नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः २ द्वितिया (२९ साउन, २०८३, १४ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। बिहीबार राति भएको दुर्घटनापछि तीन जना कामदार अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन्।
राज्यद्वारा सञ्चालित जलविद्युत् परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत् निगमको निर्माणस्थलबाट १९ जना कामदारको उद्धार गरिएको छ। घाइते १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको दृश्यमा उद्धारकर्मीहरूले टाउकोमा बत्ती जडान गरी अस्थायी डुङ्गाको प्रयोग गरेर पानी भरिएको सुरुङभित्र प्रवेश गर्दै खोजी तथा उद्धार गरिरहेको देखिएको छ। बेपत्ता तीन कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
उत्तराखण्डमा पछिल्ला दिनमा लगातार भारी मनसुनी वर्षा भइरहेका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढेका छन्। हिमाली क्षेत्रमा निरन्तरको वर्षाले सडक, बस्ती र विभिन्न निर्माणस्थलमा जोखिम थपिएको अधिकारीहरूले बताएका छन्।
भारतका ठूला निर्माण परियोजनामा दुर्घटना हुने गरेका छन्। तर वातावरणविद्हरूले कमजोर हिमाली भूभागमा अत्यधिक र अव्यवस्थित विकास परियोजना सञ्चालन गर्दा प्राकृतिक विपद्को जोखिम झनै बढिरहेको चेतावनी दिँदै आएका छन्।
गत महिना दुर्गम उत्तरपूर्वी राज्य सिक्किममा राज्यद्वारा सञ्चालित अर्को जलविद्युत् परियोजनाको सुरुङ निर्माणका क्रममा २० जना कामदारको मृत्यु भएको थियो। त्यसअघि सन् २०२३ मा उत्तराखण्डकै निर्माणाधीन सुरुङमा पहिरो खस्दा ४१ जना कामदार १७ दिनसम्म सुरुङभित्र फसेका थिए। लामो उद्धार अभियानपछि उनीहरूलाई सुरक्षित बाहिर निकालिएको थियो।
भारतमा जुन महिनामा वार्षिक मनसुन सुरु भएयता बाढी र पहिरोका कारण देशभर सयौँ मानिसको मृत्यु भइसकेको छ। विज्ञहरूले अव्यवस्थित विकाससँगै जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक विपद्को आवृत्ति, तीव्रता र प्रभाव बढ्दै गएको बताएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij