नेपाल सम्वत् ११४६, अनलागाः १२ द्वादसी (२९ जेष्ठ, २०८३, १२ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । फिफा विश्वकप २०२६ को आधिकारिक गीत ‘दाई दाई’ विश्वकप फुटबलको इतिहासकै सर्वकालीन उत्कृष्ट गीत घोषित भएको छ। प्रतिष्ठित सांगीतिक पत्रिका बिलबोर्डले आफ्ना पाठकमाझ सञ्चालन गरेको मतदानका आधारमा यो गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रूपमा चयन गरेको हो।
बिलबोर्डका अनुसार ‘दाई दाई’ले ३१.२८ प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। दोस्रो स्थानमा शकिराकै चर्चित विश्वकप गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ रहेको छ, जसले २६.६४ प्रतिशत मत पाएको छ।
सन् १९९० यता फिफाले सार्वजनिक गरेका १० वटा आधिकारिक विश्वकप गीतमध्ये उत्कृष्ट छनोट गर्न आयोजित मतदानमा विश्वभरका संगीत र फुटबलप्रेमी सहभागी भएका थिए। यस वर्ष मे महिनामा सार्वजनिक गरिएको ‘दाई दाई’ गीतमा अफ्रोबिट्स, डान्स–पप, रेगेटोन तथा विश्व संगीतको मिश्रण प्रस्तुत गरिएको छ। गीतले फुटबलमार्फत विश्व एकता, उत्साह र उत्सवको सन्देश दिन्छ।
शकिरा र नाइजेरियाली गायक बर्ना ब्वायको संयुक्त प्रस्तुतिमा रहेको यस गीतमा फुटबलका महान खेलाडीहरू डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सीको समेत उल्लेख गरिएको छ।
त्यसैगरी, सन् १९९८ को फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले गाएको चर्चित गीत ‘द कप अफ लाइफ (ला कोपा डे ला भिडा)’ झन्डै २५ प्रतिशत मतसहित तेस्रो स्थानमा परेको छ। विश्वकप इतिहासका सबैभन्दा लोकप्रिय गीतमध्ये एक मानिने यस गीतले रिकी मार्टिनको अन्तर्राष्ट्रिय सांगीतिक यात्रालाई नयाँ उचाइमा पुर्याएको थियो।
मतदानमा लोकप्रिय बनेका अन्य गीतहरूमा पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइटेले गाएको ‘वी आर वन (ओले ओला)’ तथा इल डिभो र टोनी ब्र्याक्सटनको ‘द टाइम अफ आवर लाइभ्स’ पनि रहेका छन्।
विश्वभरका समर्थकको रोजाइमा पर्दै ‘दाई दाई’ले फुटबल र संगीतको अद्वितीय संगमलाई नयाँ उचाइमा पुर्याएको छ भने विश्वकप गीतहरूको इतिहासमा आफूलाई सर्वाधिक लोकप्रिय गीतका रूपमा स्थापित गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij