Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

राष्ट्र बैंकको नयाँ व्यवस्थापछि नेप्सेमा ७९.७४ अंकको छलाङ, २५९ कम्पनीको सेयर मूल्य बढ्यो

राष्ट्र बैंकको नयाँ व्यवस्थापछि नेप्सेमा ७९.७४ अंकको छलाङ, २५९ कम्पनीको सेयर मूल्य बढ्यो

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सेयर धितोमा ८० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था लागू गरेपछि लगानीकर्ताको मनोबल बढ्दा बजारमा उत्साह देखिएको हो।

शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले वृद्धि हुँदै २,६७७.५४ विन्दुमा पुगेको छ। पछिल्ला दिनमा बजारमा देखिएको सकारात्मक माहोललाई राष्ट्र बैंकको नयाँ नीतिले थप बल दिएको विश्लेषण गरिएको छ।

बजारमा हरियाली छाएसँगै २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मात्र सेयर मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। यसले अधिकांश कम्पनीमा खरिदकर्ताको चाप बढेको संकेत गरेको छ।

परिसूचकमा उल्लेख्य वृद्धि भए पनि कारोबार रकम भने अपेक्षाकृत मध्यम रहेको छ। शुक्रबार ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस अवधिमा एक करोड ३ लाख ८९ हजार कित्ता सेयर ५८ हजार ९४ पटक किनबेच भएका छन्।

कारोबारमा श्रीनगर एग्रोटेक कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै लाभ कमाएका छन्। कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्दै प्रतिकित्ता १२५ रुपैयाँले बढेर ९६३ रुपैयाँ पुगेको छ।

यसैगरी सूर्यकुण्ड हाइड्रो, शिखर पावर, रिजलाइन इनर्जी र मिड सोलु हाइड्रोका सेयर पनि उच्च दरले बढ्ने कम्पनीहरूको सूचीमा परेका छन्।

समूहगत परिसूचकतर्फ भने म्युचुअल फन्ड समूह ०.२९ प्रतिशतले घटेको छ। बाँकी १२ वटा समूहका परिसूचकहरू भने सबै हरियालीमा रहे, जसले बजारमा समग्र रूपमा सकारात्मक माहोल रहेको देखाएको छ।

बजार विश्लेषकहरूका अनुसार राष्ट्र बैंकको कर्जा सम्बन्धी नयाँ व्यवस्थाले सेयर बजारमा तरलता बढ्ने अपेक्षा गरिएको छ। यसले आगामी कारोबार दिनहरूमा पनि लगानीकर्ताको आकर्षण कायम रहने सम्भावना बढाएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार