प्रख्यात दार्शनिक तथा आध्यात्मिक गुरु ओशो द्वारा सन् १९६९ मा मुम्बईमा दिइएका प्रवचनहरूको संकलन ‘शिक्षामा क्रान्ति’ पुस्तकले परम्परागत शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। ओशोका अनुसार वर्तमान शिक्षा प्रणालीले मानिसलाई सिर्जनशील र सचेत बनाउनेभन्दा पनि निश्चित ढाँचामा ढाल्ने काम गरिरहेको छ।
पुस्तकमा ओशोले विद्यालय र कलेजमा भइरहेको शिक्षण प्रक्रियालाई वास्तविक शिक्षा नभई “कन्डिसनिङ” अर्थात् मानसिक ढाँचा निर्माणको प्रक्रिया भएको बताएका छन्। उनका अनुसार विद्यार्थीलाई सोच्न, बुझ्न र खोज गर्नभन्दा पनि रट्न, परीक्षा पास गर्न र डिग्री हासिल गर्न प्रेरित गरिन्छ।
ओशोले वर्तमान शिक्षा प्रणाली डरमा आधारित रहेको तर्क गरेका छन्। फेल हुने डर, कम अंक ल्याउने डर, अभिभावक तथा समाजको अपेक्षाको डरले विद्यार्थीको स्वाभाविक जिज्ञासा र सिर्जनशीलता दबिने उनको भनाइ छ। यस्तो वातावरणमा विद्यार्थी स्वतन्त्र चिन्तक बन्न नसकी केवल आज्ञापालक व्यक्ति बन्न पुग्छन्।
पुस्तकमा स्मरण शक्ति र बुद्धिमत्ताबीचको भिन्नतालाई पनि विशेष रूपमा व्याख्या गरिएको छ। ओशोका अनुसार आजको शिक्षा प्रणालीले विद्यार्थीको दिमागमा तथ्य र जानकारी भर्ने काम गरिरहेको छ, तर उनीहरूको चेतना, विवेक र बुझाइको विकास गर्न सकेको छैन। साँचो शिक्षा भनेको जानकारी सङ्कलन मात्र नभई जागरूकता र अनुभवबाट प्राप्त हुने ज्ञान हो भन्ने उनको धारणा छ।
ओशोले शिक्षामा ध्यान (मेडिटेसन) लाई अनिवार्य बनाउनुपर्ने विचार पनि प्रस्तुत गरेका छन्। उनका अनुसार विद्यार्थीले बाहिरी संसार बुझ्नुअघि आफ्नै मन र चेतनालाई बुझ्न सिक्नुपर्छ। भित्री शान्ति र आत्मचेतना बिना प्राप्त ज्ञानले सकारात्मक परिणाम नदिन सक्ने उनको तर्क छ।
पुस्तकमा प्रस्तावित “शिक्षाको क्रान्ति” भनेको बालबालिकालाई कुनै निश्चित साँच्चोमा ढाल्ने होइन, उनीहरूको मौलिक प्रतिभा र व्यक्तित्व विकास गर्न सहयोग गर्ने शिक्षा प्रणाली निर्माण गर्नु हो। ओशोका अनुसार शिक्षक केवल जानकारी दिने व्यक्ति नभई मार्गदर्शक बन्नुपर्छ, जसले विद्यार्थीलाई आफ्नै सत्य खोज्न प्रेरित गरोस्।
‘शिक्षामा क्रान्ति’ ले शिक्षा केवल परीक्षा, अंक र प्रमाणपत्रमा सीमित हुन नहुने भन्दै मानव चेतना, स्वतन्त्र सोच र जीवन बुझ्ने क्षमताको विकासमा केन्द्रित हुनुपर्ने सन्देश दिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij