नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १० दशमी (८ साउन, २०८३, २४ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । कालिञ्चोक गाउँपालिका–१ स्थित बेगुम्पामा महिला अधिकार तथा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
ग्रामीण विकास टुकी संघ र सिविन नेपालद्वारा सञ्चालित ओसेलिप परियोजनाको सहयोग तथा बेगुम्पा स्वास्थ्य सुधार आमा समूहको आयोजनामा सम्पन्न कार्यक्रममा परियोजना क्षेत्रका महिलालाई नेपालको संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताले सुनिश्चित गरेका महिला अधिकारका विषयमा जानकारी प्रदान गरिएको हो।
कार्यक्रममा महिलालाई आफ्ना अधिकारप्रति सचेत बनाउनुका साथै समुदायमा विद्यमान लैङ्गिक विभेद, असमानता तथा महिला हिंसाविरुद्ध जागरण फैलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
अभिमुखीकरणका क्रममा मानिसका चाहना, आवश्यकता र अधिकारबीचको अन्तरबारे सहभागीसँग अन्तरक्रियात्मक छलफल गरिएको थियो। व्यक्तिको चाहना उपलब्ध स्रोत–साधनमा निर्भर रहने भए पनि अधिकार भनेको राज्य, संविधान, कानुन तथा सामाजिक प्रतिबद्धताले सुनिश्चित गरेको आधारभूत हक भएको विषयलाई व्यावहारिक उदाहरणमार्फत स्पष्ट पारिएको थियो।
सहभागीहरूलाई नेपालको संविधान–२०७२ ले प्रत्याभूत गरेका मौलिक हक, महिला अधिकारसम्बन्धी विशेष संवैधानिक व्यवस्था तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट प्राप्त अधिकारबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागीहरूले महिला अधिकारको प्रभावकारी कार्यान्वयन, कानुनी संरक्षण तथा समुदायमा समान अवसर सुनिश्चित गर्ने विषयमा समेत आफ्ना जिज्ञासा राख्दै छलफल गरेका थिए।
बेगुम्पा स्वास्थ्य सुधार आमा समूहकी अध्यक्ष चन्द्रकुमारी थामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिञ्चोक गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर थामीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा २३ जना महिला र ५ जना पुरुष गरी कुल २८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij