Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल आज नेपाल आउँदै

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल आज नेपाल आउँदै

नेपाल सम्वत् ११४६, चिल्लागाः १२ एकादशी (१ चैत्र, २०८२, १५ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । अमेरिकी सेनाका वरिष्ठ अधिकारी Joel B. Vowell आज तीनदिने भ्रमणका लागि नेपाल आउँदै छन्। संयुक्त राज्य अमेरिका सेनाका लेफ्टिनेन्ट जनरल भोवेल चार सदस्यीय टोलीको नेतृत्व गर्दै भुटान हुँदै काठमाण्डौ आइपुग्ने कार्यक्रम रहेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी रामराजा बस्नेतका अनुसार यो भ्रमण पूर्वनिर्धारित तथा नियमित प्रकृतिको हो। उनले अन्नपूर्ण पोस्टसँग भने, “जोएल बी भोवेलको नेतृत्वको सैनिक टोली तीनदिने भ्रमणमा आज नेपाल आउन लागेको हो। भ्रमणका क्रममा प्रधानसेनापतिसहित उच्चपदस्थ सैनिक अधिकारीहरूसँग भेटवार्ता हुनेछ।”

भ्रमणका क्रममा नेपाली सेनाका नेतृत्वसँग द्विपक्षीय हित, सैन्य सहकार्य तथा पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श हुने जनाइएको छ। नेपाल र अमेरिकाबीच लामो समयदेखि सैन्य तालिम, शान्ति स्थापना तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य हुँदै आएको छ।

भ्रमण टोलीले श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा रहेको शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्ने कार्यक्रम पनि तय भएको छ। यो केन्द्र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली सेनालाई तालिम दिने प्रमुख संस्थाका रूपमा परिचित छ।

नेपाल आउनुअघि भोवेलले India मा भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका थिए। त्यसपछि उनी Bhutan गएका थिए। आज Druk Air को उडानमार्फत उनी नेतृत्वको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि नेपाल आउने सबैभन्दा उच्च पदस्थ अमेरिकी सैन्य अधिकारी भोवेल हुन्। यसअघि फागुन १ गते सामुएल जे. पापारो, अमेरिकी इन्डो–प्यासिफिक कमाण्ड का कमाण्डर, पनि नेपाल भ्रमणमा आएका थिए।

यो भ्रमणलाई नेपाल–अमेरिका सैन्य सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार