Sep 17 2026 | २०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

काउली खेतीमा आइपीएम प्रविधिको अभ्यास, खोपाचागुमा कृषक पाठशाला सुरु

काउली खेतीमा आइपीएम प्रविधिको अभ्यास, खोपाचागुमा कृषक पाठशाला सुरु

नेपाल सम्वत् ११४६, गुंल्लागाः १०, दशमी (२१ भाद्र २०८३, ०६, सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । विगु गाउँपालिका–८ खोपाचागुमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) सम्बन्धी कृषक पाठशालाको पहिलो सत्र सम्पन्न भएको छ। ओसेलिप (WOCELIP) परियोजनाअन्तर्गत अगुवा कृषक शुभलक्ष्मी श्रेष्ठको जग्गामा काउलीको बेर्ना रोप्दै प्रयोगात्मक रूपमा पाठशाला सञ्चालन गरिएको हो।

कृषक पाठशालाका लागि सहभागी कृषकहरूले गत साउन ९ गते काउलीको बेर्नाको नर्सरी राखेका थिए। नर्सरीमा तयार भएका बेर्नालाई खेतमा रोपेर आइपीएम प्रविधिबाट बाली उत्पादन गर्ने अभ्यास सुरु गरिएको हो। कृषकहरूले आइपीएम विधिबाट लगाइएको बाली र परम्परागत कृषि विधिबाट लगाइएको बालीलाई छुट्टाछुट्टै रूपमा अवलोकन गरी दुवै विधिबीचको तुलनात्मक अध्ययनसमेत गर्नेछन्।

आइपीएम कृषक पाठशाला हरेक हप्ता एकपटक गरी कुल १६ हप्तासम्म सञ्चालन हुनेछ। पाठशालामा कृषकलाई कक्षाकोठामा मात्र सीमित नराखी आफ्नै खेतमा बालीको अवस्था अवलोकन, समस्या पहिचान र त्यसको व्यवस्थापन गर्ने तरिकाबारे सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सिकाइनेछ।

पहिलो सत्रका लागि ३० जना कृषकको मूल समूह गठन गरी पाँचवटा उपसमूह बनाइएको छ। प्रत्येक उपसमूहमा ६ जना कृषक सहभागी छन्। समूहगत रूपमा बालीको नियमित अवलोकन गर्ने र त्यसबाट प्राप्त जानकारीका आधारमा आवश्यक व्यवस्थापनका उपायबारे छलफल गर्ने व्यवस्था मिलाइएको छ।

पाठशालाको कार्ययोजनाअनुसार सात दिनको चक्रमा अवलोकन तथा सिकाइ सत्र सञ्चालन गरिनेछ। पहिलो पाँच दिन पाँचवटा समूहले आलोपालो रूपमा बालीको अवलोकन गर्नेछन्। छैटौँ दिन जग्गाधनीको सहभागितामा बालीको अवस्था निरीक्षण गरिनेछ भने सातौँ दिन सहजकर्ताको सहजीकरणमा समीक्षा, सैद्धान्तिक तथा प्रयोगात्मक सत्र सञ्चालन हुनेछ।

बालीको अवलोकन सकेसम्म बिहानको समयमा गर्न सहजकर्ताहरूले कृषकलाई सहजीकरण गर्दै आएका छन्। नियमित अवलोकनमार्फत बालीमा देखिने रोग, किरा तथा अन्य समस्या समयमै पहिचान गरी आवश्यक व्यवस्थापनका उपाय अपनाउने अभ्यास गराइनेछ।

आइपीएम प्रविधिले बालीमा लाग्ने शत्रुजीव तथा रोग व्यवस्थापन गर्दा अनावश्यक रूपमा रासायनिक विषादी प्रयोग गर्नेभन्दा जैविक तथा वातावरणमैत्री उपायलाई प्राथमिकता दिने भएकाले कृषकका लागि यसको प्रयोग उपयोगी हुने अपेक्षा गरिएको छ। आफ्नै खेतमा प्रयोग गरेर सिक्ने भएकाले कृषकहरूले प्रविधिको प्रभावकारिता प्रत्यक्ष रूपमा बुझ्ने अवसरसमेत पाउनेछन्।

पहिलो सत्रमा ३३ जना सहभागीमध्ये ३० जना महिला कृषकको उपस्थिति रहेको थियो। महिला कृषकहरूको उल्लेख्य सहभागितासँगै कार्यक्रममा कृषकहरूको उत्साह, लगनशीलता र सक्रियता देखिएको थियो।

कार्यक्रमको सहजीकरण सहजकर्ताद्वय शर्मिला श्रेष्ठ र कविता बस्नेतले गरेका थिए। आगामी सत्रहरूमा बालीको नियमित अवलोकन, समस्या पहिचान, कृषकबीच अनुभव आदानप्रदान तथा आवश्यक सैद्धान्तिक र प्रयोगात्मक अभ्यासलाई निरन्तरता दिइनेछ।

खोपाचागुमा सञ्चालन भएको आइपीएम कृषक पाठशालाले स्थानीय कृषकलाई आधुनिक तथा वातावरणमैत्री कृषि प्रविधिबारे व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै स्वस्थ र गुणस्तरीय तरकारी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार