नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल विद्युत् प्राधिकरणले अनलाइन तथा डिजिटल माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्ने घरेलु ग्राहकलाई थप सुविधा दिने भएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा ग्राहकले यसअघि पाइरहेको २ प्रतिशत छुटसँगै थप ०.५ प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ प्राप्त गर्नेछन्। यससँगै डिजिटल माध्यमबाट महसुल तिर्ने ग्राहकले कुल २.५ प्रतिशत छुट पाउनेछन्।
पहिलो चरणमा ६ महिनाका लागि लागू हुने यो कार्यक्रमले ग्राहकलाई डिजिटल माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्न थप प्रोत्साहित गर्ने प्राधिकरणको अपेक्षा छ। अनलाइन भुक्तानीबाट समयको बचत हुनुका साथै ग्राहकले अतिरिक्त छुटको समेत लाभ लिन सक्ने भएकाले प्राधिकरणले डिजिटल माध्यमबाटै विद्युत् महसुल तिर्न आग्रह गरेको छ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि डिजिटल माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्न उपभोक्तालाई अपिल गरेका छन्।
उनले अहिलेको डिजिटल युगमा पनि करिब ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमै पुगेर विद्युत् महसुल तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै यो अवस्थालाई क्रमशः परिवर्तन गर्नुपर्ने बताए। डिजिटल भुक्तानीको अभ्यास बढाउन सचेत नागरिकको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठका अनुसार डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्दा नागरिकको समय र आवतजावतमा लाग्ने खर्च बचत हुनुका साथै नगद कारोबार घटेर वित्तीय पारदर्शिता र सुरक्षासमेत बढ्छ।
काउन्टरमा लाग्ने स्रोत तथा जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने भएकाले पनि डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij