Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

‘काजी’ : निःस्वार्थ प्रेमको सुन्दर चित्रण, तर कमजोर पटकथाले अधुरो बनेको प्रभाव

‘काजी’ : निःस्वार्थ प्रेमको सुन्दर चित्रण, तर कमजोर पटकथाले अधुरो बनेको प्रभाव

नेपाल सम्वत् ११४६, अनलागाः ३ तृर्तिया (२० जेष्ठ, २०८३, ३ जुन, २०२६) बुधबार, बाँपिझ्याला । सामाजिक विषयवस्तु र प्रेमकथामा आधारित नेपाली चलचित्र ‘काजी’ यतिबेला प्रदर्शनरत छ। निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बनेको यस चलचित्रले विसं २०४५ को ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध, सामाजिक मान्यता र निःस्वार्थ प्रेमलाई केन्द्रमा राखेर कथा अघि बढाएको छ। चलचित्रमा अभिनेता विपिन कार्कीले ‘काजी’ र अभिनेत्री केकी अधिकारीले उनकी श्रीमती ‘कजिनी’को भूमिका निर्वाह गरेका छन्।

बाल्यकालमै टुहुरो बनेका काजीका लागि उनकी श्रीमती नै संसारको सबैभन्दा ठूलो आधार हुन्। मागी विवाहमार्फत जीवनमा आएकी कजिनीलाई उनले केवल श्रीमतीका रूपमा मात्र होइन, आफ्नो परिवार, साथी र जीवनको केन्द्रबिन्दुका रूपमा हेरेका छन्। चलचित्रमा काजीले बोल्ने “मेरो बा, आमा सबै नै श्रीमती हुन्” भन्ने संवादले उनको प्रेमको गहिराइलाई स्पष्ट रूपमा प्रस्तुत गर्छ। यही निःस्वार्थ प्रेम चलचित्रको मुख्य आधार हो।

कथा अघि बढ्दै जाँदा सन्तान नहुनु काजी र कजिनीको जीवनमा ठूलो सामाजिक दबाबका रूपमा देखा पर्छ। परिवार र समाजबाट काजीलाई दोस्रो विवाह गर्न सुझाव दिइन्छ। तर, उनले आफ्नो जीवनमा कजिनीबाहेक अर्को महिलाको कल्पना गर्न नसक्ने स्पष्ट बताउँछन्। यही क्रममा कजिनीकी बहिनीको प्रवेशसँगै कथाले नयाँ मोड लिन्छ। गाउँमा काजी र सालीबीच विवाह हुन सक्ने चर्चा चल्न थालेपछि सम्बन्ध जोगाउन कजिनीले झुटको सहारा लिन बाध्य हुन्छिन्। यसले कथा भित्र भावनात्मक तनाव सिर्जना गर्ने प्रयास गरेको देखिन्छ।

चलचित्रको सबैभन्दा बलियो पक्ष कलाकारहरूको अभिनय हो। विपिन कार्कीले काजीको चरित्रलाई अत्यन्त सहज, सरल र जीवन्त रूपमा प्रस्तुत गरेका छन्। गाउँलेको दुःख–सुखमा साथ दिने, पत्नीप्रति पूर्ण रूपमा समर्पित र निष्कपट पात्रका रूपमा उनको अभिनय प्रभावशाली छ। केकी अधिकारीले पनि कजिनीको भूमिकामा भावनात्मक गहिराइ प्रस्तुत गरेकी छन्। दुवै कलाकारबीचको रसायनले चलचित्रलाई विश्वसनीय बनाएको छ।

यद्यपि, चलचित्रको मुख्य कमजोरी यसको पटकथामा देखिन्छ। कथामा उठाइएका समस्याहरूलाई गहिरो रूपमा विकास गर्न सकिएको छैन। दर्शकले मुख्य पात्रले परिस्थितिसँग संघर्ष गर्ने, चुनौतीको सामना गर्ने र द्वन्द्वलाई समाधानतर्फ लैजाने अपेक्षा गर्छन्। तर काजीले अधिकांश अवस्थामा सजिलो र सरल बाटो रोज्ने भएकाले कथामा आवश्यक तनाव र रोमाञ्चको अभाव महसुस हुन्छ। बारम्बार उस्तै प्रकृतिका दृश्य दोहोरिँदा चलचित्र केही सुस्त बनेको अनुभव हुन्छ।

प्राविधिक पक्ष भने चलचित्रको सबल क्षेत्र हो। छायाँकार चिन्तनराज भण्डारीले तीन दशकअघिको ग्रामीण नेपाली समाजलाई सुन्दर ढङ्गले पर्दामा उतारेका छन्। बिजुली नपुगेको समय, लालटिन र टुकीको उज्यालो, गाउँको वातावरण र जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। त्यसैगरी चलचित्रको सङ्गीत र पाश्र्व ध्वनिले भावनात्मक दृश्यहरूलाई थप प्रभावशाली बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार