Nov 19 2026 | २०८३, मंसिर ३, गते

Nov 19 2026 | २०८३, मंसिर ३, गते

भारत भ्रमणमा प्रधानमन्त्री शाह : ऐतिहासिक वार्ता र सहयोगको अपेक्षा

भारत भ्रमणमा प्रधानमन्त्री शाह : ऐतिहासिक वार्ता र सहयोगको अपेक्षा

नेपाल सम्वत् ११४७, कछलाथ्वः १०, नवमी (३ मंसिर २०८३, १९ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक र ऐतिहासिक बनाउन नेपाल र भारतले तयारी तीव्र पारेका छन्। प्रधानमन्त्री शाह मङ्सिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जान लाग्नुभएको हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुनेछ।

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले बुधबार प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरी भ्रमणको तयारीबारे जानकारी गराउनुभएको छ। सो अवसरमा उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताउँदै भारत सरकारले आफ्नोतर्फबाट भ्रमणको एजेन्डा तय गरिसकेको जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले भारतको तयारीबारे चासो राख्नुका साथै नेपालका लागि राजदूत नियुक्त हुनुभएकोमा दलेलालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस अवसरमा प्रधानमन्त्री शाहले गत भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले तत्काल उपलब्ध गराएको सहयोगप्रति भारतीय प्रधानमन्त्री मोदी र भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। राजदूत दलेलाले प्रधानमन्त्री मोदीको शुभकामना सन्देशसमेत हस्तान्तरण गर्नुभएको थियो।

ऊर्जा, पूर्वाधार र पुनर्निर्माण प्रमुख प्राथमिकता

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालको ऊर्जा क्षेत्रमा भारतीय लगानी विस्तार, हवाई, रेल तथा सडक सम्पर्क सञ्जालको विकास र आर्थिक सहकार्यका विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार आवश्यक आर्थिक, राजनीतिक तथा विकास सहकार्यका विषयलाई भ्रमणको कार्यसूचीमा समेट्न मन्त्रालयले तयारी गरिरहेको छ।

यसैबीच, रसुवा–भोटेकोशी क्षेत्रमा आएको हिमबाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि नेपालले भारतसँग थप सहयोगको अपेक्षा गरेको छ। सरकारले उक्त क्षेत्रको पुनर्निर्माणका लागि करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग अपेक्षा गरेको छ।

यस विषयमा नेपाल सरकारले भारतसँग यसअघि पनि अनौपचारिक छलफल गर्दै आएको थियो। भारतका विदेशसचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालले पुनर्निर्माणका लागि सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो। त्यसप्रति भारत सरकार सकारात्मक रहेको सन्देश विदेशसचिव मिश्रीले दिनुभएको थियो।

भारत भ्रमणका क्रममा उक्त सहयोगको विषयलाई कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्नेबारे अर्थ र परराष्ट्र मन्त्रालयबीच छलफल भइरहेको छ।

द्विपक्षीय सम्बन्धका चुनौती र अवसरमा खुला छलफल गर्न सुझाव

भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्री शाहको भ्रमणमा नेपालले आफ्ना समस्या र सम्भावना दुवै विषयलाई स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभएको छ।

उहाँका अनुसार सीमा समस्या, आर्थिक सहकार्य, विकास साझेदारी तथा दुई देशबीचको सम्बन्धका विविध पक्षमा खुला र सन्तुलित छलफल हुन आवश्यक छ।

“मित्रवत् सम्बन्धमा समस्या हुन्छन् तर मित्रवत् रूपमै खुलेर कुरा गर्न हच्किनु हुन्न। दुई देशबीच साझेदारीका पनि अनेकौँ अवसर छन्, त्यो पनि खुलेर विमर्श गर्नुपर्छ,” पूर्वराजदूत आचार्यले भन्नुभयो।

उहाँले भ्रमणको तयारी गर्दा नेपालको प्राथमिकतासँगै भारतको मनसाय र चासोलाई समेत बुझेर अघि बढ्नुपर्ने बताउनुभएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक भारत भ्रमण हो। मङ्सिर ६ गते भारत प्रस्थान गर्ने उहाँ भोलिपल्ट मङ्सिर ७ गते स्वदेश फर्कने कार्यतालिका छ। भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप मजबुत हुनुका साथै ऊर्जा, पूर्वाधार, आर्थिक सहकार्य र विपद्पछिको पुनर्निर्माणमा ठोस उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार