Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

निष्क्रिय सहकारीलाई भीमेश्वर नगरपालिकाको ३५ दिने अल्टिमेटम

निष्क्रिय सहकारीलाई भीमेश्वर नगरपालिकाको ३५ दिने अल्टिमेटम

नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिकाले लामो समयदेखि विवरण नबुझाई निष्क्रिय रहेका सहकारी संस्थाहरूलाई ३५ दिनभित्र आवश्यक कागजात तथा विवरण पेश गर्न निर्देशन दिएको छ। नगरपालिकाले १४ वटा सहकारी संस्थाको नाम सार्वजनिक गर्दै लेखा परीक्षण, वार्षिक साधारणसभा तथा अन्य कानुनी प्रक्रिया पूरा गरी सहकारी शाखामा प्रतिवेदन बुझाउन आग्रह गरेको हो।

नगरपालिकाका अनुसार पटक–पटक सार्वजनिक सूचना र पत्राचार गर्दा पनि सम्बन्धित सहकारी संस्थाहरू सम्पर्कमा नआएकाले अन्तिम अवसरस्वरूप ३५ दिने सूचना जारी गरिएको हो। सहकारी ऐन २०७४ ले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र एकीकृत वार्षिक प्रतिवेदन र प्रत्येक वर्ष पौष मसान्तभित्र साधारणसभाको प्रतिवेदन नियामक निकायमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुदेवीद्वारा जारी सूचनामा नगरपालिकाको स्वीकृतिबिना ती सहकारीहरूले सदस्यहरूसँग कुनै प्रकारको कारोबार नगर्न भनिएको छ। साथै, कुनै सदस्यको रकम लिन बाँकी रहेको वा अन्य वित्तीय कारोबार रहेको अवस्थामा प्रमाणसहित सम्बन्धित सहकारीमा ३५ दिनभित्र निवेदन दिन आग्रह गरिएको छ।

नगरपालिकाले तोकिएको अवधिभित्र विवरण नबुझाउने तथा सदस्यको दायित्व फिर्ता गर्न बाँकी रहेका सहकारी संस्था र सञ्चालकविरुद्ध कानुनअनुसार कारबाही तथा दर्ता खारेजी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

यसैबीच, भीमेश्वर नगरपालिकाले निश्चित मापदण्ड पूरा गर्ने सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजत लिन पनि आग्रह गरेको छ। कुल कारोबारको ५० प्रतिशतभन्दा बढी बचत तथा ऋण कारोबार गर्ने वा २५ करोड रुपैयाँभन्दा बढी वित्तीय कारोबार भएका सहकारीहरूले आगामी असार मसान्तभित्र इजाजत लिनुपर्ने नगरपालिकाले जनाएको छ। तोकिएको समयभित्र इजाजत नलिएमा हुने कानुनी कारबाहीको जिम्मेवारी सम्बन्धित संस्थाले नै वहन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार