Sep 17 2026 | २०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

पोखरामा चार दिन मञ्चन हुँदै ‘सेतो धरती’

पोखरामा चार दिन मञ्चन हुँदै ‘सेतो धरती’

नेपाल सम्वत् ११४६, गुंल्लागाः १३, त्रयोदशी (२४ भाद्र २०८३, ०९, सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’ मा आधारित सोही नामको नाटक अब पोखरामा मञ्चन हुने भएको छ। काठमाडौंको कान्तिपुर थिएटरमा १०१ शो सफलतापूर्वक मञ्चन भइसकेको नाटक विराटनगरपछि पोखरा ल्याउन लागिएको हो।

विराटनगरस्थित आरोहण गुरुकुलमा गरिएको मञ्चनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसमेत विशेष अतिथिका रूपमा नाटक हेर्न पुगेका थिए। विराटनगरमा गरिएको मञ्चनबाट संकलित रकममध्ये १ लाख १ हजार रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

काठमाडौं र विराटनगरपछि नाटकको पोखरा मञ्चन भदौ २६ देखि २९ गतेसम्म गैरापाटनस्थित पोखरा थिएटरमा हुनेछ। पोखरामा पहिलो दिन भदौ २६ गते साँझ ५ बजे एक शो हुनेछ भने भदौ २७, २८ र २९ गते बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी दैनिक तीन शो मञ्चन गरिनेछ।

काठमाडौंमा नाटक मञ्चन भइरहेका बेला पोखरेली दर्शकले पनि ‘सेतो धरती’ पोखरामै ल्याउन माग गरेपछि चारदिने मञ्चन तय गरिएको कान्तिपुर थिएटरका प्रमुख प्रकाश पुरीले बताए।

पोखरा मञ्चनका क्रममा उपन्यासका लेखक अमर न्यौपानेसमेत सहभागी हुनेछन्। प्रत्येक शोपछि साहित्य मन्थन, पुस्तक हस्ताक्षर तथा पोखरेली दर्शकसँग अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।

सुन्दर धितालको निर्देशनमा तयार भएको ‘सेतो धरती’ नाटकले नेपाली समाजमा महिला जीवन, विधवा अवस्था र सामाजिक यथार्थका विषयलाई रंगमञ्चमार्फत प्रस्तुत गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार