Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

भक्तपुरमा पहिलोपटक ‘म्युजिक जात्रा–ख्वपः’, कुमा सागरको विशेष प्रस्तुति

भक्तपुरमा पहिलोपटक ‘म्युजिक जात्रा–ख्वपः’, कुमा सागरको विशेष प्रस्तुति

नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी (१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । भक्तपुरको सल्लाघारी मैदानमा पहिलोपटक ठूलो स्तरको च्यारिटी साङ्गीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ। आयोजकका अनुसार आगामी मङ्सिर १२ गते महोत्सव आयोजना गर्न लागिएको हो।

लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको महोत्सवबारे क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

महोत्सवको मुख्य आकर्षणका रूपमा ‘कुमा सागर एण्ड द ख्वपः ब्याण्ड’ रहने भएको छ। भक्तपुरमै जन्मिएका कुमा सागरले आफ्नो ब्याण्डसहित पहिलोपटक गृहजिल्लामै विशेष साङ्गीतिक प्रस्तुति दिन लागेका हुन्।

भक्तपुरको मौलिक संस्कृति र आधुनिक सङ्गीतलाई जोड्ने उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवमा कुमा सागर एण्ड द ख्वपः ब्याण्डसँगै ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डङ्गोल एण्ड चबाही दबु’ ले पनि प्रस्तुति दिनेछन्।

साङ्गीतिक कार्यक्रमसँगै भक्तपुरको मौलिक कला, संस्कृति, परम्परा र स्थानीय समुदायलाई समेत महोत्सवसँग जोडिने आयोजकले बताएका छन्। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, कलाकारका लाइभ प्रस्तुति तथा स्थानीय खाना र जीवनशैली झल्काउने स्टलहरू रहनेछन्।

महोत्सव मनोरञ्जनमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वसँग जोडिने आयोजकको भनाइ छ। कार्यक्रमको मुख्य प्रायोजक ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ रहेको छ। दर्शकले उक्त ड्रिङ्कको खाली क्यान ल्याएमा महोत्सवमा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमबाट प्राप्त प्रायोजन तथा स्टल भाडाबापतको आम्दानीमध्ये ५० प्रतिशत रकम भक्तपुरमा समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ) लाई प्रदान गरिनेछ। साथै, महोत्सव अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत सोही संस्थालाई हस्तान्तरण गरिने आयोजकले जानकारी दिएका छन्।

सङ्गीत, संस्कृति र सामाजिक सेवाको संयोजन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘म्युजिक जात्रा–ख्वपः’ ले भक्तपुरको सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासँग जोड्ने अपेक्षा आयोजकले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार