Nov 03 2026 | २०८३, कार्तिक १७, गते

Nov 03 2026 | २०८३, कार्तिक १७, गते

मुस्ताङमा दुई सातामै लेक लागेर दुई पर्यटकको मृत्यु, सतर्कता अपनाउन आग्रह

मुस्ताङमा दुई सातामै लेक लागेर दुई पर्यटकको मृत्यु, सतर्कता अपनाउन आग्रह

नेपाल सम्वत् ११४७, कौलागाः ९, नवमी (१७ कार्तिक २०८३, ३ नोभेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । मुस्ताङमा दुई साताको अवधिमा लेक लागेर दुई नेपालीको मृत्यु भएको छ। उच्च हिमाली क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेसँगै लेक लाग्ने समस्या पनि बढ्न थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

गत कात्तिक ८ गते मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किने क्रममा बागलुङको बरेङ गाउँपालिका–२ का ६७ वर्षीय टिकाराम शर्मा बिरामी पर्नुभएको थियो। त्यस्तै, मनाङबाट अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै थोरङ्ला पास गरेर मुस्ताङ आएका सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २७ वर्षीय पथप्रदर्शक लाक्चन्द्र कुलुङको पनि मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार दुवै जनामा लेक लाग्ने लक्षण देखिएको थियो। कुलुङ बाथरुममा नुहाउन गएपछि लामो समयसम्म बाहिर ननिस्किएपछि अचेत अवस्थामा उद्धार गरिएको थियो। प्रदेश अस्पताल जोमसोम पुर्‍याइएका उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै जनाको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

दसैँ–तिहारको समयमा मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटकको चाप बढेसँगै लेक लाग्ने समस्या पनि बढेको छ। जिल्लाका पाँचवटै गाउँपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि आउनेमध्ये अधिकांशमा लेक लाग्ने समस्या देखिएको प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले बताउनुभयो।

उहाँका अनुसार सामान्य समस्या देखिएका पर्यटकलाई प्राथमिक उपचार गरी घर पठाउने गरिएको छ भने जटिल अवस्था भएकालाई प्रदेश अस्पताल जोमसोममा उपचार गर्ने व्यवस्था मिलाइएको छ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले मुस्ताङ आउने पर्यटकले उचाइ र मौसमअनुसार सावधानी अपनाउनुपर्ने बताउनुभयो। ज्येष्ठ नागरिक, दीर्घरोगी तथा मौसमी बिरामीले विशेष सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ।

लेक लाग्दा सुरुमा टाउको दुख्ने, थकाइ लाग्ने र रिङ्गटा लाग्ने जस्ता लक्षण देखिन्छन्। अवस्था गम्भीर हुँदै जाँदा हिँड्न र श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने तथा पखाला लाग्नेजस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा थप उचाइमा जान रोक्नुपर्ने, आराम गर्ने र स्वास्थ्य अवस्था बिग्रिएमा तत्काल तल्लो उचाइमा झरेर स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकको सुझाव छ।

मुक्तिनाथ मन्दिर क्षेत्रमा रहेको उच्च उचाइ उपचार केन्द्रका हेल्थ असिस्टेन्ट अजय थापाका अनुसार मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीमा लेक लाग्ने समस्या देखिएपछि उपचार केन्द्रका स्वास्थ्यकर्मीले मन्दिर क्षेत्रमै पुगेर उपचार गर्ने गरेका छन्।

समयमै लक्षण पहिचान गरी उचित सावधानी र उपचार गरेमा लेक लाग्ने समस्याबाट बच्न सकिने स्वास्थ्यकर्मी बताउँछन्। तर, लक्षण देखिए पनि बेवास्ता गर्दै उच्च क्षेत्रमा बस्ने वा थप उचाइमा जाने गर्दा मस्तिष्क र फोक्सो सुन्निने जस्ता गम्भीर समस्या निम्तिन सक्छन्।

पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले मुस्ताङ प्रवेश क्षेत्रदेखि उपल्लो मुस्ताङसम्म स्थानीय तह, प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा स्वास्थ्य संस्थासँगको समन्वयमा सचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ। पर्यटकलाई उच्च हिमाली क्षेत्रको हावापानी र स्वास्थ्य जोखिमबारे जानकारी दिँदै पर्चासमेत वितरण गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार