारण नगद रकम सहजै ओसारपसार गर्न सकिने अवस्थाले पनि हुन्डी कारोबारलाई सहज बनाएको प्रतिवेदनमा उल्लेख छ। भारतसँगको १ हजार ७५१ किलोमिटर सीमामा प्रभावकारी वित्तीय निगरानीको अभाव हुँदा बैंकिङ प्रणालीबाहिर व्यापारिक हिसाब मिलाउन सहज हुने उल्लेख गरिएको छ।
विदेशमा बैंकिङ पहुँचको कमी : वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको बैंकिङ पहुँच कमजोर हुनु र वित्तीय साक्षरताको कमीले पनि हुन्डी कारोबारलाई प्रोत्साहन गरेको प्रतिवेदनको निष्कर्ष छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij