नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १० दशमी (८ साउन, २०८३, २४ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । अविरल वर्षाले दोलखाको उत्तरी भेगस्थित गौरीशंकर गाउँपालिकामा जनजीवन प्रभावित बनेको छ। निरन्तरको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्न थालेपछि गाउँपालिका–८ खारे र वडा नम्बर–९ टासिनामका करिब २५ घरपरिवार विस्थापित भएका छन्। थप पहिरोको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासन र गाउँपालिकाले प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
पहाडी भूगोल र निरन्तरको वर्षाले जमिन चर्किने तथा पहिरो खस्ने क्रम बढेपछि स्थानीयवासी त्रासमा छन्। कतिपय स्थानमा घर नजिकै जमिन भासिएको, ढुङ्गा झर्ने तथा साना–ठूला पहिरो खस्ने क्रम जारी रहेकाले थप क्षति हुन सक्ने जोखिम रहेको स्थानीयले बताएका छन्।
यसैबीच, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की बिहीबार प्रभावित क्षेत्रमै पुगेर स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले वडा नम्बर–८ खारे र वडा नम्बर–९ टासिनामका जोखिमयुक्त बस्तीको निरीक्षण गर्दै स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्नुभएको थियो।
अनुगमनपछि अध्यक्ष कार्कीले हालसम्म करिब २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै गाउँपालिकाले नागरिकको ज्यान सुरक्षालाई सबैभन्दा ठूलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार जोखिम बढ्दै गएमा थप घरपरिवारलाई पनि तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।
"हाम्रो पहिलो दायित्व नागरिकको सुरक्षा हो। जोखिममा रहेका कुनै पनि परिवारलाई एक्लो छाडिने छैन। आवश्यक परे थप उद्धार, राहत र अस्थायी आवासको व्यवस्थासमेत गाउँपालिकाले गर्नेछ," अध्यक्ष कार्कीले बताउनुभयो।
प्रभावित क्षेत्रमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, स्थानीय स्वयंसेवक तथा स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले पहिरोको सम्भावित जोखिम भएका बस्तीको निरन्तर अनुगमन गरिरहेको छ भने आवश्यक परे तत्काल उद्धारका लागि तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले प्रभावित परिवारका लागि आवश्यक खाद्यान्न, अस्थायी बसोबास, स्वास्थ्य सेवा तथा अन्य राहत सामग्रीको व्यवस्थापनको तयारीसमेत गरेको छ। वर्षा नरोकिएकाले विपद् व्यवस्थापन समितिलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ।
मौसमविद्हरूले अझै केही दिन भारी वर्षाको सम्भावना औँल्याएका कारण गौरीशंकर गाउँपालिकाले उच्च जोखिम भएका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन, रातको समयमा सुरक्षित स्थानमा बस्न तथा स्थानीय सरकार र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।
अविरल वर्षाले हिमाली तथा पहाडी जिल्लामा विपद्को जोखिम बढिरहेका बेला गौरीशंकर गाउँपालिकाले समयमै प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर सम्भावित मानवीय क्षति न्यूनीकरण गर्ने प्रयास गरेको स्थानीयवासीले बताएका छन्। वर्षा निरन्तर भइरहेकाले जोखिम अझै पूर्ण रूपमा टरिनसकेको भन्दै सम्बन्धित सबै निकायलाई आवश्यक तयारी र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij