Nov 03 2026 | २०८३, कार्तिक १७, गते

Nov 03 2026 | २०८३, कार्तिक १७, गते

तीन महिनामै २ अर्ब २० करोडभन्दा बढीको जुस निर्यात

तीन महिनामै २ अर्ब २० करोडभन्दा बढीको जुस निर्यात

नेपाल सम्वत् ११४७, कौलागाः ९, नवमी (१७ कार्तिक २०८३, ३ नोभेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । नेपालबाट चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ अर्ब २० करोड रुपैयाँभन्दा बढी मूल्यको जुस निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरेको हो।

उक्त परिमाणको जुस निर्यातबाट नेपालले २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ। नेपाली जुसको सबैभन्दा ठूलो बजार छिमेकी मुलुक भारत रहेको छ। यसबाहेक चीन र जापानमा समेत नेपाली जुस निर्यात हुँदै आएको छ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने जुसमा विभिन्न फलफूलको मिश्रणबाट तयार पारिएको मिक्स जुस रहेको छ। समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको तथ्यांकले देखाएको छ।

मिक्स जुसमध्ये भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३३ हजार ३८६ लिटर निर्यात भएको छ। त्यस्तै, जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ मूल्यको १० हजार २०० लिटर मिक्स जुस निर्यात भएको छ।

मिक्स जुसपछि नेपालबाट सबैभन्दा धेरै निर्यात हुनेमा सुन्तला र भुइँकटहरको जुस रहेका छन्। पहिलो त्रैमासमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ। त्यस्तै, २२ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भुइँकटहरको जुस विदेश पठाइएको छ। सुन्तला र भुइँकटहर दुवै प्रकारका जुस शतप्रतिशत भारतमा निर्यात भएका हुन्।

यसैगरी, नेपालबाट स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि उल्लेख्य मात्रामा निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ मूल्यको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस निर्यात भएको छ।

त्यस्तै, १ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार २५४ लिटर ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार रुपैयाँ मूल्यको १ लाख ५६ हजार १९२ लिटर गोलभेँडाको जुस पनि भारत निर्यात भएको छ।

नेपालबाट विभिन्न प्रकारका जुसको निर्यातले कृषि उत्पादनमा आधारित उद्योग तथा प्रशोधन क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएको छ। विशेषगरी भारतमा नेपाली जुसको ठूलो बजार रहनुले स्वदेशी उत्पादनको निर्यात प्रवर्द्धनका लागि थप अवसर रहेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार