नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ९ नवमी (७ साउन, २०८३, २३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । विवाहित महिलाहरूको क्षमता प्रदर्शन, नेतृत्व विकास र सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को औपचारिक घोषणा गरिएको छ। आयोजक रिबन इन्टरटेनमेन्ट ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको र आगामी साउन २३ गतेदेखि छनोट प्रक्रिया सुरु हुने जानकारी दिएको हो।
सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले यस वर्षदेखि अन्तर्राष्ट्रिय फ्रेन्चाइजअन्तर्गत ‘मिसेस कस्मो’ विधालाई पनि समावेश गरेको छ। आयोजकका अनुसार म्यानमारमा आयोजना हुने मिसेस कस्मो प्रतियोगिताको आधिकारिक नेपाली फ्रेन्चाइजका रूपमा यो विधा पहिलोपटक यस संस्करणमा थपिएको हो।
रिबन इन्टरटेनमेन्टका अध्यक्ष तथा पेजेन्ट डाइरेक्टर निशुकान्त झा का अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते दिउँसो १२ः३० बजे नयाँ बानेश्वरस्थित आर्य इन्टरनेसनल होटलमा हुनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले कात्तिक १४ गते आयोजना गरिनेछ।
प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका विवाहित नेपाली महिलाहरू सहभागी हुन सक्नेछन्। आयोजकले उचाइ वा तौलको कुनै मापदण्ड नराखिएको जनाएको छ। साथै, विवाहित महिलासँगै सम्बन्धविच्छेद भएका तथा एकल महिलाहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। इच्छुक प्रतिस्पर्धीहरूले खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
कार्यक्रममा राष्ट्रिय निर्देशक तथा कोरियोग्राफर अश्विनीकान्त झा ले विवाहपछि पनि महिलाहरूको सपना समाप्त नहुने भन्दै उनीहरूलाई नयाँ पहिचान र अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले छनोट भएका प्रतिस्पर्धीहरूलाई ४५ दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष तालिम प्रदान गरिने जानकारी पनि दिए।
कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्त र मिसेस नेपाल इन्टरनेसनल २०२५ की विजेता सञ्जु भट्ट ले आफ्नो अनुभव साझा गर्दै प्रतियोगिताले आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। आयोजकले काठमाडौंसँगै पोखरा, इटहरी र विराटनगर मा पनि छनोट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
प्रतियोगिताको मुख्य विजेताले ‘मिसेस नेपाल वर्ल्ड’ को ताजका साथै अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। त्यसैगरी अन्य विजेताहरूले ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘मिसेस नेपाल कस्मो’ उपाधिसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij