Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

एमाले कोशी प्रदेशको विरोध: केपी शर्मा ओली को पक्राउप्रति तत्काल रिहाइको माग

एमाले कोशी प्रदेशको विरोध: केपी शर्मा ओली को पक्राउप्रति तत्काल रिहाइको माग

नेपाल सम्वत् ११४६, चौलाथ्वः १० दशमी (१४ चैत्र, २०८२, २८ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठन गरिएको सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा गरिएको पक्राउलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही कदमका रूपमा व्याख्या गरिएको छ।

विज्ञप्तिमा भदौ २३ गते भएको जेन–जी नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हाइज्याक गरिएको आरोप लगाउँदै जननिर्वाचित सरकार र संसद विघटन गरी गैरसंवैधानिक बाटोबाट नयाँ सरकार गठन गरिएको दाबी गरिएको छ। सोही पृष्ठभूमिमा गठन गरिएको आयोगलाई असंवैधानिक र पूर्वाग्रही भन्दै त्यसको प्रतिवेदन कार्यान्वयनका नाममा पार्टी अध्यक्षसहित नेताहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमाथिको “नाङ्गो प्रहार” भएको एमालेको निष्कर्ष छ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा पक्राउ परेका नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न, सरकारका प्रतिशोधपूर्ण गतिविधि बन्द गर्न माग गरिएको छ। साथै पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई विचलित नभई सरकारको कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिन तयार रहन आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार