Sep 17 2026 | २०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

रसुवा नाका तहसनहसपछि तातोपानी पनि अनिश्चित, दसैँको व्यापार संकटमा

रसुवा नाका तहसनहसपछि तातोपानी पनि अनिश्चित, दसैँको व्यापार संकटमा

नेपाल सम्वत् ११४६, गुंल्लागाः ४, चौठी (१६ भाद्र २०८३, १ सेप्टेम्वर २०२६) मंगलबार, बाँपिझ्याला ।  भोटेकोशी बाढीले रसुवास्थित केरुङ–टिमुरे नाका तहसनहस पारेपछि नेपाल–चीन व्यापारको मुख्य वैकल्पिक मार्ग मानिएको तातोपानी नाकाको भविष्यसमेत अन्योलमा परेको छ। तातोपानी नाका सञ्चालनबारे स्पष्ट निर्णय नआउँदा व्यापारी, ट्रान्सपोर्ट कम्पनी तथा आयात व्यवसायीहरू गम्भीर चिन्तामा परेका छन्।

चीनको खासा कस्टमले कोदारी राजमार्गलाई अझै जोखिमयुक्त रहेको भन्दै मालवाहक सवारीसाधनलाई मुस्ताङको कोरला नाका प्रयोग गर्न सुझाव दिएको छ। तर नेपाली व्यवसायीहरूले यसलाई व्यवहारिक नभएको बताएका छन्। खासाबाट नेपालतर्फ आउने मालवाहक कन्टेनरहरू हाल न्यालम क्षेत्रमा रोकिएका छन् भने तातोपानी नाका भएर दैनिक सयौँ पर्यटकको आवागमन भने जारी छ।

तातोपानी भन्सार कार्यालयका अधिकृत रमेशबहादुर शाहका अनुसार चिनियाँ पक्षबाट औपचारिक सूचना नआए पनि केही समययता नाकाबाट कुनै मालवाहक कन्टेनर नेपाल प्रवेश गरेका छैनन्। भन्सार विभागले समेत तत्कालका लागि कोरला नाका प्रयोग गर्न सुझाव दिएको उनले बताए।

६० कन्टेनर फलफूल ४५ दिनदेखि अलपत्र

खासाभन्दा माथिको न्यालम र थिङी क्षेत्रमा फलफूल बोकेका ६० कन्टेनर डेढ महिनादेखि रोकिएका छन्। ती कन्टेनरमा शीत भण्डारण (एसी) सुविधा भएकाले फलफूल सुरक्षित रहे पनि लामो समय पार्किङमा रहँदा लागत निरन्तर बढिरहेको छ।

फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार चिनियाँ क्षेत्रमा करिब ४० करोड रुपैयाँ बराबरका १२० नेपाली कन्टेनर फलफूल अलपत्र परेका छन्। उनले दसैँ–तिहारको मागलाई लक्षित गरी आयात गरिएका फलफूल समयमै नेपाल भित्र्याउन नसकिए बजारमा अभाव र मूल्यवृद्धि दुवै हुने चेतावनी दिए।

समस्या के छ भने, खासा कस्टमले कोरला नाका प्रयोग गर्न सुझाव दिए पनि त्यहाँ फलफूल आयात–निर्यातका लागि आवश्यक क्वारेन्टिन सेवा उपलब्ध छैन। त्यसैले फलफूल आयातकर्ताहरू थप अन्योलमा परेका छन्।

कोरला नाका प्रयोग गर्दा पाँच गुणासम्म लागत बढ्ने

व्यवसायीहरूका अनुसार कोदारी राजमार्ग अहिले सञ्चालनमा आइसकेको छ। वर्षाका कारण बेला–बेला पहिरो गएर अवरोध भए पनि सडक विभागले छिट्टै सडक खुलाउने काम गरिरहेको छ। यस्तो अवस्थामा हजार किलोमिटरभन्दा लामो दूरी पार गरेर कोरला नाका प्रयोग गर्नु आर्थिक र व्यावहारिक दुवै हिसाबले कठिन हुने उनीहरूको भनाइ छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार केरुङबाट कोरला हुँदै काठमाडौं सामान ल्याउँदा ढुवानी खर्च पाँच गुणासम्म बढ्न सक्छ। यसले दसैँ–तिहारका लागि ल्याइने उपभोग्य वस्तुको मूल्य अत्यधिक बढाउने र समयमै बजारमा सामान नपुग्ने जोखिम सिर्जना गर्नेछ।

उनले तातोपानी नाका सञ्चालनलाई प्राथमिकता दिन नेपाल सरकारले तत्काल चीन सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने बताए। उनका अनुसार छोटो र सहज मार्ग छाडेर टाढाको नाका प्रयोग गर्नु व्यापारिक दृष्टिले ठूलो घाटा हुने विषय हो।

‘केही दिनका लागि मात्रै कन्टेनर रोकिएको’ संकेत

तातोपानी नाका बन्द हुने हल्ला फैलिएपछि हिमालय सीमापार वाणिज्य संघले ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग जानकारी लिएको थियो। संघका अध्यक्ष बस्नेतका अनुसार चिनियाँ पक्षले भौगोलिक अवस्था र जोखिमको मूल्याङ्कन गर्न केही समयका लागि मात्र कन्टेनर आवागमन रोकेको जानकारी दिएको छ। यसले व्यवसायीहरूमा केही आशा जगाएको भए पनि औपचारिक निर्णय अझै सार्वजनिक भएको छैन।

बाढीले कन्टेनर व्यवसाय नै धराशायी

१० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीले नेपाल–चीन व्यापारमा प्रत्यक्ष संलग्न हजारौँ परिवारलाई प्रभावित बनाएको छ। व्यापारी, कन्टेनर व्यवसायी, चालक, सहचालक तथा भन्सार एजेन्ट गरी ५५० जना अझै बेपत्ता रहेको बताइएको छ।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार टिमुरेदेखि स्याफ्रुबेँसीसम्म रहेका करिब ४५० कन्टेनर बाढीले बगाएको छ। त्यस्तै केरुङबाट नेपालतर्फ आउँदै गरेका ५० कन्टेनर चिनियाँ क्षेत्रमा नै बाढीको चपेटामा परेका थिए।

हाल १७९ वटा खाली नेपाली कन्टेनर केरुङ क्षेत्रमा रोकिएका छन्। ती कन्टेनर र चालकलाई सुरक्षित रूपमा नेपाल ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने सापकोटाको माग छ।

उनका अनुसार दसैँ र जाडो मौसमका लागि आयात गरिएका धेरैजसो सामान अझै ल्हासा, केरुङ र न्यालम क्षेत्रमा थन्किएका छन्। रसुवा नाका ध्वस्त भएको अवस्थामा तातोपानी नाका नै नेपालको व्यापारिक जीवनरेखा बन्न सक्ने भएकाले त्यसलाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार